+
+

अस्पताल अर्थात् गरिब उत्पादन गर्ने कारखानाले दिएको पीडा

औषधि उपचारको खर्चले मानिस सडक आएका छन् । यसरी अस्पताल गरिब उत्पादन गर्नै कारखाना बनिरहेको छ । अस्पातलको यस्तो अभ्यास नसुधारे औंलामा गन्न सकिने मानिस अकूत सम्पत्तिसहित धनी बन्नेछन् भने बहुसंख्यक नागरिक गरिब बन्नेछन् ।

सम्झना विक सम्झना विक
२०७९ असोज १९ गते १२:००

दशैं दैलोमा छ । दशैं मान्न अधिकांश मानिस घर फर्किसकेका छन् । वर्षौंसम्म अलग भएका आफ्ना सन्तान र आफन्तसँग न्यास्रो मेटाउने चाड दशैं, अघिपछि भन्दा यो बेला बेग्लै रौनक देखिन्छ ।

शुक्रबार म पनि घर जानको लागि तयारी गर्दै थिएँ । टिकट १ बजेको थियो । गल्छी त्रिशुलीको बाटो सुख्खा पहिरोले अवरुद्ध भएसँगै टिकट टोखा छहरेको काट्नु पर्यो । माछापोखरीबाट बस चढेँ ।

दिनप्रतिदिन बढेको सवारी साधन, साँघुरो बाटो, ठेलमठेल गर्दै गाडी गुड्यो । घरजाने मान्छेको चाप यति धेरै थियो कि सिटमा बस्ने भन्दा बढी उभिने मान्छेको लर्को धेरै ।

बस गुडिरहृयो । धापासीमा जाम पर्यो । बस ग्रान्डी इन्टरनेशनल अस्पातल नजिकै रोकियो । झण्डै बीस मिनेट रोकिएको थियो । मेरो नजर अस्पातलमा पर््यो । ग्रान्डी अस्पातलमा बिताएको समय झल्यास्स सम्भिmएँ । अस्पातलमा भोगेको सकस, हरेक दिन नयाँ चुनौती । बितेका पल मेरो आँखा वरपर नाच्न थाले । मुटु एकदमै भारी भएर आयो । मैले भुल्न खोजेको घटनाले मेरो दिमागलाई नमज्जाले थिच्न थाल्यो ।

बस पुनः गुड्न थाल्यो । म बसमा भन्दा बढी पुराना यादहरुसँग यात्रा गर्न थालेँ । बिरामी भाइलाई निको बनाउन अस्पताल पुगेको थिएँ, तर अस्पतालले त मलाई शारीरिक र मानसिक यातना दियो ।

कुरा आजभन्दा दुई महिना अगाडिको हो । मेरो भाइको सवारी दुर्घटना भएको थियो । ऊ गम्भीर घाइते भयो, उपचारको क्रममा उसले सरकारी र निजी गरेर अहिलेसम्म पाँच वटा अस्पताल चहारी सक्यो । आजभोलि आफ्नै खुट्टामा उभिएर हिड्न सक्ने भएको छ । दिसापिसाबको लागि अरुको सहारा नचाहिने भएको छ । विस्तरामा मुढोझै लडेर बस्नु परेको छैन । घरको कम्पाउण्डमा हिंडडुल गर्छ, आफ्नो लुगा आफैं लगाउन सक्छ । स्वादले आफ्नै हातले खाना खान्छ । अब उसले आफ्नो काम आफैं गर्न सक्ने भएको छ ।

उसको वेदना र पीडालाई हामीले बेवास्ता गर्न सकेनौं । एकातिर छोराको छटपटी, अर्कोतिर अस्पताल प्रशासनको पैसाको लागि दबाबपूर्ण फोन । पैसा समयमा नबुझाए उपचारमा तलमाथि हुन्छ भन्दै हरेक दिन फोन आउँथ्यो

असार ७ गते भाइको सवारी दुर्घटना भयो । मान्छेको जीवनमा जतिबेला जे पनि हुन सक्छ । हाम्रो परिवारले पनि यति ठूलो पीडा सहनु पर्ला भनेर कहिल्यै सोचेका थिएनौं ।

