+
+

को बन्ला लुम्बिनीको मुख्यमन्त्री ? दौडमा छन् यी नेता

टोपराज शर्मा टोपराज शर्मा
२०७९ असोज २७ गते २०:४८

२७ असोज, बुटवल । प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासंगै लुम्बिनीमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वमा तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट उम्मेदवार बनेका माथिल्लो वरीयताका नेताहरुकै चर्चा छ ।

विगतमा प्रतिनिधि सभा सदस्य र संघीय सरकारमा मन्त्री भइसकेका कतिपय नेताहरु मुख्यमन्त्री बन्ने आश्वासनमा प्रदेशमा उम्मेदवार बनेका छन् । सबैजसो पार्टीमा छुट्टाछुट्टै गुट रहेकाले एउटै दलबाट मुख्यमन्त्रीका दावेदार कम्तीमा दुईजना र त्यो भन्दा पनि बढी देखिएका छन् ।

नेकपा एमालेबाट रुपन्देही २ (१) बाट उम्मेदवारी दिएका पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रदेश सहइञ्चार्ज लिला गिरी मुख्यमन्त्रीका प्रमुख दावेदार हुन् ।

शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका गिरी एमालेका अन्य आकांक्षी भन्दा सबैभन्दा सिनियर हुन् । उनीसँगै रुपन्देही २ (२) का उम्मेदवार पार्टी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, रुपन्देही १ का उम्मेदवार एवं पोलिटब्यूरो सदस्य तथा प्रदेश सहइञ्चार्ज दधिराम न्यौपाने, दाङ तुल्सीपुरका पूर्वमेयर घनश्याम पाण्डे मुख्य दाबेदार छन् ।

यद्यपि पार्टी शीर्ष नेताहरुले पोलिटब्यूरो सदस्य लिला गिरीलाई नै मुख्यमन्त्रीको आश्वासन दिएको बताइन्छ ।

स्वयं गिरी भने मुख्यमन्त्री को बन्ने भन्ने विषयले निर्वाचन परिणामपछि प्रवेश पाउने तर्क गर्छन् । ‘पार्टीले कसैलाई वचन दिएको मलाई थाहा छैन, चुनावको नतिजा आएपछि मात्रै यसबारे छलफल होला’, गिरीले भने, ‘एमालेमा मुख्यमन्त्री चलाउन सबै नेता योग्य र सक्षम छन् ।’

शंकर पोखरेल नेतृत्वको सरकारमा गिरी भन्दा माथिल्लो वरीयतामा भौतिक पूर्वाधार विकास मन्त्री र पछि आर्थिक मामिला तथा योजना मन्त्री रहेका नवलपरासी पश्चिमका नेता बैजनाथ चौधरी पनि मुख्यमन्त्रीका आकांक्षी थिए । तर उनी उम्मेदवार नै भएनन् ।

लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको रोजाइमा पर्ने नेता नै मुख्यमन्त्री बन्नेमा शंका छैन । प्रदेश सभाको पहिलो चुनावमा लुम्बिनीमा एमाले पहिलो दल बनेको थियो ।

मुख्यमन्त्रीको दौडमा नेपाली कांग्रेसबाट सबैभन्दा धेरै दाबेदार छन् । प्रदेश सभापति अमरसिंह पुन अरुभन्दा अगाडि छन् । तर कांग्रेसभित्रको संस्थापन इतर पक्षका भएकाले उनलाई रोक्न संस्थापन पक्षको र खासगरी गृहमन्त्री बालकृष्ण खाणको ‘इन्ट्रेस्ट’ मा रुपन्देही १ का अब्दुल रज्जाकलाई अन्तिम समयमा प्रदेशमा अघि सारिएको छ ।

