+
+
ब्लग :

घनश्याम भूसाल र अन्यायका शृङ्खला

दामोदरप्रसाद उपाध्याय दामोदरप्रसाद उपाध्याय
२०७९ असोज २६ गते १९:३८

मलाई यो भन्न धक छैन कि माले विद्यार्थीको तर्फबाट म २०३५-३६ सालको विद्यार्थी आन्दोलनको प्रमुखमध्ये एक थिएँ। मैले अस्कल क्याम्पसबाट यसको संचालन गरेको थिएँ। २०३६ पछि एकताको पाँचौं भनिएको अनेरास्ववियूबाट अस्कलमा जे–जति भए, त्यसमा मैले नेतृत्व गरेको थिएँ। आन्दोलन जे-जसरी सकियो, यसबारे पछि कुनै सन्दर्भमा कुरा गरौंला।

आन्दोलनपछि म माले पार्टी विस्तार गर्न सिन्धुपाल्चोक जिल्लाको ग्याल्थुम भन्ने ठाउँमा खटाइएँ। त्यहाँ बीएस्सी मास्टर भई करिब डेढ वर्ष पार्टी काम फैलाउने काम गरें। सिन्धुपाल्चोकको पश्चिमी बेल्टमा मालेको मजबुत जगमा मेरो श्रम परेको छ। त्यसबेला पार्टी हेडक्वाटरसँग सम्पर्क गर्न आउने क्रममा काठमाडौं आउँदा पुराना साथीहरूसँग भेटघाट हुन्थ्यो।

त्यसैबेला एउटा केटो टंक कार्कीसँग नारिएर कुरा गरेको देख्थें। त्यसबेला नयाँ व्यक्तिबारे सोधखोज गर्न वर्जित थियो। तर गाइँगुइँ के चाहिं सुनेको थिएँ भने अनेरास्ववियुको एकताको पाँचौं केन्द्रीय तयारी सम्मेलन कमिटीमा भैरहवातिरका एकजना स्कुले केटा पनि छन्, उनी पढ्नमा तेज छन् र दह्रो भाषण गर्छन्। सामान्य कौतूहल जाग्थ्यो तर गाउँ फर्किने बित्तिकै बिर्सिइन्थ्यो।

२०३५-३६ को विद्यार्थी आन्दोलनपछि भएको स्ववियु चुनावमा देशव्यापी विजयले काठमाडौंभित्र विद्यार्थीबीच पार्टी काम फैलाउन हम्मे पर्न थाल्यो। १४ चैत २०३७ को नेपालकै पहिलो नेपाल बन्द कार्यक्रम व्यवस्थित रूपमा सफल बनाउन भनेर मलाई पुनः काठमाडौं बोलाइयो। गाउँमा जे–जति काम भएको थियो, त्यो सबै सिन्धुपाल्चोकका जिम्मेवार माधव पौडेललाई जिम्मा लगाएर काठमाडौंमा काम सम्हाल्न थालियो।

अनेरास्ववियु केन्द्रीय कमिटीको बैठक बस्दा यदाकदा घनश्याम भूसालसँग भेट हुन्थ्यो तर कर्‍याप्प पारेर हात मिलाउने र ङिच्च हाँस्ने बाहेक अन्य कुराकानी कम नै हुने गर्थ्यो। पहिलो इम्प्रेसनमा ‘केटा तेज नै हुन् तर बढ्ता बोल्दा रान्’ भन्ने लाग्यो। समय बित्दै जाँदा ‘जान्दारान् र त बढी बोल्दा रान्’ भन्ने लाग्न थाल्यो र अहिले पनि धेरै जान्दछन् भन्ने लाग्छ।

त्यसपछि हाम्रो राजनीतिक जीवनको दुर्भाग्यपूर्ण वर्ष २०३८-३९ आइपुग्यो। पार्टी कामको व्यापक विस्तारसँगै स्वाभाविक रुपमा पार्टीभित्र अनेकन् विसंगति पनि भित्रिएका थिए र तिनको उचित समाधान नहुँदा थुप्रिएर विस्फोटनको विन्दुमा पुगे। आरोप–प्रत्यारोप चले।