हाँसीखुसी थियौं । भाइ वैदेशिक रोजगारीको लागि पोल्याण्ड जाने तयारीमा थियो । भारतको सिलुगुरीमा बस्दै आएको भाइको टिकट पक्का भयो । सबैसँग आशिर्वाद र भेटघाटको लागि भारतको सानाबुबा, सानीमा र भाइ आफ्नो पुख्र्यौली घर नवलपरासीको गैंडाकोट आए । सबैसँग भेटघाट पछि असार ७ गते भाइको परिवार भारत फर्किने तयारीमा थियो ।

साँझ ५ बजेको टिकट छ । बिहानै निस्किएको छोरो ३ बज्दासम्म पनि फर्किएन । साथीसँग व्यस्त भएर होला भनी सोचिरहेका मेरी सानीमा सानाबुबालाई ४ बजेतिर फोन आयो, ‘तपाईको छोरा दुर्घटनामा परे, तुरुन्त चितवन पुरानो मेडिकल कलेज आउनुस् ।’

फोन सुन्ने बित्तिकै मेरो परिवारमा दौडधुप मच्चियो । सबैजना अस्पताल पुग्यौं । नेपाली चलचित्र आमा, केही हिन्दी चलचित्रमा अस्पताल, चिकित्सक र औषधि व्यापारीबाट भएको शोषण र लुटको कथालाई काँचको पर्दामा हेरेकी थिएँ । त्यसले केही समय आन्दोलितसँगै भावुक पनि बनाएका थिए ।

चलचित्रका कथाकोे स्मृति केही समयपछि हराउँदै जान्छ । तर जब चलचित्रमा हेरिएका कथा यथार्थ बनेर आफ्नै जीवन घट्छ, यसले हतपत निको नहुने चोट दिएर जाँदो रहेछ ।

भाइ स्कुटीमा सवार थियो । ऊ तीन पांग्रे ट्याम्पुसँग ठोकियो । भाइका अनुसार सामान्य ठक्कर लागेको थियो । उसको छातिमाथि निर्दयी ट्याम्पु चालकले ट्याक्पु नै चढाइदियो । ऊ बेहोस् भयो । चालक हतारिदै ट्याम्पु घरमा राखेर आनन्दले बस्यो । घाइते भए जीवनभर उपचार गर्नुपर्ने तर मारिदिए पाँच लाखमै उम्किने कानुन भएर होेला, सवारी चालकले दुर्घटनाका घाइतेलाई मार्न खोज्यो । मेरो भाइलाई पनि त्यो चालकले मार्ने उद्देश्यले नै छातीमा ट्याम्पु चढाएको थियो ।

गैडाकोटको भित्रि गल्लीमा दुर्घटना भयो जहाँ मान्छेको आवतजावत कम हुन्छ । भाइले घाइते भएको एक घण्टापछि मात्रै उद्धारको हात पायो । ऊ बाटोमा अचेत अवस्थामा लडेेको थियो । मान्छेहरु एकएक गरी जम्मा हुँदै गए । सुरुमा मानिसहरु उद्धार भन्दा मोबाइलमा तस्वीर र भिडियो खिच्न व्यस्त भए ।

त्यही भिडमा मिसिन पुगेको छिमेकी भाइ सौरभकोे सहरामा उसलाई अस्पतालमा पुर्याइयो । घर जान पूरा तयारी गरेको मेरा परिवारले अस्पातलमा अचेत अवस्थाको घाइते छोरा हेर्नुपर्ने अवस्थामा पुग्यो । एक हप्तापछि विदेश उड्नुपर्ने छोरोको यस्तो अवस्था देख्दा मेरो परिवारलाई कस्तो भयो होला ?

सुन्दा सामान्य लाग्न सक्छ, तीन पांग्रे ट्याम्पुले कत्तिनै चोट लाग्यो होला र ? मानवता नभएको त्यो ट्याम्पू चालकले ज्यान मार्ने उद्देश्यले छातीमा ट्याम्पू चढाउँदा भाइको मुटु र कलेजोमा चोट लाग्यो । पाँचवटा करंग भाँचियो । फोक्सोको बायाँ भागमा चोट लाग्यो र मृगोलाको डायलासिस गर्नुपर्ने भयो । ढाड, कोखा र गर्दनमुनि गहिरो चोट लाग्यो । दाया हात चलाउन नमिल्ने अवस्थामा पुग्यो । गर्दन तल र कम्मर माथिको सबै अंगमा गहिरो चोट लागेको थियो । इमेरजेन्सीबाट उसलाई आइसियुमा सारियो ।

