
News Summary
Generated by OK AI. Editorially reviewed.- महन्थ ठाकुरले २६ मंसिर २०६४ मा नेपाली कांग्रेस छोडेर मधेश केन्द्रित तराई-मधेश लोकतान्त्रिक पार्टी गठन गरेका थिए।
- ठाकुर नेतृत्वको लोसपा गठन भए पनि शीर्ष नेताहरूले पार्टी छोड्दै गएका छन् र महाधिवेशनको तयारी अझै पूरा भएको छैन।
- महन्थ ठाकुरलाई छोडेर राजेन्द्र महतो र अनिल झा लगायतका नेताहरूले नयाँ दल गठन गरेका छन् र लोसपाको प्रभाव घट्दै गएको छ।
३० साउन, काठमाडौं । नेपाली कांग्रेस परित्याग गरी तराई-मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गर्दा महन्थ ठाकुरलाई मधेशी जनताले आदर्श पात्रको रूपमा चित्रण गरेका थिए ।
मुलधारको राजनीतिबाट अलग हुने निर्णय गर्दै ठाकुरले मधेश केन्द्रित मुद्दामा लाग्ने प्रणसहित २६ मंसिर २०६४ मा कांग्रेस छोडेका थिए । कांग्रेस छोडेलगत्तै मधेश राजनीतिको रापतापबाट ठाकुरले तपलोपालाई बलियो शक्ति बनाए ।
तर, यो १८ वर्षको बीचमा उनको रापताप सेलाउँदै गएको छ । आफैंले जन्माएको दल तमलोपा पनि अहिले उनीसँग छैन ।
पार्टी गठन र एकीकरण गर्दै ठाकुरले हालसम्म चारवटा दल निर्माण गरिसकेका छन् । तपलोपा, राजपा, जसपा नेपाल हुँदै हाल लोसपाको नेतृत्वमा छन् । तमलोपा र लोसपामा पार्टी अध्यक्ष रहेका उनी राजपामा संयोजक बनेका थिए । जसपा नेपालमा दुई अध्यक्षमध्ये उनी एक बने ।
अहिले उनीसँग पुरानो शक्ति छैन । २०७८ सालमा लोकतान्त्रिक समाजवादी नेपाल गठन गर्ने बेला सारथि बनेका नेताहरूले उनलाई छोड्दै गएका छन् । पछिल्लो अवस्था यस्तो बनेको छ कि, दल गठन भएको चार वर्षपुग्दा समेत महाधिवशेनको तयारी गर्न सकेका छैनन् ।
जसले महन्थलाई छोडे
२०७४ सालमा राष्ट्रिय जनता पार्टी (राजपा) गठन हुँदा ६ दलले एकता गरेका थिए । महन्थ ठाकुर नेतृत्वको तराई-मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महिन्द्र राय यादव नेतृत्वको तराई-मधेश समाजवादी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झाको नेतृत्वको सद्भावना पार्टीको गठजोड भएको थियो । ठाकुरको ‘टावरिङ पर्सनालिटी’ भएको निष्कर्षसहित अन्य सबै दल उनलाई राजपाको संयोजक स्वीकार्न तयार भए ।
राजपासँग उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमको एकता गर्ने निर्णय भयो । एकीकृत दलको नामकरण ‘जनता समाजवादी नेपाल’ राखेर महन्थ ठाकुर र उपेन्द्र यादवबीच अध्यक्षात्मक प्रणाली लागु गरियो ।
तर, पार्टीभित्र विवाद बढ्दै जाँदा एकता दिगो हुन सकेन र विभाजन हुने अवस्थामा पुग्यो । जसपा नेपाल कुन पक्षको हुने भन्ने विवाद निर्वाचन आयोगमा पुग्यो । आयोगले केन्द्रीय सदस्यलाई लाइन लगाएर कुन पक्षमा उभिने भन्दै हस्ताक्षर गरायो । बहुमत केन्द्रीय सदस्य उपेन्द्र यादवको पक्षमा उभिएपछि जसपा नेपाल पार्टीको नेतृत्व उनैले लिए ।
महन्थ ठाकुर आफू आवद्ध पूर्व दलका चारजना शीर्ष नेताको बलमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गर्न कस्सिए । २ भदौ २०७८ मा निर्वाचन आयोगमा लोसपा दर्ता हुँदा ठाकुरका लागि दाहिना भएर राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारी उभिए । राजपाको बेलाका ६ जनाको अध्यक्ष मण्डलका महिन्द्रा राय यादव र राजकिशोर यादवले भने लोसपा गठनको बेला साथ दिएनन् ।
