+
+

जाजरकोटमा शक्ति : पहिले एमालेको भर, अहिले कांग्रेस

यज्ञ खत्री यज्ञ खत्री
२०७९ असोज २८ गते १९:००
वायाँबाट– शक्ति बहादुर बस्नेत, निरज आचार्य र नरबहादुर कार्की

२८ असोज, सुर्खेत । पहिलो संविधानसभामा जाजरकोटका दुवै क्षेत्र जितेको माओवादीले दोस्रोमा एउटा जित्यो, अर्को गुमायो । २०७४ मा एउटा मात्र क्षेत्र कायम भएपछि तेस्रो दलमा झरेको माओवादी जाजरकोटमा संकटमा देखिएको थियो, तर एमालेको बलमा माओवादीका शक्तिबहादुर बस्नेत सांसद चुनिए ।

यसपटक भने शक्ति कांग्रेसको भरमा छन् । सत्ता गठबन्धनमा माओवादीसँगै कांग्रेसको पनि दाबी थियो । अघिल्लो चुनावमा शक्तिसँग प्रतिस्पर्धा गरेका राजिवविक्रम शाह कांग्रेसका सम्भावित उम्मेदवार थिए । तर माओवादी अध्यक्ष प्रचण्ड स्वयं लागेर शाहलाई प्रदेशमा झर्न सहमत गराएका छन् र जाजरकोटमा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न शक्ति बस्नेत सफल भएका छन् ।

एमालेका निरज आचार्य, राप्रपाका दीपक खनाल, कांग्रेस बीपीका झलकनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की पनि चुनावी मैदानमा छन् । स्थानीय निर्वाचनका आधारमा हेर्दा शक्ति सहज अवस्थामा छन्, तर अरुसँगै स्वतन्त्र उम्मेदवार नरबहादुरले पाउने भोटले प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने निर्धारण गर्ने देखिन्छ ।

स्वतन्त्र उम्मेदवारको इन्ट्री

२०४८ देखि ०५६ को चुनावसम्म जाजरकोटमा कांग्रेस, एमाले र राप्रपाको चर्को प्रतिस्पर्धा थियो ।

०४८ मा क्षेत्र नम्बर–१ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधान र २ मा एमालेका कृष्णबहादुर शाहीले जितेका थिए । २०५१ मध्यावधि निर्वाचनमा दुवै क्षेत्र कांग्रेसले जित्यो । क्षेत्र नम्बर–१ बाट झलकनाथ वाग्ले र २ बाट दीपकजंग शाह विजयी भए ।

माओवादी उम्मेदवार शक्ति बस्नेत तेस्रो पटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । प्रतिनिधिसभा सदस्यका लागि बस्नेतसँग प्रतिस्पर्धा गरिरहेका निरज र नरबहादुर दुवै २०७४ मा सहयोगी भूमिकामा थिए ।

२०५६ को आम निर्वाचनमा कांग्रेसले एउटै क्षेत्र जित्न सकेन । क्षेत्र नम्बर–१ बाट राप्रपाका गोविन्दविक्रम शाह र २ बाट एमालेका रत्नप्रसाद न्यौपाने विजयी भए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा माओवादीले जित्यो । क्षेत्र नम्बर–१ बाट कालीबहादुर मल्ल र २ बाट भक्तबहादुर शाह विजयी भए । २०७० को क्षेत्र नम्बर–१ बाट माओवादीका शक्तिबहादुर बस्नेत र २ बाट कांग्रेसका राजीवविक्रम शाह विजयी भएका थिए ।

०७४ मा प्रतिनिधिसभा निर्वाचनको एउटै क्षेत्र हुँदा शक्ति ३२ हजार २८१ मतका साथ विजयी भए । कांग्रेसका राजिव विक्रम शाहले २३ हजार २८९ मत पाएका थिए ।