हामी प्रहरीको सहयोगमा चालकलाई पक्रन सफल भयौं । बिरामीलाई अस्पताल लगेपछि पनि ढुक्कसँग बस्न नसकिने रहेछ । अस्पतालप्रतिको विश्वास असाध्यै कमजोर बन्यो ।

भाइलाइ अस्पातलमा छ दिनसम्म पानी पनि खान दिइएन । उसको अवस्था एकदमै नाजुक भएसँगै मेरो परिवार आत्तिन थाल्यो । उसलाई अस्पातलले आइसियुबाट बाहिर निकालिदियो । अस्पतालले ‘अब प्रगति हुँदैन, बाँचुञ्जेल यहीँ राख्नुस्, बाहिर लैजानुपर्दैन’ भन्यो । तर हामीले अस्पातलले भनेको कुरालाई स्वीकार गरेनौं ।

भाइले रुँदै ‘मलाई यहाँबाट लैजानु, मेरो उपचार राम्रोसँग भएको छैन’ भनेको थियो । परिवारमासल्लाह भयो । ‘काठमाडौंको ग्रान्डी इन्टरनेशनल अस्पातल राम्रो छ । हेलिकप्टरको पनि सुविधा, नयाँ प्रविधि पनि’ भनेर आफन्तले सुझाव दिए । सरकारीमा बुझ्दा आइसियु पाउन मुश्किल छ भन्ने खबर आयो । छोराको ज्यान बचाउनकै लागि सानीमा सानाबाबाले साढे दुई लाखमा हेलिकप्टरको सहायतामा काठमाडौं लगे ।

ग्रान्डीमा भर्ना गरैसँगै भाइले पानी खान पायो । आइसियुमा राखियो । सिटिस्याकनदेखि सबै परीक्षण गर्यो । दिनको एक लाखको दरले भुक्तानी गरेर हामीले भाइलाई आइसियु राख्यौं । उपचार राम्रैसँग चलिरहेको थियो । एक हप्तासम्म हामीले आइसियुको भाडा, औषधिको पैसा नियमित नै तिर्यौं ।

त्यतिबेलासम्म बचतको पैसा थियो हामीसँग । काठमाडौं बसाई कोठा र अस्पातलको दूरी धेरै । साह्रै नै गाह्रो भयो । ग्रान्डीमा बिरामी कुरेर बस्नुपर्ने व्यवस्था थिएन । त्यसैले उहाँहरु कोठामा आउनुहुन्थ्यो, दिन बित्दै गए । हामीलाई पैस्ााको अभाव हुन थाल्यो । दिनमा कहिले एक लाख बीस, कहिले एक लाख पचास हजारसम्म खर्च हुन थाल्यो । भाइको अवस्था सुधार आएकाले हामी त्यसैमा सन्तुष्ट थियौं ।

उपचार चलिरहँदा पैसा सकियो । साथीभाइ र आफन्तसँग सरसापट माग्न थालियो । म कार्यरत मिडिया हाउसले केही आर्थिक सहयोगसँगै बिदाको व्यवस्था पनि गरेर अभिभावकीय भूमिका निर्वाह गर्यो ।

सर्वसाधारण र पहुँच नभएका नागरिकको अवस्था कस्तो होला ? सामान्य रोग लाग्दा पनि आफ्नो प्रिय आफन्त गुमाउनुपर्ने अवस्था छ । बिना पैसा मान्छे बच्न मुस्किल छ । पहिले पैसा अनि मात्र उपचार

तर हामीलाई ग्रान्डीमा दिनहुँ पैसा बुझाउन हम्मेहम्मे पर्नर्थाल्यो । भाइलाई चौधौं तल्लामा राखिएको थियो । आइसियुबाट कहिले हाइकेेयर त कहिले आइसियु लैजानु सामान्य प्रक्रिया जस्तै भइसकेको थियो । एकदिनमा कहिले तीन त कहिले दुई जनाले भाइसँग भेट्न पाउँथ्यौं । दिन बित्दै गयो । भित्रको घाउ केही निको हुँदै गएको थियो । तर जति मात्रामा हुनुपर्ने भएन । दिनहुँ अस्पातलका डाक्टरसँग भेट हुन्थ्यो । हरेक दिन नयाँ कुरा निस्कन्थ्यो । पैसा हामीले नियमित बुझाउन सक्ने भएनौं । पैसा बाँकी रहन थाल्यो । अस्पातलले पनि उपचारमा बिस्तारै कमि गर्दै गयो ।