महन्थका लागि नयाँ दल गठन गर्न साथ दिने र पार्टी बरियतामा उनीपछि रहने शीर्ष तहका नेताहरूले लोसपा परित्याग गरेका छन् । महन्थपछि दोस्रो बरियतामा रहेका महतो र चौथो बरियतामा रहेका वरिष्ठ नेता अनिल झाले फरक दल गठन गरेका छन् ।
ठाकुरलाई छोडेर फरक दलतिर लाग्ने नेताहरूको सूची लामै छ । लोसपाका संस्थापक नेता बृषेशचन्द्र लाल, उपाध्यक्षहरू इकबाल अहमद साह, डा. विजय सिंह, कौशल सिंह, महासचिवद्वय केशव झा र डा. राजीव झा, नेताहरू चन्दा चौधरी, सुनिल रोहित, सन्तोष मेहता लगायतले पनि लोसपा छोडिसकेका छन् ।
लोसपा गठन भएको दुई वर्ष नपुग्दै वरिष्ठ नेताको पद छोडेर महतो नयाँ अभियानतिर लागे । महतोले १४ फागुन २०८० मा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका थिए । असोज २०८१ मा महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी गठन गरियो ।
पार्टी परित्याग गरेर अर्को दल गठन हुनुमा महतोले अध्यक्ष महन्थको अर्कमण्यतालाई कारण देखाएका थिए । पार्टी केन्द्रीय सदस्य विस्तार हुन नसक्नु, विभाग र समितिहरू गठन गर्न नसकेको आरोप महतो पक्षले अध्यक्ष ठाकुरमाथि लगाएको थियो । भ्रातृ सङ्गठन, प्रदेश, जिल्ला समितिले पूर्णता नपाएकोप्रति महतो पक्षले पटकपटक चासो देखाए पनि अध्यक्ष ठाकुरले सुनुवाइ नगरेको महतो पक्षको भनाइ थियो ।
लोसपा छोडेर हाल महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव बनेका केशव झाले पहिचान र अधिकारको मुद्दा आफूहरूले उठाए पनि पार्टी अध्यक्ष महन्थ ठाकुरले बेवास्ता गरेको बताए ।
‘कांग्रेस, एमाले र माओवादीको पिछलग्गु जस्तो भएर काम गरेर हुँदैन भनिरहँदा शत्रुवत व्यवहार गरियो,’ लोसपा त्यागेका झा भन्छन्, ‘जे गर्दा पनि नहुने अवस्था सिर्जना भयो । कांग्रेसभित्रै १० वटा पार्टी चलाएर बस्दा कारबाही नहुने तर त्यहाँ सुझाव दिँदा भोग्नुपर्ने अवस्था आएपछि छोडेर हिँड्नुपर्यो । देश बनाउने नेतृत्व लोसपाले गर्नुपर्छ भनेर आवाज उठाउँदा अपमान गरियो, त्यो दलमा बस्न सकिएन ।’
यता, लोसपाका महासचिव मनिष मिश्रका अनुसार अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोबीच पार्टी गठनको सुरुवातदेखि नै सम्बन्ध समधुर थिएन ।
मिश्रले अनलाइनखबरसँग भने, ‘केन्द्रीय कमिटी बनाउने बेलादेखि नै उहाँका बिमति थियो । असन्तुष्टिहरू केन्द्रीय कमिटीको बैठकमा राख्न भन्यौं । बैठकमा एकपटक बोल्नुभयो । त्यसपछि बैठकमा बोल्नुसमेत भएन ।’
मिश्रका अनुसार महतोले जिल्लामा पुगेर पार्टीविरुद्ध अभियान नै चलाएका थिए । पार्टीमा हावी हुनसक्ने अवस्था नदेखेपछि महतो अर्को दल गठन गर्नतिर लागेको आरोप मिश्र लगाउँछन् ।
मधेशको राजनीतिमा सक्रिय व्यक्तिको पहिचान बनाएका अनिल झाले समेत लोसपा त्यागेका छन् । लोसपा परित्याग गरेका एक नेताका अनुसार नेता झालाई अध्यक्ष ठाकुरले जगेडाको रूपमा राखेका थिए ।
उनी भन्छन्, ‘कुनै भूमिका नदिएपछि सद्भावना पार्टीको पुनर्गठनमा लाग्नुभयो,’ मधेशको राजनीतिमा लामो इतिहास बनाएका झा अब महन्थलाई साथ दिन नसक्ने अवस्थामा पुगेका छन् ।
करिब ६ महिना अघिदेखि लोसपाको क्रियाकलापमा सहभागी हुन छोडेका झा पार्टी बैठकमा जानसमेत छोडेका थिए । महन्थ निकट लोसपाका नेता सुरेन्द्र झाका अनुसार अनिलकुमार झाले एक महिनाअघि नै पार्टीबाट राजीनामा दिएका थिए । त्यतिबेलै अध्यक्ष ठाकुरले राजीनामा स्वीकृत गरेका थिए ।
