+
+

गोरखामा प्रचण्ड उम्मेदवार बन्न जाँदा देखिएका दुई रोचक दृश्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १३:१७

२४ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी मनोनयन दर्ता गर्न गोरखा पुग्दा केही रोचक दृश्यहरू देखिए । उम्मेदवारीपछि आयोजित कोणसभा गठबन्धनले नै संयुक्तरूपमा आयोजना र सञ्चालन गर्ने सल्लाह भयो । यसका लागि आइतबार बिहानै गठबन्धनको बैठक भयो ।

मन्तव्य राख्ने क्रममा मर्यादाक्रमदेखि अतिथि आसन ग्रहणसम्मका कुरा सहजरूपमा मिल्यो तर वक्ता छनौटमा सामान्य असमझदारी भयो ।

यी यावत घटनाक्रममध्ये दुई सन्दर्भ भने उल्लेखनीय रहे- नारायणकाजी श्रेष्ठले प्रचण्डको समर्थक बस्न गरेको मरिहत्ते र प्रचण्डले बाबुराम भट्टराई र कांग्रेसका सुरेन्द्र पाण्डेलाई कमरेड भनेर सम्बोधन गरेपछि भएको रमाइलो ।

आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रबाट मनोनयनपछि आयोजना हुने सभाको अध्यक्षता गर्ने र कांग्रेसका प्रतिनिधिबाट कार्यक्रम सञ्चालन हुने सहमति बन्यो । सोहीक्रममा कुन उम्मेदवारको प्रस्तावक र समर्थक को बस्ने भन्ने पनि छलफल भयो ।

गठबन्धन संस्कृतिलाई प्रवर्द्धन गर्न नेता सुरेन्द्रराज पाण्डेको समर्थक नारायणकाजी श्रेष्ठ बस्ने र कांग्रेसका सचिव किशोरजंग थापा प्रचण्डको समर्थक बस्ने सहमति भयो । त्यही अनुसार कागजातको तयारी पनि भयो ।

तर जब शीर्ष नेतासँग माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पुगे, उनले आफू प्रचण्डको नै समर्थक बस्न चाहेको इच्छा जाहेर गरे । तर निर्वाचन कार्यालयबाट लाभको पदमा रहेका मानिस प्रस्तावक/समर्थक बस्न नपाइने जवाफ आयो ।

श्रेष्ठले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई फोन लगाए । ‘किन मिल्दैन ?’ भन्दै प्रश्न गरे र प्रचण्डको समर्थक बसिछाडे ।

मनोनयन दर्तापछि गोरखाको लक्ष्मीबजारमा आयोजित कोणसभालाई प्रचण्डले सम्बोधन गरे । सम्बोधनको क्रममा उनले डा. बाबुराम भट्टराई र कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई कमरेड भनेर सम्बोधन गरेपछि सभामा हाँसो र हुटिङ चल्यो ।

प्रचण्ड सम्बोधनको क्रममा आफू गोरखा आउनुको सन्दर्भ र बाबुरामसँगको एकताको महत्व प्रष्ट पार्दै थिए ।

‘शान्ति प्रक्रियापछि माओवादी देशकै सबैभन्दा शक्तिशाली पार्टी बन्यो जनताकै निर्वाचन र भोटबाट । समानुपातिक र समावेशिताको लागि हामी माओवादीले खासगरी त्यतिबेला बाबुराम भट्टराई र मैले जोड नगरेको भए यो समानुपातिक भन्ने निर्वाचन प्रणाली संविधान र अन्तरिम संविधानमा हुने थिएन,’ उनले भने ।

प्रचण्डले बाबुरामसँग मिलेर गणतन्त्र स्थापनाको आन्दोलन सफल बनाउन सकेको तर विभाजनपछि प्रतिक्रान्तिले टाउको उठाउन खोजेको र झण्डै प्रतिगमन हुन खोजेको सन्दर्भ उल्लेख गरे ।

‘यो सबै प्रक्रियामा गोरखा जिल्लाको भूमिका र महत्व ठूलो त छँदैथियो  । आज म विशेष खुसी किन छु भने कमरेड … डा. बाबुराम भट्टराई, (सभामा हाँसो मच्चियो)अहिले कमरेड भन्ने बेला अझै आइपुगेको छैन कि ?,’ बाबुरामतिर हेर्दै हाँसे प्रचण्ड ।

बाबुरामले भनिहाले, ‘होइन सोसलिस्टहरूलाई कमरेड भन्छन् ।’

‘ल धन्यवाद । कमरेड बाबुराम । आजदेखि उहाँले मलाई स्वीकृति दिनुभयो । कमरेड बाबुराम भट्टराई । हामी फेरि एकताबद्ध हुने प्रक्रियामा अगाडि बढ्यौं,’ प्रचण्डले भने, ‘म विशेष खुसी किन छु भने आज गोरखाबाट नै त्यो एकता प्रक्रियाको घोषणा गर्ने मौका मिल्यो । त्यसको लागि म कमरेड बाबुराम भट्टराई र सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई र धन्यवाद भन्न चाहन्छु । यो धेरै खुसीको कुरा हो ।’

सम्बोधनको क्रममा प्रचण्डले झुक्किएर कांग्रेस नेता पाण्डेलाई पनि कमरेड भनिहाले ।

‘अहिले त सानो जस्तो देखिएको होला । मलाई लाग्छ यो आजको दिनबाट नेपालमा एउटा अर्को नयाँ क्रान्ति आर्थिक क्रान्तिको सुरुवात गर्ने दिन हुनेछ भन्ने मैले विश्वास लिएको छु र गोरखाली जनतालाई साक्षी राखेर यहीँबाट गणतन्त्रको क्रान्ति सुरु भएको थियो, अब आर्थिक क्रान्तिको सुरुवात पनि गोरखाबाट यही टिमले गर्नेछ ।’

प्रचण्डले अगाडि थपे, ‘… यही प्रतिबद्धता कमरेड बाबुराम भट्टराई र कमरेड नारायणकाजी श्रेष्ठले व्यक्त गर्नुभएको छ र कमरेड .. सरी .. सुरेन्द्रराज पाण्डे, (मञ्चमा पुनः हाँसो र हुटिङ चल्यो) अब अलिअलि कमरेड त उहाँ पनि भइसक्नुभयो …(हाँसो र ताली)  । अब उहाँ पनि कमरेड हुने प्रक्रियामै हुनुहुन्छ । त्यसकारण हामीले यहाँ जे प्रतिबद्धता गरेका छौं, यो सामान्य कुरा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?