+
+

भेरी नदीमा बाढी, पानीको बहावले खतराको तह पार गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १२:५१

२१ असोज, सुर्खेत । निरन्तर परेको अविरल वर्षाका कारण भेरी नदीमा बाढी आएको छ । नदीमा पानीको बहावले खतराको तह पार गरेको छ ।

नदीमामा आएको बाढीले खतराको तह पार गरेपछि तटीय क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपील गरेको छ ।

पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहावले खतराको विन्दु पारगरेपछि उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले हाइअलर्ट जारी गरेको हो । भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

भेरी नदीमा ४.५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ । खतराको विन्दु भनेको ५ मिटर हो । तर अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५.५० मिटर पुगेको छ ।

भेरी नदीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँलगायतका बस्ती जोखिमका बस्ती हुन् ।

यहाँ नागरिकहरुलाई नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान भनिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनकाअनुसार स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर सावधानी अपाउन अपिल गरिएको छ ।

स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायतका विपद्हरुबाट मानवीय तथा आर्थिक क्षति हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

‘विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्दा तथा राहतका लागि मातहतका निकायलाई तयारीमा अवस्थामा राखेका छौं’ रिजालले भने ।

भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी-बबई डाइभर्सन आयोजनाको ड्याम निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख (एसपी) विमल डाँगीले जानकारी दिए ।

उनले नदीमा बाढी बढ्ने अलर्ट जारी भएसँगै किनारामा रहेका निर्माण सामग्री सारिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?