+
+

रौतहटबाट २०६ जनाको उम्मेदवारी, कुन क्षेत्रमा को को ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १३:४०

२४ असोज, रौतहट । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि रौतहटका चार निर्वाचन क्षेत्रमा कुल २०६ जनाको मनोनयन दर्ता भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रौतहटको चार प्रतिनिधि सभा सदस्यका लागि ६६ जनाको मनोनयन दर्ता भएको छ ।

यसैगरी ८ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा १४० जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गर्नेमध्ये अधिकांश स्वतन्त्र उम्मेदवार छन् ।

कुन क्षेत्रमा कति उम्मेदवारी ?

क्षेत्र नं. १

रौतहटको क्षेत्र नं १ मा यसपटक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मनोनयन दर्ता गराएका छन । यसै क्षेत्रबाट नेकपा एमालेले गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्तालाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नं. १ मा ७ वटा दलका उम्मेदवार र ९ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यसै गरी प्रदेश सभा १ (क) बाट ३१ जना र (ख) बाट १८ जना गरी जम्मा ६५ जना उम्मेदवार यस क्षेत्रमा छन् ।

क्षेत्र नं. २

पूर्वमन्त्री मोहम्मद अफताब आलमले चुनाव जित्दै आएको यो क्षेत्रमा नेपाली कांग्रेसले यस वर्ष उनका छोरा फिरदोस आलमलाई उम्मेदवार बनाएको छ ।

राजपुर बमकाण्डमा संलग्नताको आरोपमा हाल पुर्पक्षका लागि थुनामा रहेका आफताबले यस पटक आफ्ना जेठा छोरालाई प्रतिनिधि सभाको उम्मेदवार बनाएका छन् । उनलाई सत्तारुढ गठबन्धनको साथ छ ।

त्यस्तै नेकपा एमाले र जनता समाजवादी पार्टी गठबन्धनबाट जसपाका शैलेन्द्र साह उम्मेदवार छन् । एमालेका नेता किरण साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा १३ जना उम्मेदवार छन् । प्रदेश सभा १ (क) बाट १३ जना र (ख) बाट १५ जना गरी कुल ४१ ले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन ।

क्षेत्र नं. ३

नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्वमन्त्री प्रभु साहले रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा एमालेले उनलाई आधिकारिक उम्मेदवार बनाए पनि उनले पार्टीको टिकट नलिएर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

सत्तारुढ गठबन्धनबाट भने नेकपा माओवादीका रवीन्द्र पटेल उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका ओमप्रकाश जयसवालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा १९ जनाको मनोनयन दर्ता भएको छ भने प्रदेश सभा १ (क) बाट १७ जना र (ख) बाट ९ जना गरी कुल ४५ जनाको उम्मेदवारी परेको छ ।

क्षेत्र नं. ४

रौतहटको क्षेत्र नं. ४ मा नेपालीका काग्रेंसका देवप्रसाद तिमल्सिनाले गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेका तर्फबाट उद्धव रेग्मीले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा सदस्यमा १० वटा दलबाट कुल १८ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश सभा १ (क) बाट १३ जना र (ख) बाट २४ जना गरी यस क्षेत्रबाट कुल ५५ जनाको मनोनयन दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?