भाइलाई एक सय पाँच डिग्रीको ज्वरो आउँदा पनि राम्रो स्याहार भएन । भाइ पीडाले रुन्थ्यो । भाइको कुराले हामी अस्पातल सँग ढुक्क रहन सकेनौं । भाइले भन्यो, ‘मलाई यहाँबाट निकाल्नु, मलाई वास्ता नै गर्दैन्ान् ।’

उसको वेदना र पीडालाई हामीले बेवास्ता गर्न सकेनौं । एकातिर छोराको छटपटी, अर्कोतिर अस्पताल प्रशासनको पैसाको लागि दबाबपूर्ण फोन । पैसा समयमा नबुझाए उपचारमा तलमाथि हुन्छ भन्दै हरेक दिन फोन आउँथ्यो ।

यो दबाब र अभावका बीच आफन्तको जीवनको चाहना । ग्रान्डीमा बिताएको समय म कहिल्यै भुल्न सक्दिनँ । हाम्रो परिवारले पैसाको लागि सबैसँग गुहार माग्थौं । चिनेका जति सबैसँग पैसा माग्यौं । मन हुने, धन पनि हुने सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्नुभयो ।

भाइको ज्वरो घट्ने कुनै लक्षण नै थिएन् । अस्पतालको व्यवहार त्यस्तै थियो । अस्पतालले हामीलाई दुहुनो गाईजस्तै दुहृयो । एकपटक तीन लाखसम्मको औषधि लेखिदियो । यो सबै देखेर अब सकिन्नँ भनेर हामीले भाइलाई हेर्ने चिकित्सकसँग सरकारी अस्पातलमा सारिदिन अनुनय विनय गर्यौं । हामीले धान्न र खप्न सक्ने अवस्था थिएन । पैसाको अभाव, अस्पातलको लापरबाही र धम्कीपूर्ण दबाब । कता छोरानै गुमाउनुपर्ने डरले हामीले डाक्टरसँग अनुरोध गरेका थियौं ।

१९ दिनको बसाईपछि हाम्रो अथक प्रयासले राति दुई बजे ग्रान्डी बाट त्रिवी शिक्षण अस्पातल महाराजगञ्जमा भाइलाई सार्न सफल भयौं । आफ्ना सन्तानको लागि अभिभावकले कतिसम्म गर्न सक्दोरहेछ भन्ने अस्पातलमा गएर अनुभूति गर्न सकिन्छ । सानाबा, सानीआमाको साह्रै कमजोर हुनुभएको थियो । यस्तो बेलामा सबैभन्दा ठूलो कुरा उच्च मनोबल नै रहेछ । हामीले एकअर्कालाई कमजोर हुन दिएनौं । हामी सबैकुरा मिलेर गथ्र्यौं ।

त्रिविमा लगेको केही दिनमा भाइको ज्वरो घट्यो । सरकारी अस्पातलमा आइसियु पाउन ज्यादै मुश्किल हुन्छ । सीमित सिट र बिरामीको अत्यधिक चापले सुरुमा सरकारी अस्पातल लान सकेनौं । शिक्षण अस्पातलमा सुरुवातमा राम्रै भएको थियो । त्यहाँ पनि दिनको पचास हजारसम्म खर्च हुन्थ्यो । भाइको अवस्था ठिक हुँदै गयो ।

केही दिनको बसाइपछि उसलाई आइसियुबाट पोस्टटपमा सारिदियो । भित्रको गहिरो चोट केही सञ्चो हुँदै गएको थियो । बाहिरी चोट उस्तै थियो । त्यसको उपचार भएको थिएन । निजीमा महंगो शुल्क, सरकारीमा केही सस्तो भए पनि एकदमै लापरबाही । बिरामीको राम्रो हेरचाह नै नहुने । हामीलाई निजी अस्पातलबाट आएको भनेर केही फरक व्यवहार हुन्थ्यो ।

