+
+

एमालेले राजावादीलाई किन बोक्यो, अचम्म लागेको छ : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १५:१६

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापाबाट जन्मेको एमालेले राजावादीलाई बोकेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

उनले जनआन्दोलनहरुमा राजतन्त्र पक्षधरले झापामा ठूलाे दमन गर्दा कांग्रेसभन्दा बढी एमाले शिकार भएको विगत कोट्याउँदै नेतृत्वले फेरि त्यही पक्षलाई बोक्नु अनुचित भएको टिप्पणी गरे । शुक्रबार अनलाइनखबरसँगको अन्तर्वार्तामा  उनले भनेका छन् :

पार्टी जे भए पनि उहाँ (राजेन्द्र लिङ्देन) ले राजतन्त्रको माग गरेर भोट पाएको होइन । उहाँलाई वाम गठबन्धनले जिताएको हो । एमाले, माओवादीलगायतका शक्तिले भोट हालिदिएपछि उहाँको बढी भयो । उहाँकै मत त्यस्तो बढी होइन । तर राजावादीलाई एमाले र माओवादीले किन विगतमा बोके, यो बुझिएको छैन ।

यहाँ मेरो प्रतिस्पर्धामा एमाले छैनन् पनि । तर यसपालि पनि किन एमाले नेतृत्वले राजतन्त्रवादीलाई बोकेको हो, मलाई एकदमै अचम्म लागेको छ । झापाबाट जन्मेको पार्टी हो एमाले । लामो संघर्ष र बलिदान भएको पार्टी हो । हामी निरंकुश पञ्चायतका मानिसहरुलाई मण्डले भन्थ्यौं ।

मण्डलेबाट दमन भोगेकै पार्टी हो एमाले । एमालेले झन् बढी दमन भोगेको हो कांग्रेसभन्दा पनि । २०४६ सालदेखि २०६२–६३ को आन्दोलनमा समेत भद्रपुरमा सयौं मानिस घाइते भए । दुई जना त शहीद नै भए । यस्तो सहादत प्राप्त गरेको ठाउँमा एमालेले फेरि राजतन्त्रवादीलाई नै समर्थन गर्ने गल्ती किन दोहोर्‍यायो, मलाई आश्चर्य लागेको छ ।

यो संविधानको जग भनेको गणतन्त्र हो । २००७ सालको परिवर्तनको मौलिक उपलब्धि भनेको लोकतन्त्र थियो । त्यस्तै अहिले २०६३ को परिवर्तनको मौलिकता चाहिं गणतन्त्र हो । यत्रो परिवर्तन ल्याउन भूमिका खेल्ने शक्तिले राजतन्त्रवादी शक्तिलाई पटक पटक बोक्नु राम्रो होइन ।

अनलाइनखबरले साेध्यो – गणतन्त्रले सही ‘डेलिभर’ नगर्दा अरु पात्रहरुले प्रोत्साहन पाउन थालेका हुन् भन्ने तपाईंलाई लाग्छ ?

सिटाैलाले भने :  लाग्छ । तपाईंले खासमा सही कुरा उठाउनुभयो । पार्टीहरु सिद्धान्त, आदर्श, मूल्यमान्यतामा आधारित भएर चल्दा त्यस्तो हुँदैनथ्यो । निजी स्वार्थमा आधारित भएर चल्दा स्थिति फरक हुँदै जाँदो रहेछ । संविधान निर्माणपछि चुनाव त भएको थियो तर यो संविधानको वास्तविक कार्यान्वयन अहिलेसम्म पनि हुन सकेन ।

जति पनि कानुनहरु संसदबाट निर्माण हुन सक्नुपर्थ्यो, सारमा एउटा पनि निर्माण हुन सकेन । त्यसैले संविधानको जीवन्त रुप वास्तवमा देख्न पाइएन । यसले गर्दा जनतामा वितृष्णा बढ्दै गयो । गणतन्त्रले के दिन्छ भन्ने खालको पनि सोच उत्पन्न भयो होला ।

तसर्थ आगामी संसदबाट हामीले संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल गर्न सक्नुपर्छ । कानुनहरु बनाउनुपर्छ । जनताले संवैधानिक व्यवस्थाबाट हामीलाई आर्थिक प्रगति भो, सामाजिक सांस्कृतिक प्रगति भो भन्ने महसुस गर्न पाउनुपर्छ । हामीले त्यस्तो अवस्था निर्माण गर्नुपर्छ । सत्तापक्ष, प्रतिपक्ष संसदमा जो भए पनि समग्रमा हामीले निश्चित दूरी र समझदारी दुवैमा बसेर काम गर्न सक्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?