महन्थ नेतृत्वको लोसपाले मधेशीका एजेन्डा बोक्न नसक्ने निचोडसहित नयाँ बाटो लागेको झाले बताए । बिहीबार पत्रकार सम्मेलन गरी झाले निष्क्रिय रहेको नेपाल सद्भावना पार्टीलाई पुनर्गठन गर्ने घोषणा गरे ।
झाले आफू अध्यक्ष रहेर ९१ जनाको केन्द्रीय समिति गठन गरेका छन् । पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार झा नेतृत्वको सद्भावनालाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ ।
लोसपा छोड्न पर्नुको कारणबारे सोधिएको प्रश्नमा पुनर्गठित सद्भावनका अध्यक्ष झाले भने, ‘छोडिसकेको पार्टीको बारेमा र वृद्ध व्यक्तिले सञ्चालन गरेको पार्टीबारे म केही भन्न चाहन्न ।’
सद्भावना पार्टी एकीकरणको पक्षमा नभए पनि विगतमा परिबन्दमा परेर एकता गरेको झा बताउँछन् । मधेशको चिन्ता गर्ने दलहरू नभएकै कारणले ८ वर्ष ३ महिनापछि पुनः सद्भावनामा फर्किएर दल पुनर्गठन गर्न लागेको उनले सुनाए ।
लोसपामा समस्या गहिँरिदै जानुमा अध्यक्ष महन्थ ठाकुरको प्रवृत्तिगत समस्या कारण रहेको परित्याग गरेका नेताहरू आरोप लगाउँछन् । ‘आफ्नो पुरानो पार्टी (तमलोपा) का नेताहरूलाई मात्रै च्याप्ने र अन्य घटकबाट आएकालाई चिन्दै नचिन्ने गर्नुभयो,’ राजपा गठन हुँदा ठाकुरसँगै रहेका एक नेताले अनलाइनखबरसँग भने, ‘पार्टी कार्यालय आएर २/३ बजेसम्म बस्ने र उहाँको वरिपरि आएर जो बस्छ उनीहरूकै भनेर सुनेर पार्टी चलाउने गरेर कहाँ हुन्छ ?’
नेताहरूका अनुसार अहिले महन्थका खास व्यक्ति श्रममन्त्री शरतसिंह भण्डारी हुन् । अध्यक्ष ठाकुरले छोरी डा. मिनाक्षी ठाकुरलाई पनि पार्टी राजनीतिमा अघि बढाउन खोजिरहेको लोसपा नेताहरू बताउँछन् ।
ठाकुरको शक्ति घट्दै गएपछि राष्ट्रिय राजनीतिसँगै तीन तहका चुनावमा समेत लोसपा खुम्चिएको छ । लोसपाका प्रतिनिधिसभामा चार, राष्ट्रिय सभामा एक सांसद छन् भने प्रदेशतर्फ मधेशमा ९ र लुम्बिनीमा ३ सांसद छन् । स्थानीय तहमा १७ पालिकामा प्रमुख पद जितेको लोसपाले वडाध्यक्षमा १०३ स्थानमा जितेको थियो ।
महाधिवेशन प्रक्रियाले लिएन गति
लोसपा हाल तदर्थ समितिमा सञ्चालित छ । पार्टी गठन भएको चार वर्ष पुग्न लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । ४०१ जना हुनुपर्ने केन्द्रीय समितिमा हाल ३६९ जनाको तदर्थ समिति छ । ७१ जना पदाधिकारी छन् ।
पार्टी गठनको पाँच वर्षभित्र महाधिवशेन गर्नुपर्ने बाध्यात्मक अवस्थामा लोसपा छ । लोसपालाई एक वर्षभित्र महाधिवशेन गर्नैपर्ने बाध्यता रहे पनि २०८३ भदौभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न सकेको छैन ।
‘महाधिवेशनको कार्यतालिका आएको छैन । तल्लो तहमा अलिअलि अधिवेशन सुरु भइसकेको छ । कमिटी गठन नभएका ठाउँमा के गर्ने निर्णय हुन बाँकी छ,’ लोसपा महासचिव मिश्र भन्छन्, ‘समय धेरै बाँकी छ । पाँच वर्षभित्र महाधिवशेन गर्छौं ।’
महासचिव मिश्रका अनुसार महाधिवेशन भएको अवस्थामा अध्यक्ष निर्विकल्प पात्र महन्थ हुनेछन् । उनी भन्छन्, ‘उहाँले अवसर दिएर अरूको लागि ठाउँ खाली गर्न खोजिरहनुभएको छ । तर अध्यक्ष जस्तै व्यक्तित्व भएर प्रतिस्पर्धा गर्ने अरू कोही देखिँदैन ।’
प्रतिक्रिया 4