यो पटक भने स्वतन्त्र उम्मेदवार नरबहादुरले प्रमुख दलका उम्मेदवारहरुलाई दबावमा राखेका छन् । उनले कांग्रेसका साथै एमालेको पनि भोट काट्ने देखिन्छ । अफगानिस्तान, बंगलादेश लगायतका देशमा स्वास्थ्य र शिक्षासम्बन्धी अभियान चलाएका उनले जाजरकोटमा पनि निरन्तर सामाजिक अभियान चलाइरहेका छन् । जिल्लाका धेरै नागरिकलाई भेटेको बताउने उनी भन्छन्, ‘मलाई प्रत्यक्ष नभेटेकाले पनि कामले चिनेका छन् ।’

माओवादी उम्मेदवार बस्नेत तेस्रो पटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । सत्तारुढ कांग्रेस र एकीकृत समाजवादीको साथ पाएकाले पनि उनले सहज महसुस गरेका छन् ।

माओवादी नेता गणेश प्रसाद सिंह भन्छन्, ‘जाजरकोटमा हामीले एक्लैले जित्दै आएको क्षेत्र हो । यसपटक गठबन्धन दलको साथ छ, हाम्रो जित सुनिश्चित छ ।’

एमाले नेताहरु भने बस्नेतले कांग्रेसको सबै भोट नपाउने र नरबहादुरले पनि केही भोट काट्दा आफ्नो दलको उम्मेदवारले जित्ने दाबी गर्छन् । ‘शक्ति आफैंमा टेष्टेड हुन् । पुरानै प्रतिस्पर्धी भएकाले कांग्रेसले पूर्णरुपमा सहयोग पनि गर्दैन । केही मत नरबहादुर जीले काट्नु हुन्छ,’ एमालेका पूर्व प्रदेशसभा सदस्य करविर शाही भन्छन्, ‘हामी आफ्नो भोटको बलमा चुजाव जित्छौं ।’

२०७४ मा प्रदेशसभामा पाइसकेको टिकट खोसिएकाले उनले सहानुभूति मत पाउनसक्छन् । आचार्य भन्छन्, ‘हार्ने डर भएकाहरु मोर्चाबन्दी गर्छन् । मेरो जित सुनिश्चित छ, यो पटक जाजरकोटमा माओवादीको विरासत तोडिन्छ ।’

पहिले सहयोग, अहिले प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्यका लागि शक्ति बस्नेतसँग प्रतिस्पर्धा गरिरहेका निरज र नरबहादुर दुवै २०७४ मा सहयोगी भूमिकामा थिए । एमाले र माओवादीको वाम तालमेल भएका कारण निरज, शक्तिलाई भोट माग्दै हिँडेका थिए ।

नरबहादुरले पनि ०७४ मा बस्नेतलाई सघाएका थिए । त्यो बेला माओवादीले उनलाई प्रदेशसभाको टिकट दिने बचन पनि दियो, तर एमालेसँग तालमेल भए पछि उनले टिकट पाएनन् । चुनाव जितेपछि नफर्किने शैलीका कारण नागरिक आजित भएको भन्दै उनले अब आफू उपयुक्त विकल्प भएको दाबी गर्छन् ।

स्थानीय चुनावको गणित

वाम गठबन्धनका कारण प्रत्यक्ष चुनाव हारे पनि समानुपातिकतर्फ कांग्रेस पहिलो शक्ति थियो । उसले २० हजार ४८६ मत पाउँदा एमालेले १७ हजार ६७१ र माओवादीले १३ हजार ५७१ मत पाएको छ । तर स्थानीय चुनावसम्म आइपुग्दा अवस्था फेरिएको छ । ३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारहरुले पाएको मतका आधार एमाले पहिलो दल बनेको छ ।

एमालेले २४ हजार ४ मत पाउँदा कांग्रेसको २२ हजार ३४२ र माओवादीको १८ हजार ६२२ मत छ । एकीकृत समाजवादीको २ हजार ३३४ मत देखिन्छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?