+
+

पशुपक्षीको मायाले मासु खान छाडें : दीपकराज गिरी

मनिषा थापा मनिषा थापा
२०७९ असोज १७ गते १९:०३

झट्ट हेर्दा त लाग्छ, दीपकराज गिरीको जीवन रसरंगले भरिपूर्ण छ । यद्यपि यी हास्य अभिनेता खानपानको सवालमा श्यामश्वेत त छन् । मधुरस र मासुमंस उनको मेनुबाट हटिसकेको छ । उनी सादा दालभातमै सन्तुष्ट छन् ।

१३ वर्ष भयो, दीपकराज गिरीले माछामासुको संगत छाडेको । आखिर किन उनी शाकाहारी भए त ?

‘म सानैदेखि भावुक र दयालु स्वभावको थिएँ,’ दीपकराज सुनाउँछन्, ‘मान्छे मात्र होइन, चराचर जगत एवं पशुपंक्षीप्रति पनि मेरो हृदयमा प्रेम छ ।’ खासमा पशुपंक्षीको मायाले गर्दा नै आफूले माछामासु त्यागेको उनी बताउँछन् ।

उनी आफूलाई पशुप्रेमी भन्न रुचाउँछन् । ‘अर्काको ज्यान मारेर के खानु जस्तो लाग्छ,’ दीपकराज सुनाउँछन्, ‘सानैदेखि मेरो मूल स्वभाव यस्तो रहेछ, जुन कालान्तरमा मलाई बोध भयो ।’

उनी सानै छँदा घरमा खसी ल्याइन्थ्यो, खासगरी दशैंमा । आँगनमा बाँधिएको खसीलाई घाँस दिन, खेल्न खुब मन पर्थ्यो । कहिले खसीलाई मायाले मुसार्ने गर्थें, कहिले पानी पिउन दिन्थें । तर उक्त खसी काट्नका लागि ल्याइएको हुन्थ्यो । जब खसीलाई काट्न तयार गरिन्थ्यो, उनको मन नराम्ररी विथोलिन्थ्यो ।

‘पछिपछि त खसीको मासुको गन्ध पनि मन पर्न छाड्यो’ उनी भन्छन्, ‘मासु खाइरहँदा कताकता मन दुःखी हुन्थ्यो ।’ आखिर उनले मासु नखाने निधो गरे । खसी मात्र होइन, उनको मेनुबाट कुखुरा, माछाको मासु पनि हट्यो । र, हट्यो अण्डा पनि ।

दशैं भन्नासाथ धेरैले माछामासु खाने पर्वको रुपमा लिन्छन् । तर माछामासु नभए पनि यो पर्व उल्लासमय हुने दीपकराजको अनुभव छ । उनी यसबेला खीर, जुजु धौंले स्वाद फेर्ने गर्छन् । ‘पहिले माछामासु खाँदा त दशैंमा यो बाहेक अरु परिकार नै छैन जस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘भेज खानेकुरा खाएर पनि के दशैं मान्नु भन्ने लाग्थ्यो । तर भेजका लागि पनि अनेकन परिकार रहेछन् ।’

दशैंको बेला उनको घरमा माछामासु नपाक्ने होइन । किनभने परिवारका अन्य सदस्यहरु माछामासु नै खान्छन् । त्यसैले उनी यसबेला भान्सामा पाइला राख्दैनन् । उनको लागि शाकाहारी खानेकुरा कोठामा नै आइपुग्छ ।

आफ्नो घरको कुरा त भइगयो, अर्काको घरमा जाँदा भने समस्या हुने उनको अनुभव छ । उनी भन्छन्, ‘अरुको घरमा माछामासु पकाएको हुन्छ । मैले खाँदिन भन्दा उनीहरु खिन्न हुन्छन् । यतिबेला चाहिं मलाई पनि नराम्रो लाग्छ ।’

उनी बिहेभोज वा जमघटमा प्राय: सागसब्जी, सलाद, मिठाई, जुस खाने गर्छन् । ‘म खानाको त्यस्तो पारखी होइन,’ दीपकराज भन्छन्, ‘तर दही भने मलाई खास लाग्छ ।’

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?