+
+

तनहुँमा रामचन्द्र पौडेललाई गोविन्दराज जोशी नै चुनौती

सबिन लामिछाने सबिन लामिछाने
२०७९ असोज २५ गते २०:५२

२५ असोज, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पनि तनहुँ-१ मा उम्मेदवार बनेका छन् । तनहुँबाट यसअघि ५ वटा चुनाव जितेका पौडेल सातौं पटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।

२०४८ सालदेखि लगातार चुनाव जित्दै आएका पौडेललाई २०७४ को चुनावमा वाम गठबन्धनको समर्थन पाएका एमाले एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले ६ हजार ८०२ मत अन्तरले पराजित गरेका थिए ।

तर यसपटक एकीकृत समाजवादीमा रहेका नेता श्रेष्ठले नै पौडेललाई चुनाव क्षेत्र छोडिदिएर बारा–४ मा गए । तनहुँ–१ बाटै उम्मेदवार सिफारिस भएका केन्द्रीय सदस्य शंकर भण्डारीलाई तनहुँ–२ मा र त्यहाँबाट टिकटको आकांक्षा राखेका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं–५ मा पठाएर पौडेलले पार्टीभित्र सहज वातावरण बनाए ।

यसै क्रममा समानुपातिक पद्धतिको उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएर तनहुँ–१ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईको मनोनयन रोक्न पनि पौडेल सफल भए ।

उम्मेदवारी दर्ताअघि यी केही चुनौती पन्छाए पनि पौडेलविरुद्ध पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र पूर्व जिल्ला सचिव विश्वनाथ बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एउटै पार्टीमा रहँदा पनि जोशी जहिल्यै पनि पौडेलको प्रतिस्पर्धी थिए भने बास्तोला पछिसम्म सहयोगी ।

जोशी र बास्तोलाले गठबन्धनको राजनीतिलाई अप्रजातान्त्रिक भन्दै यसले व्यक्तिको अधिकारलाई कुण्ठित गर्ने बताउँदै भोट मागिरहेका छन् ।

पौडेलले आफूहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउँदै भ्रष्टाचार विकृति, विसंगतिलाई हटाएर आमनागरिकमा आशाको सञ्चार गर्न चाहेको दाबी गरेका छन् ।

जोशी र बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिए पनि तनहुँ–१ मा पौडेलको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगर हुन् ।

भानु नगरपालिकामा जन्मेका र व्यास २ स्थायी बसोबास गर्दै आएका राना मगरले तनहुँमा एमालेको संगठन कमजोर रहँदा पनि संघर्ष गरेका थिए । एमालेको केन्द्रीय सल्लाहकार परिषद सदस्य रहेका राना मगर यसअघिका चुनावमा गोविन्दराज जोशीसँगै पराजित भएका थिए । यसपाली जोशीले कांग्रेसको भोट काटेकै कारण राना मगरले चुनाव जित्नेमा एमालेका जिल्ला नेताहरु ढुक्क छन् ।

नेकपा एमाले तनुहँ जिल्ला कमिटी सदस्य बसुन्धरा घर्ती कांग्रेस ३ चिरा भएको र एमाले एक ढिक्का भएकाले आफ्नो मत मात्र जोगाउँदा पनि राना मगरको जित निश्चित रहेको बताउँछिन् । भन्छिन, ‘पहिला कांग्रेसमै रहेका जोशी, बास्तोला र पौडेल ३ जना उम्मेदवार हुनुहुन्छ, उहाँहरुमा कांग्रेसको मत बाडिँदा चुनाव हामीले जित्छौं ।’

बागीले भोट काट्ने खतरालाई बुझेर नै नेपाली कांग्रेसका जिल्ला नेताहरु बास्तोलालाई उम्मेदवारी फिर्ता गराउने अभियानमा लागेका छन् ।

बास्तोला र जोशी मध्ये एक मात्र उम्मेदवार भएमा पौडेललाई कुनै असर नगर्ने कांग्रेस तनहुँ जिल्ला सचिव लक्ष्मीभक्त खनाल बताउँछन् । ‘जोशी सरको साथ पौडेलले कहिल्यै पाउनु भएन,’ उनले भने, ‘असन्तुष्ट साथीहरुको सधैं असहयोग नै थियो, त्यसैले यसपाली उहाँ उठ्दैमा डराउनु पर्दैन ।’

२०७४ को चुनावमा जोशीले बागी उम्मेदवारी दर्ता गरेका थिए । तर पौडेलले उजुरी गरेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । आफ्नो उम्मेदवारी खारेज भएपछि जोशीले एमाले उम्मेदवार श्रेष्ठलाई सहयोग गरे र पौडेललाई हराउन भूमिका खेले ।

३० वैशाखको स्थानीय तह निर्वाचनमा तनहुँ–१ मै पर्ने ब्यास नगरपलिकाको मेयरमा जोशीका छोरा दीपकराजलाई नेकपा एमालेले समर्थन गरेको थियो । यसपटक आफ्नै उम्मेदवार भएकाले जोशीले एमालेको साथ पाउने सम्भावना कम छ ।

कांग्रेस नेताहरु जोशी र एमालेका राना मगर उम्मेदवार रहँदा त्रिपक्षीय प्रतिस्पर्धा हुने र बाजी आफूहरुले मार्नेमा ढुक्क छन् । ‘भीडन्त त्रिपक्षीय हुने हो । त्यसमा हामीले बाजी मार्छौँ,’ खनालले भने, ‘किनकि हामीलाई गठबन्धनका साथ छ ।’

स्थानीय तहको मतमा कांग्रेसअघि

गत स्थानीय तह चुनावमा तनहुँ १ का वडाध्यक्षहरुले पाएको मत विश्लेषण गर्दा गठबन्धन अघि छ ।

कुल ७० हजार ८१९ मतमध्ये कांग्रेस एक्लैले ३३ हजार १०६ मत पाएको थियो । नेकपा माओवादी केन्द्रले ८ हजार ४७४ मत र नेकपा एकीकृत समाजवादीले ८९२ मत पाएका थिए ।

मत संख्याको आधारमा आफूहरु अघि रहेको र यसमा गठबन्धनबाट थपिने १० हजार मतले जोशीले काट्ने मतको भर्ताल हुने कांग्रेस जिल्ला सचिव बताउँछन् ।

स्थानीय तह चुनावमा एमालले २२ हजार २१० मत पाएको थियो । तर एमाले जिल्ला सदस्य घर्ती यो क्षेत्रमा आफूहरुको २५ हजार मत रहेको बताउँछिन् । उनी यो मत कतै विभाजन नहुनेमा ढुक्क छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?