निहुँ बनेका थिए– पार्टी स्वतन्त्रताको माग र शान्ति क्षेत्र प्रस्तावको समर्थन। पार्टीभित्र दुई समूह बन्यो। एउटा पार्टी संस्थापन पक्ष र अर्कोलाई ‘गड्बडियाहरू’को बिल्ला भिराइयो। समाधानहेतु अनेकौं बैठक बसे, तर सबै बेकार भए।

हामीलाई विधि र पद्धति मिचेको आरोप लगाइयो। ती कतिपय सही थिए कतिपय गलत र निराधार। तर त्यस समयमा विधि र पद्धतिको दुहाइ दिने कैयौं बडे नेताले विधि र पद्धतिको जाँघे बनाएर लगाएको देख्दा उदेक लाग्छ।

२०४२ सम्म आइपुग्दा हामी धेरै ‘गड्बडियाहरू’ थाकिसकेका थियौं र ‘लौ गरी खाऊन् न त हामी छोडिदिऔं’ भन्नेमा पुगिसकेका थियौं। किनभने पार्टीभित्र वातावरण नै यस्तो बनाइएको थियो कि ‘टाँग मुनिबाट छिर वा छोड’।

तर यहींनेर घनश्याम भूसालहरू थाकेनन्। उनलाई मार्नेसम्म धम्की दिइएका थिए। तथापि उनी २०३९ सालदेखि लडेका लड्यै गरे। उनीहरूले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरे। तर त्यससँगै उनीहरू माथि भेदभाव, अन्याय र अपमानका शृङ्खला सुरु भए।

सुरुको कुरा गरौं। गुल्मीतिरको एकजना कमरेड कमिटीको ७०० रुपैयाँ जुवा खेलेका कारण कारबाहीमा परेका थिए। उनलाई सातौंको अध्यक्ष बनाइयो। पछि उनले अञ्चलाधीशसँग आत्मसमर्पण गरेर रेडक्रसको फिल्ड वर्करमा जागिर खान गए।

त्यसपछि एकताको पाँचौं सम्मेलनदेखि निरन्तर अनेरास्ववियूको केन्द्रीय नेतृत्व सम्हालेका घनश्यामको अध्यक्ष बन्ने पालो आइपुग्दा कहिले तुलबहादुर गुरुङलाई अघि सारियो, कहिले शंकर पोखरेललाई प्रवासबाट आयात गरियो।

उनी विरुद्ध खडा गरिएको तुलबहादुर कहाँ पुगे ? ‘रेड अलर्ट’ लगाएर खोजे हुन्छ। शंकर पोखरेल हरेक राजनैतिक तथा नैतिक र बौद्धिक जाँचमा घनश्यामसँग तुलना गर्नै सुहाउँदैनन्।

माथिका कुराहरू त विद्यार्थी संगठनका भए। अब अन्यत्रका कुरा गरौं। उनलाई हरेक गल्छेडाहरूमा बाधा–अवरोध खडा गरियो। विद्यार्थी जीवनमा बोकाइएका यस्ता अनगिन्ती अन्यायका भारी उनले २०४८ सालमा बिसाए। उनी गृह जिल्ला रुपन्देहीमा पार्टी राजनीतिमा लागे। घनश्यामहरूलाई फेरि पनि त्यही पक्षपात र अन्यायको शृङ्खला दोहोर्‍याइयो।

घनश्यामले टिकट नपाउनु एउटा घटना हो, कारण होइन। बुझ्नुहोस्– कारण त यी तमाम अन्यायका शृङ्खला हुन्।

२०५० सालमा घनश्याम रुपन्देही जिल्ला कमिटीको सचिव बने। दुई वर्ष नपुग्दै उनीमाथि पुनः पार्टीको केन्द्रको आड लिंदै अर्का नेता विष्णु पौडेलहरूमाथि आक्रमण गर्न थालियो। जनकपुर महाधिवेशनमा टंक कार्की र घनश्याम भूसाललाई हराउन के के गरिए– त्यो कुरा खड्ग ओलीले नै टंक कार्कीलाई बताएका छन्– त्यसबारे टंक कार्कीले लेख्नुहोला।

