+
+

पाल्पा-२ : आफ्नै सहयोगीसँगको प्रतिस्पर्धा पाण्डेयलाई कति अफ्ठ्यारो ?

कमल अधिकारी कमल अधिकारी
२०७९ असोज २७ गते १९:१९

२७ असोज, पाल्पा । २०५१ सालयताका चुनावमा नेकपा एमालेबाट पटक–पटक उम्मेदवार बनेका सोमप्रसाद पाण्डेयलाई निर्वाचनमा सघाउने मुख्य पात्र थिए ठाकुर गैरे ।

२०५१, २०५६, २०६४, २०७० र २०७४ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका र २०६४ बाहेकका सबै चुनाव जितेका पाण्डेयलाई जिताउने मुख्य सारथि उनै गैरे थिए ।

तर ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पाण्डेयको मुख्य प्रतिस्पर्धी भएर आएका छन् गैरे । पाण्डेय एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएपछि गैरेले पाल्पा-२ मा एमालेको उम्मेदवार बन्ने अवसर पाएका छन् ।

माधवकुमार नेपालका सम्धी रहेका पाण्डेयले एमालेबाट पटक–पटक अवसर पाए पनि एउटै क्षेत्र भएकाले गैरेले यसअघि चुनावमा उम्मेदवार बन्ने अवसर पाएका थिएनन् ।

यसअघिका चुनावमा सँगै मतदाताको घरमा पुग्ने यी दुई नेताहरु एक्लाएक्लै जाँदैछन् र एकअर्कालाई हराउने र आफू जित्ने उनीहरुको उद्देश्य हुनेछ ।

पूर्व सहयोगीसँगै भिड्न लागेका पाण्डेय आफूलाई गठबन्धनको समर्थन रहेको भन्दै ढुक्क देखिन्छन् । ‘मैले त ठाकुरजीसँगको प्रतिस्पर्धालाई सहज रुपमा लिएको छु । उहाँसँगको प्रतिस्पर्धामा मेरा लागि कुनै समस्या छैन’, पाण्डेयले भने,  ‘मेरो लागि त गत स्थानीय तहमा गठबन्धन दलले पाएको मतलाई हेर्ने हो भने नै जित सुनिश्चित छ ।’

तर एमाले उम्मेदवार गैरे पाण्डेयसँग कुनै प्रतिस्पर्धा नै नहुने बताउँछन् । ‘पाण्डेयलाई पाल्पाली जनताले धेरै पटक अवसर दिएका थिए’ गैरेले भने, ‘हामीले जुन पार्टीबाट जिताएर पठायौं त्यही पार्टीलाई धोका दिनुभयो, उहाँ अर्को पार्टीमा भएकाले मलाई सहज हुनेछ ।’

यो निर्वाचन क्षेत्रमा स्थानीय तह चुनावमा वडाध्यक्षहरुले पाएको मतलाई दलगत रुपमा हेर्ने हो भने नेकपा एमाले सबैभन्दा ठूलो दल हो । उसले ३० हजार ५६६ मत पाएको छ । यो मत नै आफूले जित्ने आधार भएको गैरेको दाबी छ ।

तर सत्ता गठबन्धनको मत जोड्दा पाण्डे अघि छन् । तर उनको दलले स्थानीय तह चुनावमा ४३३ मत मात्र पाएको थियो । सबै वडामा आफ्नो उम्मेदवार नभएकाले कम मत आएको भए पनि पाल्पामा एकीकृत समाजवादी त्यति कमजोर नभएको दाबी पाण्डेय गर्छन् ।

सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थन रहेको भन्दै उनी आफू अघि रहेको बताउँछन् ।

यहाँ सत्ता गठबन्धनको ३४ हजार ६६९ मत छ । जसमा कांग्रेसको २९ हजार ३९ मत र माओवादी केन्द्रको ४ हजार ३१३ मत छ । गठबन्धनमा रहेको अर्को दल राष्ट्रिय जनमोर्चाको ८८४ मत छ ।

त्यसैले २०७४ को चुनाव ३४ हजार ८९९ मत ल्याएर जितेका पाण्डेयले यो पटक आफ्नोभन्दा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताको मतको भर परेको देखिन्छ ।

प्रदेशसभातर्फ उम्मेदवारी दिएका दलका कारण पनि पाण्डेयको निर्वाचनमा प्रभाव पर्ने देखिएको छ । प्रदेशसभातर्फ नेपाली कांग्रेसले क्षेत्र नं. २ को (१) मा उम्मेदवारी दिएकाले नेपाली कांग्रेसका नेता कार्यकर्ताले पाण्डेयको चुनावी अभियानमा सहयोगी भूमिका खेल्ने भए प्रदेश सभा २ मा कांग्रेसका उम्मेदवार छैनन् ।

यहाँ माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी परेको हुँदा यो क्षेत्रमा माओवादी केन्द्रको सहयोगका भरमा पाण्डे‍यले मैदानमा जानुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?