+
+

सहरमा किन कमजोर छ माओवादी ?

जनताका मुद्दा सदनभित्र उठ्न छोडे । सदनमा पनि निष्क्रिय छौं । सडक खाली छ । सडकमा हामी गएकै छैनौं । हाम्रो सरकार छ, त्यसैले हामी विरोधमा जान हुन्न भन्ने मानसिकता कहीँ न कहीँ बुर्जुवा पार्टीबाट हामीले सिकेजस्तो भएको छ। 

डिलाराम आचार्य डिलाराम आचार्य
२०७९ असोज २१ गते ९:४३

एक समय मानिसहरू २५ वर्ष नाघेपछि कम्युनिष्ट पार्टीमा बस्दैनन् भनिन्थ्यो । २०४६ सालतिर जिल्लातिर हिंड्दा ‘यिनीहरूको कुरा त ठिकै हो तर केटाकेटी छन् भन्थे । कम्युनिष्ट पार्टीको संगठनले उनीहरूको जीवन व्यवहारसँग धेरै नाता राख्दैन्थ्यो । नेताहरू भूमिगत थिए । जीवन व्यवहार भन्दा टाढा र आदर्शको धेरै कुरा हुन्थ्यो ।

त्यो चलन क्रमशः हट्दै गयो । अब बुढापमा मान्छे पनि कम्युनिष्ट पार्टीमा धेरै हुने, बुढाहरूको संगठन जस्तै मात्रै बन्ने खतरा पनि छ । अब युवालाई कम्युनिष्ट पार्टीमा कसरी ल्याउने होला भनेर चिन्ता गर्ने ठाउँमा हामी पुगेका छौं ।

सहरको सन्दर्भमा अर्को नेपाली भनाइ छ-जहाँ बिजुली जान्छ, त्यसको केही समयपछि त्यहाँ कम्युनिष्ट पार्टी हराउँछ । मोटर बाटो आयो र अलिकति शहरीकरण भयो भने कम्युनिष्ट पार्टीमा लाग्दैनन्, कांग्रेस वा अरु पार्टी रोज्छन् भन्ने चलन थियो ।

सहरमा कसरी काम गर्ने ?

सहरका जनताका दैनिक समस्या के हुन् ? त्यसलाई लिएर संघर्षको बाटो हामीले बिर्सिए जस्तै भयो । केपी ओलीले सदन विघटन गर्दा हामी एकपटक सडकमा आयौं । २०७४ को चुनाव यता हामी सडकमा आएका छैनौं । जनताको जीवन-व्यवहार र जनताका दैनिक समस्यासँग जोडेर लान सकेनौं भने कम्युनिष्ट पार्टी धेरै दिन टिक्दैन ।

सहर र विशेषगरी काठमाडौं उपत्यकामा हामी कमजोर छौं । उपत्यकाका ललितपुर र भक्तपुर भन्दा पनि हामी काठमाडौंमा कमजोर छौं । उपत्यकामा ७० लाख मानिस बस्छन्, त्यसको नेतृत्व गर्ने क्षमता हाम्रो नपुगेको हो कि ? सहरमा सानो भन्दा सानो कुरामा भिड्न सक्नुपर्छ ।

काठमाडौं महानगरमा ९ वटा ब्रुमर रहेछन्, ती सबै बिगारेर राखेका रहेछन् । त्यसलाई हामीले यहाँका जनतालाई लिएर आन्दोलनको बिषय बनाउनुपर्थ्यो । सहरमा कुनै खाल्डाखुल्डी हुन्छ भने त्यो आन्दोलनको विषय हुनुपर्थ्यो । प्रदूषण बढी हुन्छ भने त्यहाँ आन्दोलन हुनुपर्दथ्यो । पानीको समस्या छ भने त्यो आन्दोलनको विषय हुनुपर्‍यो ।

दैनिक आन्दोलको पाटोतिर हाम्रो चेतनाले भ्याएन कि ? दैनिक संघर्षमा हामीले पार्टीलाई जोड्न सक्यौं भने सहरमा घनिभूत संगठन बन्छ । परम्परागत किसिमले या पञ्चायतीकालमा जस्तै सर्कुलर पठाएर, वर्षमा एकचोटी लेबी उठाएको भरमा पार्टी बलियो हुन्छ भन्ने ठान्ने हो भने त्यो भ्रम हुन्छ । र, यसले पार्टीको विकास हुन्न ।

