+
+

ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न नीजि क्षेत्रसँग मेयर राजेशमानको आग्रह

सिदार्थ बैंकले नारायणी अस्पताललाई ५५ लाख सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते २०:२३

२६ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् ।

सिदार्थ बैंकको आर्थिक सहयोगमा राउण्ड टेबल नेपाल मार्फत नारायणी अस्पतालमा भवन मर्मत सम्भारका लागि सम्झौता गर्न आयोजित कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

महानगरपालिकाले वीरगञ्जमा ट्रान्सपोर्ट नगर बनाउन संघ र प्रदेश सरकारको मुख ताकेर नहुने स्थिति देखिएको बताउँदै उनले युवा उद्यमीले सहयोग गर्नुपर्ने बताए ।

‘ हामी ट्रान्सपोर्ट नगर बनाउन चाहान्छौं, त्यसका लागि ठूलै आकारको बजेट चाहिन्छ । संघ सरकारले पनि दिँदैन, प्रदेश सरकारले पनि दिँदैन, महानगरको आम्दानीले पुग्दैन ।’ उनले भने ‘ बरु व्यापारिक हिसाबले नै निजी क्षेत्रले लगानी गर्दा हुन्छ, के कति वर्षमा लगानी उठ्छ ? मिलेर काम गरौं । संघ र प्रदेशको मुख ताकेर मात्रै भएन ।’

वीरगञ्जको विकासका लागि सबैको साथ आवश्यक रहेको उनको भनाइ छ । ‘ मेयरमा राजेशमानलाई जिताई दिएका छौं, उसले नै वीरगञ्जको विकास गर्छ भनेर हुँदैन ।’ उनले भने ‘ हाम्रो वीरगञ्ज कसरी राम्रो बन्छ ? गमहानगर युवा उद्यमीसँग हातेमालो गर्न चाहन्छ ।’

अस्पताल र विद्यालयको विकास राजनीति भन्दा माथि उठेर गर्नुपर्नेमा उनले जोड दिए । साथै आफूले गरेको लगानीको सदुपयोग भए नभएको ध्यान दिन पनि आग्रह गरे ।
‘ नारायणी अस्पतालमा यति न धेरै इक्युपमेन्ट भईसक्यो कि राख्ने ठाउँ समेत छैन ।’ उनले भने ‘ सरकारी अस्पतालमा सहयोग गरेर मात्रै हुँदैन, निमुखाले राम्रो सेवा पाईरहेका छन त ? दिएको सामानको सदुपयोग भएको छ कि छैन अनुगमन पनि गर्नुपर्छ ।’

अस्पताल भवन मर्मतका लागि ५५ लाख दिने सम्झौता

नारायणी अस्पतालको आईसीयू कक्षको माथिल्लो तल्लामा अधुरो भवन निर्माणका लागि सिदार्थ बैंक लिमिटेडले ५५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । राउण्ड टेबल नेपाल मार्फत काम गर्नेगरि त्रिपक्षीय सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल, राउण्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवाल र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विरेन्द्र बहादुर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

भवनको सिभिल, फिनिसिङ तथा थप संरचना बनाउने कार्यका लागि बैंकले अधिकतम ५५ लाख रुपैयाँसम्म सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

अस्पतालको आईसियु कक्ष माथि एक तला थपिएपनि प्रयोग गर्न मिल्ने अवस्थामा छैन । जाने बाटो समेत नबनाई हल जस्तो कोठा तयार गरेर काम अलपत्र पारेर छोडिएको छ । प्रयोगमा ल्याउन नमिल्नेगरि अलपत्र छोड्दा सरकारी बजेटबाट भएको कामको सदुपयोग हुन सकिरहेको थिएन ।

बैंकले शुरुमा १५ लाख रुपैयाँ दिएर काम शुरु गराउनेछ । शुक्रबारबाटै काम शुरु गरेर नोभेम्बर महिना भित्र सक्ने योजना बनाईएको छ । भवन तयार भईसकेपछि त्यसमा डायलायसिस वार्ड सञ्चालन गर्ने अस्पतालका निमित्त मेसु डाक्टर प्रधानले जानकारी दिए ।

‘ १२ थान हेमो डायलायसिस मेसिन हामीले किनेका थियौं, ५ थान स्वास्थ्य सेवा विभागले दिएको छ ।’ उनले भने ‘जडान गर्ने ठाउँको अभावमा त्यतिकै राख्नु परेको छ । भवन मर्मतको काम सकिएपछि त्यसबाटै सेवा प्रवाह गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?