+
+

ओखलढुंगामा यज्ञराज र रामहरिको पेचिलो प्रतिस्पर्धा, माओवादी निर्णायक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते २०:५६

२५ असोज, काठमाडौं । ओखलढुंगामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका रामहरि खतिवडा र विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका एमालेका यज्ञराज सुनुवार चिरपरिचित प्रतिद्वन्द्वी हुन् । अघिल्लो निर्वाचनमा खतिवडा थोरै मतान्तरले सुनुवारसँग पराजित भएका थिए ।

अहिले पुनः प्रतिस्पर्धामा उत्रिएका दुवै नेताका लागि माओवादीको भूमिकाले अर्थ राख्ने देखिन्छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले वाम गठबन्धनका कारण सुनुवारलाई सहयोग गरेको थियो । यसपटक सत्ता गठबन्धन बनाएर खतिवडालाई सहयोग गर्दैछ ।

२०६४ सालमा सम्पन्न पहिलो संविधानसभा चुनावमा माओवादीले ओखलढुंगाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेलाई पराजित गरेको थियो । तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादीले ती दुवै क्षेत्र गुमाएन मात्रै आफ्नो भोटसमेत व्यापक घटायो । तर, त्यसपछिका निर्वाचनमा भने माओवादी थोरै मतसहित कहिले एमाले, त कहिले कांग्रेसको सहयोगी भएर पनि निर्णायक छ ।

पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका खतिवडाले टिकट पाएनन् भने एमालेका सुनुवार माओवादी उम्मेदवारसँग पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवारलाई पराजित गरेर सुनुवारले निर्वाचन क्षेत्र नम्बर १ र खतिवडाले निर्वाचन क्षेत्र नम्बर २ मा जिते । उक्त चुनावमा सुनुवारले प्रतिस्पर्धी भन्दा करिब ३ हजार र खतिवडाले प्रतिस्पर्धी भन्दा करिब ५ हजार बढी मत ल्याएर विजयी भएका थिए ।

ओखलढुंगाको चुनावी राजनीतिमा थोरै मात्रै मतान्तरले अगाडि–पछाडि हुने खतिवडा र सुनुवारका लागि बाह्य सहयोगसँग दलभित्रको आन्तरिक गुट राजनीतिले पनि उत्तिकै अर्थ राख्छ ।

२०७४ सालको निर्वाचनका समयमा ओखलढुंगामा एउटा मात्रै निर्वाचन क्षेत्र कायम भयो । साथै, एमाले र माओवादी केन्द्रले पार्टी एकताको घोषणा गरेर वाम गठबन्धन बनाए । दोस्रो संविधानसभा निर्वाचनमा फरक–फरक निर्वाचन क्षेत्रबाट चुनाव जितेका खतिवडा र सुनुवार एउटै निर्वाचन क्षेत्र भएपछि एकअर्काका प्रतिस्पर्धी भए ।

त्यतिबेला तत्कालीन वामगठबन्धनका उम्मेदवार सुनुवारले कांग्रेसका खतिवडालाई ५ हजार २२३ मतले पराजित गरेका थिए । त्यतिबेला माओवादी केन्द्रको सहयोग पाएका सुनुवारले ३२ हजार ५८० मत ल्याएका थिए भने खतिवडा एक्लैले २७ हजार ३२७ मत ल्याएका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाको मत परिणाम हेर्दा कांग्रेस बलियो देखिन्छ । साथै, योपटक  माओवादीसँग गठबन्धन पनि गरेकाले वडाको भोटमा कांग्रेस उम्मेदवार अगाडि रहेको देखाउँछ । स्थानीय निर्वाचनमा वडा तहमा कांग्रेसको सबभन्दा बढी ३२ हजार २८८ मत, दोस्रोमा एमालेको २९ हजार ५९१ मत छ भने तेस्रोमा माओवादी केन्द्रको ६ हजार ९६१ मत आएको थियो । त्यसपछि जसपाको २ हजार १९४ मत, एकीकृत समाजवादीको ५२१ र राप्रपा नेपालको १४६ मत आएको थियो । ।

एकीकृत समाजवादीले छुट्टै उम्मेदवार उठाएकाले खतिवडालाई सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रको मत मात्रै पर्ने देखिन्छ । एमालेलाई भने जसपाको मत पनि सहयोगी बन्नेछ । तर कांग्रेसको मत एमालेको भन्दा धेरै र माओवादी केन्द्रको मत जसपाको भन्दा धेरै छ ।

दुवैलाई आन्तरिक असहयोगको डर

ओखलढुंगाको चुनावी राजनीतिमा थोरै मात्रै मतान्तरले अगाडि–पछाडि हुने खतिवडा र सुनुवारका लागि बाह्य सहयोगसँग दलभित्रको आन्तरिक गुट राजनीतिले पनि उत्तिकै अर्थ राख्छ ।

सुनुवार एमाले विभाजन हुनुपूर्व पार्टीभित्र माधव नेपालको समूहमा थिए । पछि नेपालले पार्टी विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि उनी एमालेमा नै बसे । तर, संसद् विघटनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बेलामा भने उनी संसदमा तटस्थ बसे । त्यसले गर्दा सुरूमा एमाले नेतृत्व उनीसँग असन्तुष्ट भए पनि अहिले उनैलाई टिकट दिएर पठाएको छ । पार्टीको नेतृत्व उनीसँग कन्भिन्स भए पनि स्थानीयस्तरमा भने पुरानो गुटगत मानसिकताको असर उनलाई पर्ने अनुमान गरिएको छ । ओलीलाई असहयोग गरेको व्यक्तिलाई टिकट दिएको भनेर एकाध असन्तुष्टि समेत ओखलढुंगामा देखिएको छ ।

त्यस्तै खतिवडा कांग्रेसमा सभापति शेरबहादुर देउवा समूहका हुन् । टिकट वितरणमा असन्तुष्ट रहेको शेखर कोइराला पक्षले उनलाई असहयोग गर्न सक्ने सम्भावना रहेको जिल्लास्तरका नेताहरू बताउँछन् ।

ओखलढुंगामा प्रदेश सभाका दुईवटा क्षेत्रमध्ये संघ र एउटा प्रदेशसभा कांग्रेसको भागमा परेको छ भने एउटा प्रदेशसभा माओवादी केन्द्रले पाएको छ । कांग्रेसले टिकट पाएको प्रदेशमा देउवा पक्षको बलियो पकड छ भने माओवादीले टिकट पाएको प्रदेशसभामा शेखर पक्षको राम्रो अवस्था छ । देउवा पक्ष बलियो भएको ठाउँमा मात्रै टिकट राखेको र आफूलाई सहज हुने क्षेत्र माओवादी केन्द्रलाई दिएको भनेर शेखर पक्ष असन्तुष्ट छ ।

यसका साथै सत्ता गठबन्धनको दल एकीकृत समाजवादीले पनि ओखलढुंगामा उम्मेदवारी दिएको छ । मत संख्याका हिसाबले धेरै नभए पनि एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी उठाएपछि त्यसले खतिवडालाई अप्ठेरो पर्न सक्छ ।

सुनुवारलाई भने ओखलढुंगामा उल्लेख्य रहेको जनजाति मत पर्ने सम्भावना रहेको आकलन गरिएको छ । ओखलढुंगामा जनजातिको बाक्लो उपस्थिति छ भने यज्ञराज आफैं पनि जनजाति समुदायबाट प्रतिनिधित्व गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?