+
+

महोत्तरी–३ : पूर्वसहकर्मी नै उम्मेदवार बनेपछि महन्थ ठाकुर कति सुरक्षित ?

हालै भएको स्थानीय तहको निर्वाचनको अंकगणितलाई नियाल्दा दलहरुमा जसपा मजबुत देखिए पनि सत्तारुढ गठबन्धनको मतका कारण महन्थ ठाकुर अघि देखिन्छन् ।

श्रवण देव श्रवण देव
२०७९ असोज २५ गते २०:२८

२५ असोज, महोत्तरी । ०७४ को चुनावमा महोत्तरी–३ बाट महन्थ ठाकुरले चुनाव जित्दै गर्दा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष थिए ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता भएसँगै उनीहरु जनता समाजवादी पार्टीमा सँगै रहे । त्यसबेला ठाकुर २७ हजार ५ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता विजयकुमार चौधरीले ८ हजार ९७७ मत ल्याएका थिए ।

अध्यक्ष ठाकुर यस पटक पनि यही क्षेत्रबाट उम्मेदबार बनेका छन् । अघिल्लो चुनावमा तेब्बरभन्दा बढी मतले निर्वाचित ठाकुरलाई त्यतिबेला तत्कालिन संघीय समाजवादी फोरम नेपाल (अहिलेको जसपा) र नेपाली कांग्रेसको पनि समर्थन थियो ।

उनका निकटतम प्रतिद्वन्द्वी विजयलाई भने नेकपा माओवादी केन्द्रको सहयोग थियो । अहिले महन्थ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष बनेका छन् । कांग्रेससँग मिलेर उनले उम्मेदवारी दिँदै गर्दा जसपा भने एमालेसँग मिलेर ठाकुरलाई टक्कर दिने तयारीमा छ ।

महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदबार बन्ने आकांक्षासहित दीपेन्द्र झा मधेश प्रदेशको मुख्य न्यायाधिबक्ता पदबाट राजीनामा दिएर जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका थिए । जसपाले नेकपा एमालेसँग तालमेल गरेपछि झा प्रदेशका उम्मेदवार बनेका छन् । जसपा–एमाले गठबन्धनबाट जसपाकै हरिनारायण यादवले प्रतिनिधिसभाको टिकट पाएका छन् । अर्थात् विगतका सहयात्री एक अर्काविरुद्ध लड्दैछन् यसपालि ।

हुन त ठाकुरलाई नेपाली कांग्रेसले यस पटक पनि समर्थन गरेको छ भने माओवादी र एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीको सहयोग पनि पाउने निश्चित छ ।

हालै भएको स्थानीय तहको निर्वाचनको अंकगणितलाई नियाल्दा दलहरुमा जसपा मजबुत देखिए पनि सत्तारुढ गठबन्धनको मतमा ठाकुर अघि देखिन्छन् । स्थानीय तहको चुनावमा वडाअध्यक्षहरुले पाएको मतलाई हेर्ने हो भने जसपा मजबुत देखिन्छ ।

जसपाले १४ हजार ३५७, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १२ हजार ७३५, नेकपा एमालेले १० हजार ८२०, नेपाली कांग्रेसले ९ हजार ४३, नेकपा माओवादी केन्द्रले ५ हजार १९५ र नेकपा एकीकृत समाजवादीले २ हजार ५७० मत पाएको थियो ।

यो अंकगणितलाई हेर्ने हो भने ठाकुर मजबुत देखिन्छन् ।

ठाकुरको दल लोसपा, कांग्रेस, माओवादी र एकीकृत नेकपा समाजवादीको मत जोड्दा २९ हजार ५४३ हुन्छ भने जसपा र एमालेको मत हेर्दा २५ हजार १७७ मात्रै पुग्छ । तर स्थानीय तहको पालिकाको परिणामलाई हेर्ने हो भने यस क्षेत्रका चार पालिकामध्ये ३ वटामा जसपा र एउटामा मात्रै लोसपाले जितेको छ । मटिहानी नगरपालिकामा लोसपाले जित्दा जलेश्वर नगरपालिका, पिपरा गाउँपालिका र एकडारा गाउँपालिकामा जसपाले जित हात पारेको छ ।

तर ठाकुरलाई उनकै लामो समयदेखिका सहकर्मी विषेशचन्द्र लालको उपस्थितिले चुनौती थपिदिएको छ ।

०७४ को चुनाव ठाकुर यस क्षेत्रबाट लड्दा सहयोद्धाको रुपमा थिए वृषेशचन्द्र लाल । तत्कालिन राजपाका केन्द्रीय नेता रहेका लाल भने यस पटक ठाकुरविरुद्ध नै उम्मेदबारी दिएका छन् । लालले आफ्नै नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट मनोनयन पत्र दर्ता गराएका छन् । उनी यतिबेला ठाकुरलाई मधेश आन्दोलनप्रति धोका दिने व्यक्तिका रुपमा अर्थ्याउँछन् ।

२०२८ सालदेखि नै ठाकुर र लाल नेपाली कांग्रेसको राजनीतिबाट चिनजान भएका र एकअर्कालाई सहयोग गर्ने नेता हुन् । ठाकुर नेपाली कांग्रेसबाट विद्रोह गरी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बनाउँदा लाल पनि सँगै थिए ।

