+
+

चुनावअघि नै पछारिएका प्रभावशालीहरू

सबैलाई जित्दै यो पटक एमालेमा अध्यक्ष केपी ओलीको नेतृत्व केन्द्रीकरण अत्यधिक देखिएको छ । आफूमाथि प्रश्न उठाउने, आलोचना गर्ने, प्रतिष्पर्धामा आमनेसामने हुन चाहने नेतालाई उनले करिअर नै नरहने गरी किनारीकृत गरिदिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते २२:२४

२३ असोज, काठमाडौं । थुप्रै नेताहरुले यसपल्ट लड्नुपर्‍यो आफ्नै पार्टी नेतृत्वसँग । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सम्मुखमा आफ्नै पार्टीभित्रको संघर्षमा उत्रिएका आलोचनात्मक चेत भएका नेताहरू दलका प्रमुखबाट पछारिएका छन् ।

नेतृत्वलाई प्रश्न उठाएबापत, अनि दलीय संगठनबाहेक समाजमा विभिन्न प्रभाव राखे पनि आन्तरिक पार्टी जीवनबाट किनारा लगाइएका ती पात्रहरूमध्ये केही नाममा पर्छन्– घनश्याम भूसाल, मिनेन्द्र रिजाल, भीम रावल, स्वर्णिम वाग्ले, हरिबोल गजुरेल आदि ।

स्वाभाविक रूपमा आकलन गर्न सकिन्छ– पार्टीको शीर्ष तहमा रहेका र चर्चाको केन्द्रमा रहेका यी पात्रहरू त नेतृत्वको यसरी कोपभाजनमा परेका छन् भने अरुको अवस्था कस्तो होला ? खासगरी नेतृत्व केन्द्रीकरणमार्फत लोकतन्त्रको बन्ध्याकरण कम्युनिष्ट पार्टीभित्र आम अभ्यास हो । ‘यस म्यान’हरूको प्रशंसा मात्रै मन पराउने तर आलोचना मन नपराउने यस्तो अभ्यासलाई न्यूनीकरण गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई जीवित राख्ने कम्युनिष्ट नेताहरूले प्रतिबद्धता जनाउँदै आएका छन् । तर, कम्युनिष्ट पार्टीभित्रको यस्तो अभ्यास कांग्रेसभित्र पनि देखिन थालेको छ ।

दुई वर्षअघिसम्मका दृश्यहरू सम्झौं । सरकार, संसद र सडकसमेतमा एमालेको ‘कब्जा’ थियो । एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सबैखाले प्रश्न, आरोपहरू एक्लै सामना गर्थे । अरुलाई तिखो भाषामा छेडखानी गर्थे । प्रतिपक्षीहरूको अगुवा पार्टी नेपाली कांग्रेस भने करिब निस्क्रिय हालतमा थियो ।

यस्तो निस्क्रियताका बीच संसदमा, अनि सडकमा अक्सर दुई नेताहरूको आवाज मुखर हुन्थ्यो – मिनेन्द्र रिजाल र गगन थापा । आम चर्चा हुनेगर्थ्यो – कम्तिमा यी दुई नेता छन्, जसले कांग्रेस र प्रतिपक्ष अझै जीवित छ भन्ने पारेका छन् ।

मिनेन्द्रले ओलीलाई मात्रै प्रश्न उठाउँदैनथे । १४ औं महाधिवेशनका बेला उनकै सभापति शेरबहादुर देउवाको कार्यक्षमतामाथि पनि प्रश्न उठाए । देउवाको विपरीत धारबाट उनले महामन्त्रीमा उम्मेदवारी दिए । त्यतिबेला उनी देउवा क्याबिनेटमा रक्षामन्त्री पनि थिए । पार्टी महाधिवेशनमा हारेसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

देउवाले उनलाई न केन्द्रीय समितिमा तान्न आवश्यक सम्झे, न आम चुनावमा टिकट दिन । जबकि, देशभरि अघिल्लो चुनावमा कांग्रेसले विशाल वाम गठबन्धनका अघिल्तिर कमजोर प्रदर्शन गर्दा प्रत्यक्ष चुनाव जित्ने थोरै नेतामध्ये मिनेन्द्र रिजाल एक थिए ।

चुनाव लड्न टिकट नपाएसँगै रिजालले देउवाले आफूमाथि प्रश्न उठाएकैले प्रतिशोध साँध्ने देउवाको विवेक परीक्षण भएको टिप्पणी गरेका छन् । उनले भने, ‘मैले टिकट पाउने–नपाउने भन्दा कांग्रेसमा नेतृत्वमाथि औंला उठाउने अधिकार नहोला कि भन्ने चिन्ता बढेको छ ।’

आर्थिक मामिलामा अन्तर्राष्ट्रिय क्षेत्रमा बसेर नाम कमाएका स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट आसन्न चुनावमा उठ्ने घोषणा गरेका थिए । श्रीलंकाको पछिल्लो आर्थिक संकट एउटा दृष्टान्त थियो, जहाँ समस्या सुल्झाउने उपायहरूको खोजी गर्न उनलाई समेत डाकिएको थियो ।

कांग्रेस महामन्त्री गगन थापाले चुनावपछि कांग्रेसको तर्फबाट सरकार बन्ने अवस्था आउँदा संसदीय दल र सरकारको नेतृत्व दाबी गरिरहँदा वाग्लेलाई अर्थमन्त्रीका रूपमा अघि सार्ने योजना बनाएका थिए । सोही बमोजिम वाग्लेले टिकटका लागि चितवन, गोरखा र काठमाडौंका विभिन्न क्षेत्रहरूको सम्भावित विकल्पबारे छलफल पनि गरेका थिए ।