हाम्रो स्थानीय कमिटीले पनि दिनानुदिन समस्याको समाधानका लागि पहल लिइहाल्नुपर्‍यो । मानौं काठमाडौं महानगरको वडा नम्बर ३२ मा केही समस्या पर्छ भने त्यहाँको वडा कमिटीले पहल लिइहाल्नुपर्‍यो । अरु त अरु खोलो गन्हायो भने पनि जुलुस लगाउनुपर्‍यो । यो मुद्दा एकतातिर छ भने, राष्ट्रिय अन्तरर्राष्ट्रिय जुन घटना घट्छन्, त्यसमा जिल्ला नेतृत्व वा उपत्यकाको नेतृत्वले सडकमा आउने वातावरण बनाउनुपर्‍यो ।

सडक, सदन र सरकारमा हामी हुनुपर्‍यो । सरकार जेनतेन चलिरहेको छ । यो योजनाबद्ध तरिकाले चलिरहेको छैन । कम्युनिष्ट पार्टीले जसरी सरकार चलाउनुपर्थ्यो, त्यसरी चलेको छैन । सदनमा कहिलेकाही राजनीतिक मुद्दामा चर्काचर्की हुने बाहेक जनताका दिनानुदिन समस्यामा मुखरित हुने कोणबाट हेर्दा मृत प्रायः छ ।

जनताका मुद्दा सदनभित्र उठ्न छोडे । सदनमा पनि निष्क्रिय छौं । सडक खाली छ । सडकमा हामी गएकै छैनौं । हाम्रो सरकार छ, त्यसैले हामी विरोधमा जान हुन्न भन्ने मानसिकता कहीँ न कहीँ बुर्जुवा पार्टीबाट हामीले सिकेजस्तो भएको छ ।

सहरमा १० प्रतिशत सम्भ्रान्त र ९० प्रतिशत गरिब बस्छन् । गरिबहरूले नै १० प्रतिशत सम्भ्रान्तहरूको प्रत्यक्ष, अप्रत्यक्षरूपमा सेवा गरिरहेका छन् । ठूलो हिस्सा उत्पीडित जनसमुदायलाई देख्न नसक्नु दृष्टि दोष हो । सहरमा धनी बस्छन्, त्यसकारण हाम्रो पार्टीलाई रुचाएनन् भन्ने कुरा बिल्कुलै होइन

यस्तो अभ्यास ठीक होइन । हाम्रै पार्टीको प्रधानमन्त्री छ भने पनि किसानका ठूला–ठूला जुलुस निस्कनुपर्छ । सरकार र किसानको बीचमा वार्ता हुनुपर्छ । सरकारले दिन सक्ने कति हो, दिन नसक्ने कति हो त्यसको टुंगो लाग्नुपर्छ । सम्भव भएका मुद्दाहरू सम्बोधन गरिदिनुपर्छ ।

त्यस्तै युवा, विद्यार्थी, महिला, जाति, भाषा, विकास निर्माणका मुद्दाहरूलाई लिएर जति आन्दोलन उठाउनुहुन्छ, सरकार, वर्ग र पार्टी त्यति बलियो हुन्छ । हाम्रो पक्ष, वर्ग जति सचेत हुन्छ, हामी त्यति बलियो हुँदै जान्छौं । हामीले जनताका मुद्दाहरू उठाउन छोडिसकेपछि सहरमा जसले मुद्दा उठाउँछ, त्यसकै पछि जनता लाग्छन् ।

पश्चिम बगांलमा ज्योति बसुले २५ वर्ष शासन गरेको ठाउँमा अलिहे सीपीआईको एक सिट पनि छैन । उनीहरू कागज, अफिस मिलाउन थाले । जनताको मुद्दा उठाउँदै आन्दोलनमा ममत ब्यानर्जीको पार्टी गयो । भारतमा लामो समय शासन गरेको भारतीय कांग्रेस अहिले निरीह भएर बसेको छ । कतिपय एजेन्डा उठाएर भारतीय जनता पार्टी (बिजेपी) सरकारमा गयो ।