भनेका सबैकुरा नमान्दा अस्पतालले गर्ने व्यवहार फरक हुँदोरहेछ । भाइको उपचार चलिरहेको थियो । हाडको डाक्टरले भाइको करंग, मेरदण्डको उपचारको लागि लागि एक महिनासम्म बेहोस बनाएर राख्नुपर्ने बताए । तर हाम्रो परिवारले उक्त प्रस्ताव अस्वीकार गर्यो । फलस्वरुप अस्पातलले हामीलाई वास्ता गर्न छोड्यो । नाजुक हालतको बिरामीलाई अस्पातलले अधूरो उपचारमै निकालीदियो । पैसा हुञ्जेल निजी अस्पातलमा, पैसा सकिएपछि सरकारी अस्पातल भनेर हामीले खप्की खानु पर्यो ।

विविध अप्ठ्यारा र समस्यासँग लड्दै भाइलाई १२ दिनको अस्पताल बसाइबाट कोठामा लग्यौं ।

एक हप्तासम्म कोठामा नर्स बोलाएर घाउ सफा गर्दै औषधि उपचार भयो । एक हप्तापछि थप उपचारको लागि भाइलाई उसकौ घर भारत सिलुगुरी लग्यौं । त्यहाँ उसको थप उपचार भइरहेको छ । उपचार राम्रै चलेको छ ।

यी सबै घटनाक्रम आफैंले भोगेपछि मनमा अनेका प्रश्न जन्मिए । संविधानमा लेखिएको समाजवाद उन्मुख देशको नागरिकले यस्तो पीडा कहिलेसम्म भोग्नुपर्ने हो ? एकातिर समाजवाद भनिरहने र अर्कोतिर अस्पतालले गरिब उत्पादन गर्ने कारखानाको भूमिकामा काम गरिरहने बिरोधाभाषपूर्ण अवस्था कहिलेसम्म कायम रहने होला ?

अत्यन्तै महंगो स्वाथ्य उपचार पद्धतिले मध्यम र निम्न वर्गका मानिस सडकमै आउने अवस्था सिर्जना हुँदोरहेछ । स्वास्थ्यकर्मी, अस्पातल प्रशासन सबैको घिनलाग्दो राजनीति । निजी अस्पातलमा पैसा तथा सरकारीमा चिनजान र पहुँच भएन भने उपचार गर्नसक्ने अवस्था छैन ।

हामीले भाइको उपचारको लागि ३५ लाख खर्च गर्यौं । दुर्घटना गराउने ट्याम्पु चालकको आर्थिक अवस्था कमजोर रहेछ । उबाट ६ लाख प्राप्त भयो र बाँकी २९ लाख बचत र ऋणबाट खर्च भयो । कतिपयले सहयोग पनि गर्नुभयो ।

सर्वसाधारण र पहुँच नभएका नागरिकको अवस्था कस्तो होला ? सामान्य रोग लाग्दा पनि आफ्नो प्रिय आफन्त गुमाउनुपर्ने अवस्था छ । बिना पैसा मान्छे बच्न मुस्किल छ । पहिले पैसा अनि मात्र उपचार ।

केही समयअगाडि पत्रकार कृति भट्टराईलै अस्पताल र चिकित्सकले रोगको निदान नगर्दा शारीरिक र मानसिक यातना पाएको भन्दै फेसबुक लाइभ मार्फत आफ्नो दुःख साटेकी थिइन् । त्यस्तै पत्रकार अजवी पौडयालले पनि अस्पताल र डाक्टरबाट पाएको पीडा फेसबुकमा लेखेकी थिइन, ‘न डाक्टरको विश्वास, न औषधि, न त अस्पातलकै । यी सबैबाट सेवा भन्दा व्यापारको गन्ध आउने ।’

यी त प्रतिनिधि घटना मात्र हुन् । हामीले भोगेका यातना लाखौं नेपालीले भोग्दै आएको हो । मानवता भन्ने चिजनै हराएको छ । मात्र पैसाको चलखेल हुन्छ । औषधि उपचारको खर्चले मानिस सडक आएका छन् । यसरी अस्पताल गरिब उत्पादन गर्नै कारखाना बनिरहेको छ । अस्पातलको यस्तो अभ्यास नसुधारे औंलामा गन्न सकिने मानिस अकूत सम्पत्तिसहित धनी बन्नेछन् भने बहुसंख्यक नागरिक गरिब बन्नेछन् ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?