सबै जानकारी होस्– हाम्रो पुस्ता पार्टीमा धन कमाइन्छ भनेर लागेका थिएनौं। मेरै कुरा गर्नुहुन्छ भने मेरो भात, मेरा कपडा र नगद प्रयोग नगरेका माले मूलका हाल एमालेका नेताहरू कमै होलान्। जेल पर्नेहरूले मासुभात खाएका छन्। मलाई कमाउनु थिएन। मेरा पिताजीले हङकङ र ब्रुनाइमा करीब ३५ वर्ष कमाएकोले नै पुग्थ्यो। ‘

घनश्यामहरूले मालेलाई ‘झापाली मान्छे कटुवा’ छविबाट राजनैतिक बनाएका थिए। म सम्झन्छु– ठाकुरचन्द्र श्रेष्ठ र कोमल भट्टराईलाई। उनीहरू कमलपोखरीमा ऋषिकेश शाहका कम्पाउण्डका ढोकामा उनलाई भेट्न घण्टौं उभिन्थे। ऋषिकेश शाह झोलिङ्गोमा झुल्दै पाइप तानेर या पुस्तक पढेर उनीहरूलाई कुराउँथे या ‘बस्दै गर म एक घण्टा सुत्छु’ भनेर सुत्थे।

यस्तो कुरालाई अपमान महसुस नगरी उनीहरू झापालीलाई ‘मान्छे कटुवा’ बाट राजबन्दी बनाउन बिन्ती बिसाउँथे। एकपटकको कुरा हो। नक्खुजेलमा मोहनचन्द्र, आरके र ओलीलाई भेट्टाउन ऋषिकेशलाई लानुपर्ने भयो। त्यसबेला हामीसँग पैसा थिएन। त्यो पैसा जसैकसै जुटायौं।

जसरी भए पनि उनीहरूलाई राजबन्दी बनाउनु र भनाउनुपर्ने थियो। म नै हुँ– अनेरास्ववियूलाई एशियाली विद्यार्थी संगठनसँग जोड्ने। घनश्यामहरूलाई यसरी पनि सम्झे हुन्छ। यसले अन्तर्राष्ट्रिय सम्बन्ध बढायो। यसरी नै स्व. प्रकाश काफ्ले र सुशील प्याकुरेलहरूले बढाए।

मालेमा ‘पार्टी प्रतिबन्ध’ हटाउन विचार स्थापित गर्ने मालेकालदेखि खेदिएर टिकिरहेकाहरूको नै देन छ। मदन भण्डारीहरू त पछि मात्र लत्रिएर आइपुगेका हुन्। घनश्यामहरूले नै संस्थापनभन्दा बाहिर बसेर अबको मिसनको लागि विचार पनि दिएका हुन्।

त्यो एमाले पार्टीको बुटवल महाधिवेशनमा घनश्यामहरूले पेश गरेको परिपूरक दस्तावेजमा थियो। त्यसमा ‘नेपाल अब अर्ध-सामन्ती र अर्ध औपनिवेशिक मुलुक रहेन, यो पूँजीवादी मुलुक हो जसको मूल चरित्र दलाल छ’ भनेको थियो।

त्यो घनश्यामको विचार नै नवौं महाधिवेशनले पारित गरेको हो र उनी अत्यधिक बहुमतले पार्टीको उपमहासचिवमा विजयी भए। तर त्यसले पनि उनीमाथि हुने भेदभावलाई रोकेन। उनलाई तीन वर्षसम्म जिम्मेवारीविहीन बनाएर पार्टी अफिसको भर्‍याङमुनि एउटा कुर्सीमा थन्क्याइयो (त्यो उपमहासचिवलाई दिइएको कार्यालय रे)।