जनताले पत्याउन लायक काम गरौं

भूमिगत कालमा गाउँमा एक किसिमले काम गरेका साथीहरूलाई हामीले सहरमा काम गर्न पठायौं, उनीहरूले नसकेको हो कि ? उनहरूको योग्यता क्षमताले नभ्याएको हो कि ? कोठामा बसेर शास्त्रीय मार्क्सवाद गहिरोगरी पढ्नु एउटा कुरा हो, तर व्यवहारमा वर्ग संघर्ष संचालन गर्ने फरक कुरा हो । गाउँमा जसरी संघर्ष गरिन्छ, त्यो तरिका काठमाडौंमा काम नलाग्ने हो कि ? हाम्रो कमजोरी– सहरमा कसरी प्रशिक्षित गर्ने भनेर हामी छुट्टै दिशमा गएनौं कि ? सहरका अन्तरविरोधहरू केलाएनौं कि ? किनकी यहाँ त टोल–टोलका अन्तरविरोध छन् । समस्याहरू पनि फरक–फरक छन् ।

न्यूरोड वरपर मेरा कयौं साथी छन् । जुत्ता पालिस गर्ने, उखु पर्ले र भरिया साथीहरू छन् । उनीहरूसँग बसेर चिया खान्छु । उनीहरूलाई संगठित गर्ने समस्या छ । भरियाहरूको पनि समस्या छ । जुत्ता पालिस गर्नेहरूको पनि समस्या छ । यी हाम्रा मुद्दा हुनुपर्‍यो । कैयौं ठाउँमा मधेशका मान्छेहरूले तरकारी बोकेर हिँडिरहेका हुन्छन्, उनीहरूका समस्या बुझ्नुपर्‍यो । कपाल काटेर बसेका छन्, उनीहरूको समस्या के हो, हामीले हेर्नुपर्‍यो । जनताका मुद्दा के हुन, जनतालाई मर्का के परेको छ ? त्यो ठाउँमा संगठनले हस्तक्षेप गर्नुपर्‍यो ।

हाम्रा विभिन्न ठाउँका हड्ताल, जुलुस, कार्यालय घेर्ने कार्यक्रम, कार्यालयमा ताला लगाउने काम, कैयौं भ्रष्टाचारमा मुछिएर मोसो दलेको कारणले दर्जनौं साथी गिरफ्तार परे । छुट्दै पनि गए, गिरफ्तार पनि पर्दै जानुपर्‍यो । त्यो भयो भने बल्ल हामी जनताको पक्षमा उभिन्छौं । अनि, जनतालाई पनि यिनीहरू हाम्रो पक्षमा लड्छन् ।

हामी पाँच वर्षमा एकपटक पनि देखिन्छौं । पार्टी सदस्य भएकै मान्छेहरूको पनि खोज तलास छैन । अनि एकैपटक भोट माग्न गएर कसरी हुन्छ ? अहिले हाम्रो जे हालत भएको छ, यो स्वभाविक हो । यो त जनताका बीचमा हामी गएनौं भन्ने कुराको स्पष्ट संकेत हो । हामीले बोकेका मुद्दा लिएर जनतामा जाने बित्तिकै एउटा आकर्षण पैदा गर्न सकिन्छ । आज, भोलि नै होइन, तर ६ महिना वा एक वर्ष काम गर्‍यौं भने आकर्षण पैदा गर्न सक्छ ।

सहरमा हाम्रो संगठन किन विस्तार भएन भन्ने सवालमा गम्भीर समीक्षा गर्नुपर्छ । यो नभएको कुरा साँचो हो । काठमाडौं महानगरका ३२ वडामध्ये कुनै एउटामा राम्ररी संगठन चलाएको देखिनुपर्‍यो । तपाईंको नेतृत्व क्षमता के हो भन्ने कुरा प्रकट हुनुपर्‍यो । काम छाडेर लड्नु पर्दैन, योजना दिएपछि जनता आफैं लड्छन् ।

नेता राम्रो अफिस बनाएर बसेका छन्, सर्कुलर पनि जारी गरेका छन् भनेर मासिन आउँदैनन् । जनतालाई कहाँ मर्का परेको छ भनेर उभियो भने आज नआउलान्, भोलि साथ दिन बाध्य हुन्छन् । जनताका मुद्दा समाउनुभयो भने उनीहरू तपाईंका वरिपरि गोलबन्ध हुन्छन् । गोलबन्ध भएका जनतालाई पनि तपाईं राम्रोसँग सम्बोधन गर्नपर्छ । राम्रो गर्ने शक्तिको पछाडि जनता लाग्छन् किनभने उनीहरूले पत्याउन लायक व्यवहार गरिरहेका हुन्छन् ।