ठाकुरको अध्यक्षतामा नौ सदस्यीय तमलोपा गठन हुँदा लाल समेत थिए । त्यसपछि तमलोपाबाट राजपा बन्दा, राजपाबाट जसपा र जसपाबाट अलग भएर लोसपा बन्दासम्म सँगै रहेका लाल पछिल्लो समयमा आफ्नै नेतृत्वमा पुरानो तमलोपालाई ब्युँताएका छन् ।

उनको दल स्थानीय तहको निर्वाचनमा पनि सहभागी हुँदै महोत्तरीको महोत्तरी गाउँपालिकामा जित हात पारेको छ । यद्यपी यो पालिका क्षेत्र नम्बर २ मा छ । क्षेत्र नम्बर ३ मा तराई मधेश लोकतान्त्रिक पार्टीका वडा अध्यक्षले भने ७९५ मत पाएका थिए ।

तथापि लाल उत्साहित छन् । र, चुनाव जित्नेमा ढुक्क छन् । भन्छन्, ‘जित्ने विश्वासले नै उम्मेदवारी दिएको छु । जनताले मलाई जिताउनेमा विश्वस्त छु ।’

मधेश र मधेशीले अहिलेसम्म अधिकार नपाएको भन्दै अधिकार प्राप्ति गराउन जनताको समर्थन रहने उनी बताउँछन् ।

ठाकुरसँग अलग भएको आफ्नो बाध्यता रहेको बताउँछन् लाल । ‘हामी सँगसँगै थियौं अहिले पनि कुनै व्यक्तिगत विवाद छैन’, उनले भने, ‘जुन सिद्धान्त र विचारमा थियौं, त्यसलाई छाडिदिएपछि राजनीतिक रुपमा अलग भएका हौं । व्यक्तिगत लडाई छैन राजनीतिक लडाई हो । अहिले पनि उहाँसँगै राम्रो सम्बन्ध छ ।’

विगतको व्यवहार, मधेश आन्दोलनमा दिएको सहादत्तलाई व्यापारीकरण गरेको सिद्धान्त, विचारबाट निर्देशित नभई सत्ता र कुर्सीबाट मात्रै निर्देशित देखेपछि आफू अलग भएको उनी बताउँछन् । ‘म र मेरो पार्टी अधिकारका लागि मात्रै काम गर्छ त्यहीं भएर निर्वाचन लडेका हौं र जनताले जिताउनेमा आशावादी छु’ उनी भन्छन् ।

लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साह भने बृषेशचन्द्र लालले केही मत काटेपनि ठाकुरलाई ठूलो प्रभाव नपार्ने बताउँछन् । ‘उहाँ (वृषेशचन्द्र लाल) ले केही मत काट्नुहुन्छ । तर, त्यसले अध्यक्षज्यूलाई ठूलो प्रभाव पार्दैन’ साहले भने ।

विगतका सहयोगी दीपेन्द्र झा पनि अर्को गठबन्धनमा

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको आकांक्षी थिए मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा । उनी १८ भदौमा पदबाट राजिनामा दिएर सोही दिन जसपा प्रवेश गरेका थिए । झा तिनै व्यक्ति हुन् जो २०७४ को निर्वाचनमा लोसपा अध्यक्ष ठाकुरलाई सहयोग गरेका थिए । तर यस पटक उनको साथ जसपाका उम्मेदवार हरिनारायण यादवलाई छ । यादव प्रतिनिधिसभाको उम्मेदवार बन्दा झा ३ (क) बाट प्रदेश सभाका उम्मेदवार छन् ।

झा समेतको सहयोग पाएपछि जसपाका प्रतिनिधि सभा उम्मेदबार यादव आफू जित्नेमा पुरै विश्वस्त छन् । ‘जनताको चाहना अनुसार आफूले उम्मेदवारी दिएको छु’ उनी भन्छन्, ‘महन्थ ठाकुरजीलाई विगत निर्वाचनमा मैले नै छोडिदिएको थिएँ । बुढो हुँ एक पटक छोडिदिनुस् भन्दा छाडेको थिएँ ।’

अन्तिम पटक उहाँको कहिले पनि समाप्त नहुने भन्दै उनले जनताले आफूलाई पूर्ण रुपले साथ र सहयोग गर्ने विश्वास व्यक्त गर्छन् ।

यद्यपि लोसपा पार्टी नेतृत्व भने ठाकुर नै जित्नेमा विश्वस्त छन् । लोसपा जिल्ला अध्यक्ष साह यो क्षेत्रमा पार्टी मजबुत भएकाले आफ्ना अध्यक्ष जित्ने दावी गर्छन् ।

दुबै पार्टी (जसपा र लोसपा) मिलेर चुनाव जित्दा मधेशमा धेरै सिट ल्याउन सकिने भएपनि अहिले जसपा नै घाटामा जाने उनको दावी छ । ‘हामी ५ दलीय गठबन्धनमा छौं, जसपा एमालेसँगको गठबन्धनमा छ’ उनी भन्छन्, ‘हाम्रो पार्टी मधेशमा राम्रो परिणाम ल्याउँछ ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?