+
+

स्वतन्त्र उम्मेदवार : हरेक चुनावमा हौसिन्छन्, तर जित्न कठिन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १९:१३

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन भन्दै डडेल्धुरामा सागर ढकाल कस्सिएका छन्, पूर्वप्रधानमन्त्री केपी ओलीलाई हराउन भनेर झापामा युग पाठक । ढकाल र पाठक दुवै जना स्वतन्त्र उम्मेदवार हुन् ।

निर्वाचन आयोगका अनुसार ४ मंसिरको प्रतिनिधि सभा चुनावमा देशभरबाट ८६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । १२ सय ७८ जनाले प्रदेश सभा छिर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपालमा चुनावको सुरुवातदेखि नै स्वतन्त्र उम्मेदवारी परेको देखिन्छ । २००४ मा भएको पहिलो चुनावमा त दलका उम्मेदवार नै थिएनन्, सबै स्वतन्त्र उम्मेदवार । तत्कालिन काठमाडौं नगरपालिकाका लागि भएको इतिहासको पहिलो चुनावमा उठेका २१ जना नै स्वतन्त्र उम्मेदवार थिए । काठमाडौंपछि भक्तपुर र ललितपुरमा भएको चुनावमा पनि सबै उम्मेदवार स्वतन्त्र थिए ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २०१० सालमा भएको स्थानीय तहको चुनावमा पनि राजनीतिक दल भने सहभागी भएनन् । राजनीतिक दलसंग निकट रहेका व्यक्ति चुनावमा उठेपनि उनीहरुको कानूनी हैसियत भने स्वतन्त्र थियो ।

०१५ मा भएको पहिलो संसदीय चुनावदेखि नै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार आमनेसामने भइरहेका छन् । हरेक संसदीय चुनावमा सयौंको संख्यामा स्वतन्त्र उम्मेदवार खडा हुन्छन् । उम्मेदवारीको तुलनामा संसदमा स्वतन्त्रको प्रतिनिधित्व भने नगण्य हुन्छ ।

२०१५ सालमा १०९ सिटका लागि भएको चुनावमा २६८ जना स्वतन्त्र उम्मेदवार थिए । तीमध्ये चार जनाले मात्र चुनाव जितेका थिए ।

०१५ मा ९ वटा राजनीतिक दल चुनावी मैदानमा थिए । १०९ सिटका लागि भएको चुनावमा ९ वटै राजनीतिक दलका कुल उम्मेदवार ५१८ थिए । स्वतन्त्र र राजनीतिक दलका गरेर ७८६ उम्मेदवार चुनावी मैदानमा थिए ।

३० वर्षे पञ्चायतको अन्तपछि २०४८ सालको आम चुनावमा १९ जना स्वतन्त्र उम्मेदवार थिए । तीमध्ये ३ जनामात्र निर्वाचित भए । रौतहट ३ बाट गोविन्द चौधरी, बाग्लुङ ३ बाट ओमकारप्रसाद गौचन, सिरहा ४ बाट राजेन्द्र गोइत निर्वाचित भएका थिए ।

२०५१ को चुनावमा ३८५ जना स्वतन्त्र उम्मेदवार थिए । जसमध्ये महोत्तरी ४ बाट शरतसिंह भण्डारी, मनाङबाट पाल्तेन गुरुङ, रुपन्देही ४ बाट ज्योतेन्द्रमोहन चौधरी, बाग्लुङ ४ बाट परी थापा, प्यूठान २ बाट नवराज सुवेदी, डोल्पा १ बाट मोतिप्रसाद पहाडी र बझाङ २ बाट नरेशबहादुर सिंह गरी ७ जना निर्वाचित भए ।

२०५६ को चुनावमा स्वतन्त्र उम्मेदवारको संख्या बढेर ६३३ पुग्यो । तर, एक जना पनि निर्वाचित भएनन् ।

२०६४ को संविधानसभा चुनावमा ८१६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यीमध्ये रौतहट १ बाट बबन सिंह र सप्तरी ५ बाट सरदुरल मिया हक गरी दुई जना निर्वाचित भए । ०६५ मा ६ सिटका लागि भएको उपनिर्वाचनमा १६ जना स्वतन्त्र उम्मेदवार रहेकामा कोही पनि निर्वाचित भएनन् ।

०७० मा भएको दोस्रो संविधानसभा चुनावमा ११ सय ४४ जना स्वतन्त्र उम्मेदवार भए । त्यतिबेला महोत्तरी ४ बाट चन्देश्वर झा र कपिलवस्तु २ बाट अतहर कमाल मुसलमान गरी दुई जना निर्वाचित भए ।

०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ४९२ जनाले स्वतन्त्र उम्मेदवारी दिएकामा हुम्लाका छक्कबहादुर लामा मात्र निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?