२०७४ को चुनाव आयो, घनश्याम रुपन्देही १ का निवासी तर उनलाई सबैभन्दा अप्ठ्यारो क्षेत्र ३ नम्बरमा जितोस् भनेर होइन हारोस् भनेर टिकट दिइयो। त्यसमाथि स्वतन्त्रका नाममा उनको भोट काट्ने कैंची उम्मेदवार उठाइयो तर पनि उनले चुनाव राम्रै मत ल्याएर जिते।

यहाँ म उनलाई किन मन्त्री बनाइयो, उनले किन मल ल्याउन सकेनन् र २०५४ सालमा पार्टी फुटाउनु सही थियो कि गलत भन्ने चर्चा गर्दिनँ किनभने यी परिघटनाहरू बारे घनश्याम स्वयंले पर्याप्त लेखी/बोली सकेका छन्। पढ्ने/सुन्ने र बुझ्ने जाँगर र नियत हुनेले बुझिसकेका छन्। त्यसपछि सौराहमा भएको महाधिवेशन भनिएको जात्राका बारेमा पनि म केही भन्दिनँ। किनभने त्यो प्रायः सबैको स्मृतिमा ताजै होला।

अब यसपालिको टिकटका बारेमा कुरा गरौं। हामी जस्ता २०३२ साल र २०३५/३६ का विद्यार्थी आन्दोलनमा होमिएकाहरूको चित्त घनश्यामहरूले टिकट नपाउँदा भन्दा दीपक बोहोराका निम्ति घनश्यामले छोडिदिनु परेकोले काटिएको छ।

उता २०३२ को चर्चित पञ्च कमल थापाले सूर्य चिन्हबाट चुनाव लड्दा त्यसबेलाका आन्दोलनकारीहरूको नूर गिरेको छ। यी यावत् कारणले म भन्छु- घनश्यामहरूले जे गरे सही गरे। यसैबीच केही हाम्रा छोरा उमेरका लालबुझक्कडहरू फेसबुकतिर लेख्दैछन् र केही भन्छन्, ‘टिकट नपाउँदैमा पार्टी छोड्न पर्छ र ? पुनर्विचार गर।’

म भन्छु– टिकट नपाउनु एउटा घटना (केस) हो, कारण (कज) होइन। बुझ्नुहोस्– कारण त यी तमाम अन्यायका शृङ्खला हुन्। धेरैले भन्छन्– घनश्यामहरूलाई पार्टीले बनायो। त्यसो होइन, घनश्यामहरूले पार्टी बनाए तर घनश्यामहरू बन्न नदिन त्यही पार्टी नोकरशाहीतन्त्र बाधक बन्यो। घनश्यामहरू त्यस्तो नोकरशाहीतन्त्र विरुद्ध लड्दै एक वैकल्पिक नेतृत्व बने– विचार र राजनीतिको। सबभन्दा बढी अहिलेका सबै दलका भ्रष्ट नेतृत्वविरुद्ध देखिएको एक सदाचार व्यक्ति र अनुकरणीय नेता।

यो २०७९ साल असोज हो। २०३९ सालको कात्तिकदेखि घनश्यामहरू लडेका लड्यै छन्। ४० वर्ष भएछ। अब पनि पार्टीभित्र लड्नुपर्छ भन्नेहरू ती राजनैतिक प्राणी होइनन्। घनश्यामहरूले पहिल्यै साहस गर्नुपर्थ्यो। सीपीले २०३९ सालमा साहस गरेको भए सीपीमा यस्तो खिया लाग्ने थिएन होला। एमालेमा अवैचारिक र अराजनैतिक नेतृत्व आउने थिएन होला, अहिलेको नोकरशाहीतन्त्रले कब्जामा लिएको एमाले बन्ने थिएन।

र, मुलुकले यस्तो बर्बादी भोग्नुपर्ने थिएन। एमाले कुनै प्रगतिशील पार्टी होइन। यसकारण यसमा नरहने निर्णय गर्नुले घनश्याम भूसालहरू सही छन् भन्ने मलाई लाग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?