रोल्पाका पुनको क्षेत्रमा माओवादी प्रदेश सभा सदस्य रहेका माओवादी केन्द्रकै दिपेन्द्र पुन बागी उम्मेदवार रहेकाले अमरसिंहलाई चुनाव जित्न चुनौती थपिएको छ भने संस्थापन पक्षले नै मुख्यमन्त्रीमा रोक्न उनलाई हराउन लाग्ने आशंका कांग्रेसभित्र छ ।

प्रतिनिधि सभा सदस्य र संघीय सरकारको राज्यमन्त्री समेत भएका रज्जाकलाई उम्मेदवारी दर्ताको अन्तिम समयमा टिकट दिएर प्रदेशमा झारिनुले यो आशंकालाई बल पुग्छ । रज्जाक गृहमन्त्री खाणका विश्वासपात्र हुन् ।

त्यसो त संस्थापन पक्षकै प्रदेश सभा संसदीय दलका नेता वीरेन्द्र कनौडिया, प्रदेश मन्त्री डिल्ली चौधरी पनि मुख्यमन्त्रीका आकांक्षी हुन् । प्रदेशमा संस्थापन इतर समूह बलियो भए पनि पुनले निर्वाचन जिते उनको सम्भावना बलियो हुन सक्छ ।

संसदीय दलका नेता कनौडियाले शंकर पोखरेलको सरकार विस्थापित गरेर माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउँदा आलोपालो गर्ने र ८ महिनापछि आफू मुख्यमन्त्री बन्ने सहमति भए पनि त्यो हुन नसकेकाले अबको कार्यकालमा आफू नै दाबेदार भएको कनौडियाको तर्क छ ।

तेस्रो ठूलो दल माओवादी केन्द्रबाट गुल्मीका प्रदेश अध्यक्ष सुदर्शन बराल बलियो दावेदार मानिन्छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री भएर विवादरहित र स्वच्छ छवि बनाएका बराल माओवादीभित्र बौद्धिक र अरु भन्दा कुशल नेतृत्व क्षमताका नेता मानिन्छन् ।

उनीसँगै पोलिटब्यूरो सदस्य रोल्पाका जोखबहादुर महरा अर्का बलिया दावेदार हुन् । उनी प्रचण्डका निकट भएकाले प्रचण्डले उनैलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएको चर्चा छ । तर प्रदेश अध्यक्ष बराल त्यसलाई ठाडै अस्वीकार गर्छन् ।

‘अहिले कसैले कसैलाई आश्वासन दिएको भन्ने बजार हल्ला हो,’ बरालले भने, ‘अहिले प्रदेश सभाको टिकट मात्र दिएको हो ।’

माओवादीबाट रुपन्देहीका वामदेव क्षेत्री पनि आकांक्षी भए पनि उनी पार्टीभित्र आलोचित छन् । प्रदेश योजना आयोग उपाध्यक्ष रहेका क्षेत्रीका कारण मुख्यमन्त्री कुलप्रसाद केसी समेत विवादित बनेर टिकटबाटै वञ्चित भएको पार्टीभित्र विश्लेषण छ ।

पौने ७ अर्ब रुपैयाँको लुम्बिनी प्रदेश अस्पतालको ठेक्का प्रकरणमा समेत क्षेत्रीको भूमिकाकै कारण मुख्यमन्त्री विवादमा आएर ठेक्का नै रद्द भएको माओवादीकै नेता–कार्यकर्ता बताउँछन् ।

प्रदेशमा चौथो शक्ति रहेको जनता समाजवादी पार्टी भने यसपटक विभाजनले छिन्नभिन्न छ । पार्टीका प्रदेश अध्यक्ष अशोक यादव कपिलवस्तुमा आफैं उम्मेदवार रहेकाले गठबन्धन हुँदा आफू पनि दावेदार हुनु अस्वभाविक नहुने तर्क गर्छन् ।

प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका दलहरुको पनि उपस्थिति छ । तराइका ६ र पहाडका ६ गरी १२ जिल्ला रहेको लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ । प्रदेशको मुख्यमन्त्री बन्न कम्तीमा ४४ सांसद आवश्यक पर्छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?