+
+

के प्रचण्डले चितवन ३ छाड्दैछन् ?

सुवास पण्डित सुवास पण्डित
२०७९ असोज १८ गते २१:२९

१८ असोज, चितवन । चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने बताउँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० असारमा भरतपुर–१४ मा बनेको आफ्नो नयाँ घरमा सरे । झमझम पानी परेको विहान बाजागाजासहित नयाँ घर सरेका उनले चितवनबाट प्रतिनिधिसभा चुनाव लड्ने र बाँकी राजनीतिक जीवन यहीँ विताउने सन्देश दिए ।

तर उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा प्रचण्ड चितवन ३ छाडेर गोरखा २ मा जाने चर्चा हुन थालेको छ । २०७४ गोरखा २ बाट चुनाव जितेका र यो पटक माओवादीको चुनाव चिन्ह लिने सहमति गरेर नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गर्दा यो क्षेत्रका जनताले ‘अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुने छ’ भनेकाले पनि प्रचण्डले चितवन ३ छाड्न खोजेको आशंकालाई बल दिएको छ ।

चितवनबाट प्र्रतिनिधित्व गर्ने माओवादी केन्द्रीय सदस्यहरुले प्रचण्डलाई भेटेरै जिल्ला नछाड्न नजान दबाव दिएका छन् । जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेता बद्री तिमिल्सिनासहित ८ जनाको टोली काठमाडौं पुगेर प्रचण्डलाई चितवन नछाड्न दबाव दिएका हुन् । भूमि आयोगको चितवनको अध्यक्ष समेत रहेका तिमल्सिना प्रचण्डले चितवन छाड्दा यहाँको भौतिक पूर्वाधार र विकासमा ठूलो असर गर्ने दाबी गर्छन् ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुले जिल्लास्तरीय बैठक नै राखेर प्रचण्डलाई चितवन ३ नछाड्न अपील गरेको छ । कांग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको बैठकको निर्णयमा भनिएको छ, ‘मंसिर ४ गते सम्पन्न हुन गरहेको संघीय निवाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरिन्छ ।’

माओवादी केन्द्रका जिल्ला संयोजक अधिकारीले भने प्रचण्ड चितवनबाटै निर्वाचन लड्ने दाबी गर्छन् ।

कांग्रेसको कलह बन्यो टाउको दुखाई

चितवन निर्वाचन क्षेत्र नं. ३ मा एमाले र कांग्रेस हाराहारी शक्ति हुन् भने  माओवादी तेस्रो । स्थानीय निर्वाचनको मत परिणामले पनि त्यही भन्छ ।

तर कांग्रेसको बलमा चुनाव लड्न प्रचण्डलाई सहज छैन किनकी स्थानीय चुनावका बेला नै कांग्रेसमा आन्तरिक कलह चर्को छ । प्रचण्डकी छोरी समेत रहेकी रेनुलाई मेयर छाडेको भन्दै जगन्नाथ पौडेलले बागी उम्मेदवार नै दिए । यद्यपि संस्थागन र शेखर कोइराला समूहको साथले रेनुले चुनाव जितिन् ।

अहिले शेखर समूह पनि सन्तुष्ट छैन । यो समूह दिनेश कोइराला र टेकप्रसाद गुरुङ्ग दुबै प्रतिनिधिसभा सदस्यको टिकटका आकांक्षी छन् । कांग्रेसको समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएर धर्नामा बसेको यो समूहका नेता गुरुराज घिमिरेले चितवन–३ मा प्रचण्डविरुद्ध उम्मेदवारी दिने चेतावनी समेत दिएका थिए ।

समानुपातिकको सूची संशोधनपछि यो समूहको असन्तुष्टि केही मत्थर भएको छ, तर प्रत्यक्षको टिकट वितरणका बेला के हुन्छ अनुमान गर्न गाह्रो छ । र, शेखर पक्षको असन्तुष्टिका बीच चितवन ३ मा चुनाव लड्न प्रचण्डलाई सहज नभएको नेताहरु बताउँछन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी बनाएका रवि लामिछाने, राप्रपाका विक्रम पाण्डे र एमाले समेत प्रचण्डविरुद्ध एक ठाउँमा उभिने सम्भावना रहेको माओवादी नेताहरु बताउँछन् । उनीहरुका  पार्टीमा पनि समस्या देखिएको छ । पार्टी छाड्छौं भनेर धम्क्याउने, प्रदेशसभाको टिकटका लागि दबाव दिने नेताहरुको व्यवस्थापन पनि प्रचण्डका लागि सहज नभएको माओवादी नेताहरु बताउँछन् ।

माओवादीका कतिपय नेता भने चितवन ३ मा उम्मेदवारी दिँदा सम्पूर्ण समय र शक्ति त्यही लगाउनुपर्ने र प्रचण्ड एउटा निर्वाचन क्षेत्रमा सिमित हुने भएकाले पनि सहज ठाउँमा जानुपर्ने मत राख्छन् ।

गोरखा २ मा जाँदा प्रचण्डले यति धेरै दुःख गर्न पर्ने छैन । त्यहाँ माओवादी पहिलो दल भने दोस्रो ठूलो दल कांग्रेस छ । कांग्रेसका सुरेन्द्रराज पाण्डेले यो क्षेत्रको टिकट पाउनुपर्ने दाबी गर्दै आएका छन्, तर प्रचण्ड स्वयंम उम्मेदवार बन्दा उनलाई मनाउन गाह्रो नहुने नेताहरु बताउँछन् ।

के छ स्थानीय तहको गणित ?

चितवन ३ मा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिकाका ९ वटा वडा पर्छन् ।

भरतपुरका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ गरी १९ वडा क्षेत्र नं. ३ मा पर्दछन् । यसमध्ये माओवादीले वडा नं. १३,२४ र २६ नम्बर वडा जितेको छ । बाँकी १० वडा कांग्रेसले जितेको छ । एमालेले ३ वडा जितेको छ ।

अघिल्लो स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाकासहित माडी नगरपालिका माओवादी केन्द्रले जितेको थियो । तर यसपटक राप्रपाको साथ लिएर एमालेले प्रमुख जितेको छ भने उपप्रमुख कांग्रेसले जितेको छ ।

माडीका ९ मध्ये ४ वडा माओवादीले जितेको छ भने राप्रपा र एकीकृत समाजवादी २÷२ तथा एमालेले एउटा वडा जितेको छ । स्थानयी चुनावमा वडाध्यक्ष उम्मेदवारले पाएको मतका आधारमा हेर्दा एमालेले २९ हजार ७७१ मत पाएको छ । कांग्रेसले २९ हजार ३४३ मत पाउँदा माओवादीको १० हजार ९४० मात्र छ । राप्रपाका उम्मेदवारहरूले ६ हजार १९८ मत छ भने एकीकृत समाजवादीको ५ हजार ३७ ।

यसरी हेर्दा सत्ता गठवन्धनले इमान्दारीतापूर्वक साथ दिए प्रचण्डलाई चुनाव जित्न असहज छैन । त्यसैले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका साथै रामचन्द्र पौडेल र शेखर कोइरालाले एकठाँउमा बसेर ‘धोका नहुने’ वचन दिए अझै पनि प्रचण्ड गोरखा नजाने माओवादीका एक नेताले बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?