+
+

‘दशैंको सामाजिक र मानवीय अभिरुचिको पाटो झनै महत्वपूर्ण छ’

दशैंको धार्मिक महत्व घटेको छैन । यसको धार्मिक महत्वमाथि अरू सामाजिक र मानवीय अभिरुचिका विषय थपिन मात्र आइपुगेका हुन् । यसको सामाजिक महत्व अझ विस्तारित भएको छ ।

जनक राई जनक राई
२०७९ असोज १७ गते १३:०९

हरेक चाडपर्वको आधार धर्म नै हो । धार्मिक आधार भए पनि चाडपर्व धार्मिक मात्र हुँदैन । आजको समयमा हरेक चाडपर्वभित्र धार्मिक, राजनीतिक, सामाजिक र आर्थिक साइनो गाँसिएको हुन्छ । हिन्दुहरूको चाड भए पनि दशैंलाई राज्यले हिजोदेखि नै निकै ठूलो महत्व दियो । यसलाई राष्ट्रिय चाड नै बनाइयो ।

दशैंमा लामो बिदा दिन थालियो । यसले यो चाड हिन्दुको मात्र नभई सबै नेपालीको हुनगयो । धार्मिक रूपमा मनाउनेहरूले यसलाई धर्मका रूपमा लिए । बाँकी अरूले यसलाई बिदा मनाउने, रमाइलो गर्ने अवसरका रूपमा लिए ।

दशैंको लामो बिदामा धेरैजसो मान्छे रोजगारीबाट घर फर्किने भएकाले यसले मानवीय सम्बन्धको पुनर्ताजगी गर्ने काम पनि ग¥यो । वैदेशिक रोजगारी र देशभित्रै बढेको आर्थिक चहलपहलले दशैंलाई झनै मोहक बनायो । नयाँ पुस्तामा त घुमघाम गर्ने उपयुक्त समय बन्यो दशैं ।

दशैंको धार्मिक महत्व घटेको छैन । यसको धार्मिक महत्वमाथि अरू सामाजिक र मानवीय अभिरुचिका विषय थपिन मात्र आइपुगेका हुन् । यसको सामाजिक महत्व विस्तारित भएको छ । दशैं मनाउन भनेरै शहर, विदेशबाट सबै आफ्नो गाउँघर फर्किन्छन् । लामो समय भेटघाट नभएका साथीभाइ, आफन्तको भेटघाट हुन्छ । राज्यले नै दशैंलाई राष्ट्रिय चाड बनाएको र यसको बृहत्तर सामाजिक महत्व भएको हुँदा गैर हिन्दुले पनि दशैं मनाउन सुरु गरे ।

पछिल्ला दशकमा भएको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको मेसोमा चाडपर्वको स्वरुप, चाडपर्व मनाउने तौरतरिकामा पनि परिवर्तन आएको छ । यस्तो परिवर्तन अस्वाभाविक वा गलत भन्ने हुँदैन । सबै चिज परिवर्तन भएपछि चाडपर्व त्यो परिवर्तनबाट अपवाद रहन सक्दैनन् ।

दशैं हिजोभन्दा आज खर्चिलो हुँदै गएको छ । बजार भाउ बढेको छ । यो खर्चिलो हुनुका पछाडि अनेक कारण छन् । सामाजिक सञ्जाल र डिजिटल दुनियाँको आगमनसँगै मान्छेहरूमा प्रदर्शन गर्ने लोभ जागेको छ । यो प्रदर्शन कतिपय अवस्थामा बाध्यता पनि बनेको छ । यो बाध्यता र लोभले पनि दशैं खर्चिलो बनाउन भूमिका खेलेको छ ।

बजारले गर्ने विज्ञापन बढ्दो छ । सञ्चारमाध्यमले गर्ने प्रचारप्रसार उस्तै छ । सामाजिक सञ्जालमा देखिने दशैं लक्षित सामग्रीले मान्छेहरूलाई दशैंमा खर्च गर्नुपर्ने बाध्यता सिर्जना गरेको छ । अब दशैंमा पेय पदार्थ अनिवार्य भएको छ । सामूहिक रूपमा नभई व्यक्तिगत रूपमा खसी, बोका, राँगा काट्नुपर्ने भएको छ । यो सबै बजारको प्रभाव हो ।

आर्थिक स्तर बढेर वर्षैभरि नयाँ लुगा किन्न सक्ने तहमा पुगे पनि दशैंमा विशेष पहिरन लगाउनुपर्ने अवस्था आइलागेको छ । दशैं मात्र होइन हाम्रा हरेक चाडपर्व बजार छिरेका छन् । हाम्रा चाडपर्वको रौनक बजारले निर्धारण गर्न थालेका छन् । शहर–बजारतिर दशैं मनाउन पार्टी प्यालेस, रेस्टुरेन्टमा जमघट हुनुपर्छ ।

यसरी चाड बजार छिर्नुको मुख्य कारण मध्यम वर्ग हो । मध्यम वर्गसँग पैसाको जोहो हुनथालेपछि बजारले पनि मध्यम वर्गलाई लक्षित गरेर आफ्ना उत्पादन बेच्न सुरु ग¥यो । कुनै समय राज्यले व्यापक बनाएको दशैं अहिले बजारले व्यापक बनायो ।

चाडपर्व यसरी बजार छिरेपछि आय कम हुने मान्छेलाई यसले आर्थिक दबावमा त पारेको छैन भनेर समेत सोच्नुपर्ने बेला आएको छ । नेपाल बाहिर भएका नेपालीले उतै पनि दशैं मनाउन थाले । त्यसैले दशैंले एकअर्कालाई नजिक ल्याउने गरेको छ । सम्बन्धको पुनर्ताजगी गर्ने मौका बन्यो दशैं ।

जनजाति, आदिवासी समुदाय दशैंको धार्मिक अनुष्ठानमा सरिक नभए पनि यसको सामाजिक पाटोमा भने सरिक हुन्छन् । यसअर्थमा दशैं हिन्दुहरूको मात्र नभई सबै नेपालीको भयो । दशैं धार्मिक चाड मात्र हुन्थ्यो भने यसको विस्तार यति धेरै हुने थिएन ।

(त्रिभुवन विश्वविद्यालयका अध्यापक राईसँग अनलाइनखबरकर्मी सागर चन्दले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?