यसअघि देउवा प्रधानमन्त्री छँदै राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत बन्न पाएका वाग्ले खासमा तत्कालीन सभापति सुशील कोइराला पक्षका निकटस्थ थिए । राजनीतिक नियुक्तिसँगै देउवा सरकारको विश्वास जित्न खोजे पनि वाग्ले पार्टी संस्थापनको नजिक हुन सकेनन् । आइतबार मनोनयनमा नपरेका समाचारहरूमा आएका अधिकांश प्रतिक्रिया हेर्दा वाग्ले यो चुनावका प्रतिक्षित अनुहार थिए भनी आकलन गर्न सकिन्छ ।

उस्तै हालत रह्यो नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलको । माओवादीले सशस्त्र युद्ध थाल्नुअगावै जनमोर्चाको संयोजक रहिसकेका गजुरेल पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईकै समकालीन नेता हुन् । अझ जनमोर्चामा त भट्टराई भन्दा उनी सिनियर नेता थिए ।

पछिल्लो समय एमाले र माओवादी मिलेर नेकपा बन्दा गजुरेल यसका वार्ताकारमध्ये एक थिए । दुई पार्टी पूर्ववत् अवस्थामा फर्किंदा गजुरेल एमालेमा रहने कतिपयको आशंकाका बावजुद उनी माओवादी केन्द्रमै फर्किए ।

अनलाइनखबरसँग कुरा गर्दै गजुरेलले हिजो शनिबार रातिसम्म अध्यक्ष प्रचण्डले टिकटको बारेमा सकारात्मक रहेको बताए पनि आइतबार आफू विस्मित हुन पुगेको प्रतिक्रिया दिए । ‘उहाँ (प्रचण्ड) ले त मलाई नै टिकट मिल्छ भन्नुभएको थियो हिजो रातिसम्म,’ उनले भने, ‘म पनि टिकट पाइनेमा ढुक्क नै थिएँ, तर राजनीतिमा यस्तो हुँदोरहेछ ।’

माओवादी स्रोतका अनुसार अध्यक्ष प्रचण्डसँग कतिपय विषयमा फरक मत राख्ने गरेकैले गजुरेलको ‘तेजोबध’ गरिएको हो । कृष्णबहादुर महरा, अग्नि सापकोटालगायत नेताले टिकट नलिएको भए पनि गजुरेलले भने टिकटको अपेक्षा गरेको पार्टी सूत्र बताउँछ । ‘अहिले पार्टीमा जनयुद्धकालभन्दा कडा केन्द्रीकरण छ, अध्यक्षले जे चाहनुभयो त्यसैलाई पार्टी निर्णय मान्नुपर्ने अवस्था छ, कसैले बोल्न सक्ने अवस्था छैन,’ ती नेताले भने ।

यस्तै अवस्था कुनैबेलाका चर्चित विद्यार्थी नेता लेखनाथ न्यौपानेको रह्यो । युद्धकालमै पार्टीका प्रभावशाली युवा नेताको छवि बनाएका न्यौपानेलाई हालसम्म प्रतिनिधिसभाको टिकट भने आकाशको फल बन्न पुगेको छ । अध्यक्ष प्रचण्डको चिन्तन, जीवनशैलीबारे निरन्तर आलोचना गर्ने, प्रश्न उठाउने न्यौपाने निरन्तर कोपभाजनमा पर्दै आएका छन् ।

र, यी सबैलाई जित्दै यो पटक एमालेमा अध्यक्ष केपी ओलीको नेतृत्व केन्द्रीकरण अत्यधिक देखिएको छ । आफूमाथि प्रश्न उठाउने, आलोचना गर्ने, प्रतिष्पर्धामा आमनेसामने हुन चाहने नेतालाई उनले करिअर नै नरहने गरी किनारीकृत गरिदिएका छन् । आफूसँग पछिल्लो महाधिवेशनमा अध्यक्षमा प्रत्याशी बनेका भीम रावललाई उनले सधैं जित्दै आएको अछामबाट टिकट दिएनन् । जबकि, उनको मात्रै नाम जिल्लाबाट सर्वसम्मत सिफारिस भएको थियो ।

रावलजस्तै टिकट नपाउने नेता हुन् घनश्याम भूसाल । पार्टीमा निरन्तर लोकतान्त्रिकरण र सांगठनिक शुद्धीकरणको एजेन्डा उठाउँदै आएका भूसालले समेत एमालेबाट टिकट पाएनन् । उनले एमाले पार्टी नै अध्यक्ष ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको बताएका छन् ।

भर्खरै माओवादी तथा मधेसवादी दलहरूबाट एमाले छिरेका नेताहरूले धमाधम टिकट पाउँदै गर्दा ओलीले सिंगो जीवन पार्टीमै समर्पित गर्दै आएका नेता कार्यकर्तालाई भने छानीछानी पाखा लगाएका छन् । कतिसम्म भने राप्रपाका दुवै समूहहरूलाई उनले एमालेसँग तालमेल गर्न आमन्त्रण गरे । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्हबाटै चुनाव लड्न दिए । तर, रावल, भुसाल, योगेन्द्र शाही लगायत आफूसँग राय बझाउने नेताहरू भने ओलीको प्राथमिकतामा परेनन् ।

ओलीले टिकटमा बाहिर पारिदिएपछि भूसालले फेसबुकमार्फत एक सन्देश छाड्दै एमाले नै परित्याग गर्न पुगे । उनले लगत्तै लेखे, ‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावना समेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

कमल थापाले सूर्य चिह्नबाट लड्दैगर्दा एमालेबाट विगतमा सांसद जितेका, अनि पार्टीमा उच्च पदहरूमा बसेका नेता नै टिकटबाट वञ्चित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?