सहरमा १० प्रतिशत मात्रै सम्भ्रान्त बस्छन्, बाँकी ९० प्रतिशत साँझ–बिहानकै जोहो गर्न कठिन हुने अवस्थामा हुन्छन् । गरिबहरूले नै १० प्रतिशत सम्भ्रान्तहरूको प्रत्यक्ष, अप्रत्यक्षरूपमा सेवा गरिरहेका छन् । या त उनीहरूको सामान नाङ्लोमा लगेर बेच्छन् र नाफाको ठूलो हिस्सा सम्भ्रान्तहरूलाई बुझाउँछन् । सानो हिस्सा मात्रै आफूले लिएर दालभात खान्छन् । ठूलो हिस्सा उत्पीडित जनसमुदायको छ, त्यसलाई देख्न नसक्नु दृष्टि दोष हो । सहरमा धनी बस्छन्, त्यसकारण हाम्रो पार्टीलाई रुचाएनन् भन्ने कुरा बिल्कुलै होइन ।

व्यक्तिगत लाभमा सम्झौता नगरौं

गाउँमा बरु उस्तै–उस्तै वर्गका मान्छे बस्छन् । त्यहाँ कम्युनिष्ट पार्टी बलियो हुने, तर वर्ग विभेद भएको ठाउँमा हामी कमजोर हुने भन्नु उम्किने कुरा मात्रै हो । त्यो दृष्टि दोष मात्रै हो । त्यो जनताको भित्र गएर उनीहरूको वर्ग विश्लेषण गर्न नसकेको मात्रै हो । सहरमा जत्ति उत्पीडित जनसंख्या गाउँमा कहाँ बस्छ र ? जनताको दिनानुदिन समस्यासँग जुध्यौं भने समस्याको हल हुनसक्छ । संगठन बलियो हुनसक्छ । राम्रो हुन सक्छ । र, सहरमा संगठनमा गाउँमा भन्दा सजिलै बन्छ । १० जना मान्छेलाई राम्रोसँग कन्भिन्स गर्न सकियो भने उनीहरूले अरु ४ सय मान्छेलाई बुझाउन सक्छन् ।

एउटा मुद्दा समाइसकेपछि त्यसलाई निष्कर्षमा पुर्‍याएर मात्रै छोड्यौं भने अरु स्वतः २० वटा मुद्दा आउँछन् । त्यही २० मुद्दा लिएर, त्यसमा जालझेल गरेर खाने एउटा संस्कृति पनि छ । त्यसो गर्ने हो भने त्यो आत्मघाती हुन्छ । त्यसो गर्नु भन्दा मुद्दा नठाएकै बेस । तर, २० वटा मुद्दा हल गर्दा कम्तिमा पनि २ हजार मान्छे सम्पर्कमा आउँछन् । २ हजार मान्छे ‘कन्भिन्स’ भए पनि उनीहरूले २० औं हजारको जनमतलाई प्रभावित पार्छ । तर, हाम्रोमा मुद्दा उठाउने र त्यसलाई बेच्ने भ्रष्ट संस्कार छ ।

जनताको मुद्दामा हामी केन्द्रित हुन सक्यौं भने हामी अगाडि जान सक्छौं । र, हामीले हाम्रा कमजोरी कहाँ भए भनेर गम्भीर समीक्षा पनि गर्नुपर्छ । शान्ति प्रक्रियापछि माओवादीले उठ भन्दा उठ्ने, बस भन्दा बस्ने ठाउँमा पुगेको काठमाडौं आज १० हजार मत पुर्‍याउन पनि किन मुस्किल भएको छ भन्ने कुराको गम्भीर समीक्षा चाहियो । कमजोरी कहाँ–कहाँ भए भन्ने कुराको निष्कर्ष निकालेर सहरको संगठन अगाडि बढायौं भने हामी फेरि सशक्त बन्न सक्छौं ।

धेरै क्षेत्रहरू छन् जसलाई हामीले प्राथमिकताको सूची बनाएर क्रमशः आन्दोलनको उठान गर्नुपर्छ । आन्दोलनको उठान गर्ने प्रश्नमा कुनै पनि हालतमा कुनै पनि नेताले व्यक्तिगत लाभ लिने तहमा सम्झौता गर्नुहुन्न । त्यस्तो कसैले गर्छ, त्यस्तो प्रमाणित हुन्छ भने कडाई पूर्वक कारबाही गर्नुपर्छ ।

(आचार्य नेकपा माओवादी केन्द्रका सचिव एवम सम्पर्क समन्वय प्रदेश समितिका इन्चार्ज हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?