
२५ असोज, सुर्खेत । २०७४ को निर्वाचनमा दैलेखका अमरबहादुर थापा र रविन्द्रराज शर्मा चुनावी अभियानमा सँगै थिए । उनीहरू मतदाताबीच सँगसँगै घरदैलो अभियानमा हिँडे, भोट मागे । शर्मा दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने थापा सोही क्षेत्रको ‘ख’ बाट प्रदेश सभा सदस्यको । वाम गठबन्धनका उम्मेद्वार उनीहरु दुबै विजयी पनि बने ।
शर्मा र थापा यसरी चुनावमा लड्ने क्रम तीन दशकदेखि जारी थियो । २०४८ सालदेखि नेकपा एमालेमा आवद्ध शर्मा र थापा झण्डै २८ वर्ष एउटै पार्टी कमिटीमा रहेर काम गरे ।
२०४८ देखि २०५१ सम्म एमाले दैलेख जिल्ला सचिवको जिम्मेवारी सम्हालेका शर्मा २०५१ को संसदीय चुनावमा उम्मेद्वार बने तर जित्न सकेनन् । त्यो बेला थापा पार्टीको जिल्ला उपसचिव थिए ।
२०५४ मा थापा पार्टी सचिव बने । २०६४ मा पहिलो संविधान सभा निर्वाचनमा उम्मेद्वार बनेका थापा नेपाली कांग्रेसका गणेशबहादुर खड्कासँग पराजित भए । २०६५–२०७० सम्म पार्टीको जिल्ला अध्यक्षमा रहेका थापा २०७० को दोस्रो संविधान सभा निवाचनमा भने निर्वाचित भए ।
तर यसपटक उनीहरूको सहकार्य मात्र टुटेको छैन, एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष समेत रहेका थापा सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका छन् भने शर्मा एमालेका उम्मेद्वार हुन् ।
दैलेख एमालेको बलियो पकट भएको क्षेत्र मानिन्छ । जनाधारका हिसाबले यो क्षेत्रमा एकीकृत समाजवादी कमजोर भए पनि थापाको व्यक्तिगत प्रभाव राम्रो छ र कांग्रेस र माओवादी केन्द्रको साथ पाएका छन् । दुई पूर्व सहकर्मीको चुनावी भिडन्त रोचक हुने देखिन्छ ।
फेरिएको शक्ति सन्तुलन
दैलैख–१ मा शक्ति सन्तुलन समेत फेरिएको छ । २०७४ मा शर्माले वाम गठबन्धनको अर्को घटक माओवादीको समर्थन पाएको थियो । शर्मा २३ हजार ७७३ मतसहित विजयी भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार दीपकुमार शाहीले भने १७ हजार २ सय ३ मत प्राप्त गरेका थिए । दैलेखमा कांग्रेस र राप्रपाको गठबन्धन थियो ।
अमर थापाले २०७४ मा १२ हजार ५६७ मत सहित प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए । उनले कांग्रेसका जगतजंग थापालाई २ हजार बढी मतान्तरले पराजित गरेका थिए ।
४ मंसिरको चुनावमा काँग्रेस र माओवादी केन्द्र साथ थापालाई छ । थापा स्वयम् तत्कालिन एमालेको प्रभावशाली नेता भएकाले एमालेकै भोट तान्ने उनको रणनीति छ ।
एमाले उम्मेदवार शर्माले भने २०७४ को सहयात्रीहरु गुमाएका छन् । पार्टी फुटको प्रत्यक्ष असर स्थानिय निर्वाचनमा देखिएको छ । थर थापा र शर्मा दुवै आफूले जित्ने दाबी गर्छन् ।
स्थानीय चुनावको मतभार
३० वैशादमा भएको स्थानीय चुनावको मत हेर्दा यो क्षेत्रमा सत्तारूढ गठबन्धन बलियो देखिन्छ । उक्त निर्वाचनमा सबै वडामा पाएको दलगत मतभारमा एमाले कांग्रेस भन्दा कमजोर देखिन्छ । कांग्रेसले दैलेख क्षेत्र नं. १ मा सबै वडाहरूमा २० हजार ३४४ मत प्राप्त गर्यो । एमालेले १९ हजार ६१ प्राप्त गरेर दोस्रो स्थानमा छ ।
एकीकृत समाजवादीले ५ हजार ५०९ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले ३ हजार १७५ मत प्राप्त गरेको थियो । त्यस्तै राप्रपाको ९७६ र स्वतन्त्र उम्मेदवारको ९०४ मत देखिन्छ ।
सत्तारूढ गठबन्धनको मत जोड्दा २९ हजार ४८ पुग्छ । एमालेको भने १९ हजार ६१ छ ।
प्रतिक्रिया 4