१७ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनाको विषयलाई लिएर सप्तरीको राजबिराजमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीले सद्भाव र्याली निकालिएको छ ।
बोदेबरसाईन बजारमा नगरपालिकाको नेतृत्वमा धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सो र्याली आयोजना गरिएको हो ।
‘सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं र एकअर्कालाई सम्मान गरौं’ भन्ने नारासहित स्थानीय स्तरमा क्रियाशील राजनीतिका दल, सरोकारवाला निकाय, हिन्दु र मुस्लिम दुवै समुदायको सामूहिक सद्भाव र्याली सम्पन्न भएको हो ।
बोदेबरसाईनको र्यालीमा सप्तरी क्षेत्र नं. ४ (ख) प्रदेश सभा सदस्य अनिरूद्व सिंह यादव, नगरप्रमुख आतेश कुमार सिंहलगायतको सहभागिता थियो ।
विवाद र द्वन्द्वले निकास नदिने भएकाले सद्भाव कायम राख्ने सन्देश प्रवाह गर्न र्यालीमा सहभागीहरूले बताए ।
देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिमा सद्भाव कायम राख्न सबै पक्ष मिलेर र्याली राजबिराजमा आयोजना गरिएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले बताए ।
यो सद्भाव र्यालीसँगै राजबिराज र बोदेबरसाईन नगरपालिका अवस्था सामान्यतर्फ उन्मुख हुने स्थानीयले विश्वास लिएको छ ।
सप्तरीको बोदेबरसाईनमा गत साउन १४ गते राति १० बजेदेखि र राजबिराजमा १५ गते ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्युको आदेश जारी गरिएको थियो ।
प्रतिक्रिया 4