+
+
सर्लाही–२ :

सत्ता गठबन्धनले राजेन्द्र छाडेर किन गर्‍यो महिन्द्रलाई समर्थन ?

श्रवण देव श्रवण देव
२०७९ असोज २६ गते २१:३४

२६ असोज, सर्लाही । जनता समाजवादी पार्टी (जसपा) एमालेतिर लागेपछि सत्तारुढ दलहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई गठबन्धनमा सामेल गराए । लोसपालाई प्रतिनिधिसभाको ७ र प्रदेशसभाको १६ सिट दिन सत्तारुढ दलहरु सहमत भए, तर सर्लाही–२ को प्रतिनिधिसभा क्षेत्रमा सहमति जुटेन ।

त्यसैले मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भयो । प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रको चुनाव चिह्न लिने गरी नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोसहित १७ जनाले उम्मेदवारी दिए ।

उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा पनि हिँडिसके । बागीको विवाद पनि छैन । तर बुधबार गठबन्धनले वक्तव्य निकालेर महेन्द्र आफूहरुको उम्मेदवार भएको बताएका छन् । शीर्ष नेताहरुले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ, ‘सर्लाही जिल्ला क्षेत्र नम्बर २ प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनका साझा उमेदवार महेन्द्र राय यादव र सर्लाही २ प्रदेश सभा (१) मा सुनिल साह र २ मा कौशलन्द्र किशोर राय यादव उम्मेदवार रहनुभएको यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

गठबन्धन यो विज्ञप्ति निकाल्ने निर्णयमा किन पुग्यो त ? नेताहरुका अनुसार यो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा आएको वक्तव्य हो ।

नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न लिने सहमति गर्दा नै सर्लाही–२ को टिकट महिन्द्रलाई दिलाउने बचन प्रचण्डले डा. बाबुराम भट्टराईलाई दिएका थिए । सत्ता गठबन्धनको सिट बाँडफाँटमा पनि माओवादी केन्द्रले सर्लाही–२ कुनै हालतमा छाडेन । जबकी स्थानीय तहको मतका आधारमा कांग्रेस बलियो छ र कांग्रेसका जंगीलाल रायले पाँच वर्षदेखि चुनावको तयारी गरेका थिए ।

एक नेताका अनुसार उपेन्द्र यादव नेतृत्वको जसपा गठबन्धनबाट बाहिरिनुको एउटा कारण सर्लाही २ पनि हो । किनकी यो क्षेत्रमा जसपाको पनि दाबी थियो, तर प्रचण्डले सुन्नै चाहेनन् । जसपा, एमालेतिर लागेपछि लोसपा गठबन्धनमा आयो, तर सर्लाही २ मा माओवादीलाई दिन अरु दल सहमत भइसकेका थिए ।

लोसपाले वरिष्ठ नेता महतोका लागि यो क्षेत्र लिन चाहे पनि पाएन र मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भयो । प्रदेशसभाको दुई सिटमध्ये (क) कांग्रेसले लियो भने (ख) लोसपाले पायो । २३ असोजमा उम्मेदवारी दर्ताको दिन कांग्रेसका जंगलाल र लोसपा महतो र मेयुर चौधरी ‘लोसपा र कांग्रेसबाट साझा उम्म्मेदवार’ लेखिएको ब्यानरसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

सत्ता गठबन्धनको साझा उम्मेदवार राजेन्द्र भएको सन्देश जाने देखेपछि महेन्द्र राय पक्षलाई झस्कायो । त्यसको असर बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा पनि देखियो । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सर्लाही २ मा राजेन्द्र महतोले सत्ता गठबन्धनसँग मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको स्मरण गराए ।

कांग्रेस उम्मेदवार, महतोतिर उभिएको देखेर हुनुपर्छ, उनले बैठकमा कांग्रेसले कसलाई भोट हाल्छ भनेर प्रश्न गरेका थिए । प्रचण्डले सर्लाही–२ मा महिन्द्र नै सत्ता गठबन्धनको उम्मेदवार भएको र कांग्रेसले उनलाई मत दिनुपर्ने बताएपछि शीर्ष नेताहरुले वक्तव्य नै जारी गर्नुपरेको बैठकमा सहभागी एक नेताले बताए ।

कतिसम्म भने सत्ता गठबन्धनले सर्लाही–२ को प्रदेशसभा सिट बाँडफाँटबारे कांग्रेस सभापति शेरबहादुर देउवा र महन्थ ठाकुरबीच भएको सहमतिलाई पनि अस्वीकार गरेको छ । लोसपा गठबन्धनमा आउनुअघि भएको सिट बाँडफाँटअनुसार नै प्रदेशसभा (क) मा माओवादी केन्द्रका सुनीलकुमार शाह र (ख)मा कांग्रेसका कौशल किशोर राय नै सत्ता गठबन्धनको उम्मेदवार भएको वक्तव्यमा उल्लेख छ ।

आक्रोशित महतो

सत्ता गठबन्धनका शीर्ष नेताहरुको वक्तव्यप्रति लोपाका वरिष्ठ नेता महतोले असन्तुष्टि जनाएका छन् । षड्यन्त्रपूर्ण र जनतालाई गुमराहमा राख्ने गरी वक्तव्य आएको भन्दै उनले अनलाइनखबरसँग भने, ‘दुबैलाई मिलाएर विज्ञप्ति निकाल्नुपर्नेमा निकालिएन । यो नेताहरुको असक्षमता हो ।’

महिन्द्र राय भने गठबन्धनको उम्मेदवार आफू भएको बताउँछन् । ‘सहमति नै यही भएको थियो’ उनी भन्छन्, ‘आजको विज्ञप्ति अनुसार हामी तीनै जना गठबन्धनको आधिकारिक उम्मेदवार हौं ।’

प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका जंगीलाल भने सबै गठबन्धनको उम्मेदवार भएको बताउँछन् । ‘यो निर्णय नगरे पनि हुन्थ्यो’ रायले अनलाइनखबरसँग भने, ‘पहिलाको पनि आधिकारिक नै हो, अहिलेको पनि आधिकारिक नै हो ।’

यस्तो छ अंकगणित

सर्लाही क्षेत्र नम्बर २ मा ५ पालिका र दुई पालिकाको केही वडा पर्दछ । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका आधारमा हेर्दा सर्लाही २ मा कांग्रेस सबभन्दा बलियो छ ।

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा कांग्रेसको २४ हजार ६२० छ भने जसपाको १९ हजार ६४२, लोसपाको १२ हजार ३६६, माओवादी केन्द्रको ७ हजार ७३७ र एकीकृत समाजवादीको २ हजार २२१ मत छ ।

यसरी हेर्दा सर्लाही–२ को प्रतिनिधिसभा सदस्यको चुनावमा कांग्रेसको मत नै निर्णायक हुने देखिन्छ । यद्यपि महतो र यादव दुबै आफू अत्यधिक मतले जित्ने दाबी गर्छन् । ‘यस क्षेत्रका बासिन्दाको साथ र सहयोग छ’ लोसपाका उम्मेदवार महतोले अनलाइनखबरसँग भने, ‘जनताले विजयी गराउनेमा आशावादी छु ।’

महतोका प्रतिस्पर्धी एवं नेसपाका अध्यक्ष राय पनि आफू सहजै जित्ने दाबी गर्छन् । ‘यो गठबन्धनको पक्षमा जनमत आउँछ । विगतमा पनि यहींका जनताले जिताए । अहिले त गठबन्धन भएकाले सहज ढंगले जित्नेमा ढुक्क छु ।’

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?