+
+
नवौं राष्ट्रिय खेलकुद :

पौडीमा पहिलो दिन ३ स्वर्ण जितेकी एस्लीको नेपालबाट खेल्ने चाहना

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ असोज २९ गते २०:२४
एस्ली सापकोटा डंगोल (बीचमा) स्वर्ण पदकका साथ । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२९ असोज, पोखरा । परिवारसहित अमेरिकामा बस्दै आएकी एस्ली सापकोटा डंगोलले नवौं राष्ट्रिय खेलकुदको आयोजनाबारे एक महिनाअघि थाहा पाएकी थिइन् । सामाजिक सञ्जालमा उनले खेलेको भिडियो देखेर गैरआवासीय नेपाली संघ (एनआरएनए)का टिम म्यानेजर स्वयम्भुराज डंगोलले नेपालमा आएर खेल्ने उनलाई प्रस्ताव गरेका थिए ।

एनआरएनएको टिममा समावेश भएपछि एक महिनाको विषेश तयारीपछि एस्ली गत सोमबार नेपाल आइपुगेकी हुन् । शनिबारदेखि सुरु पौडी प्रतियोगितामा एस्लीले पहिलो दिन नै तीन स्वर्ण जितेर आफूलाई बलियो प्रतिस्पर्धीका रुपमा उभ्याएकी छन् ।

‘नियमित प्रशिक्षण त गरिरहेकै थिएँ । मैले नेपालमा राष्ट्रिय च्याम्पियनसिप खेल्दैछु भनेर थाहा पाएको एक महिना भयो । त्यसपछि तयारी गरेर आएकी हुँ,’ पहिलो दिन तीन स्पर्धाको स्वर्ण जितेपछि एस्लीले भनिन्, ‘टाइमिङ चित्त बुझेको छैन । अझै राम्रो गर्न सक्थेँ ।’ चार दिनसम्म चल्ने राष्ट्रिय प्रतियोगितामा उनले आठ वटा स्पर्धामा सहभागिता जनाउनेछिन् ।

अमेरिकामै जन्मेर उतै हुर्किएकी एस्लीले नेपालमा पहिलोपल्ट राष्ट्रिय च्याम्पियनसिप खेलेकी हुन् । क्यालिफोर्नियामा राज्यस्तरकी पौडी खेलाडी १६ वर्षीय एस्लीले चार वर्षअघि लिटिल एञ्जल्स स्कुलमा आयोजित प्रतियोगिता खेल्न पहिलोपल्ट नेपाल आएकी थिइन् ।

नेपाली पौडीकी सर्वाधिक सफल खेलाडी गौरिका सिंह अस्वस्थ भएर खेल्न नसकेपछि राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिताको रौनक एस्लीले कायम राखिन् । एस्लीले स्वर्ण जितेको तीन वटै स्पर्धाको राष्ट्रिय कीर्तिमान (सर्ट कोर्ष) गौरिकाको नाममा छ । तीनमध्ये दुई स्पर्धाको फाइनल खेलमा गौरिकाले स्वास्थ्यका कारण वाकओभर दिएपछि एस्लीलाई जित्न सहज भएको हो । तर, शनिबार बिहान भएको १०० मिटर फ्रिस्टाइलमा उनले गौरिकाभन्दा राम्रो टाइमिङ निकालेकी थिइन् ।

पोखराको फिस्टेल एकेडेमीको सर्ट कोर्ष (२५ मिटर पौडी पोखरी)मा उनले १०० मिटर फ्रिस्टाइलमा १ मिनेट ०१.४२ सेकेण्डको टाइमिङसहित स्वर्ण जितिन् । यो स्पर्धामा त्रिभुवन आर्मी क्लबकी अनुशिया तण्डुकार १ मिनेट ०१.६० सेकेण्डको टाइमिङसहित रजत र नेपाल पुलिसकी मेघन गुरुङले १ मिनेट ०६.२८ सेकेण्डको टाइमिङसहित कांस्य जितिन् ।

२०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जित्ने क्रममा एस्लीले रजत विजेता बागमती प्रदेशकी आरजु थापामगरलाई झण्डै एक मिनेटको समयअन्तरमा पछि पारिन् । एस्लीले २ मिनेट ३६.०४ सेकेण्डमा दूरी पूरा गर्दा आरजुले सोही दूरीका लागि ३ मिनेट १७.९९ सेकेण्ड लगाइन् । ४ मिनेट २८.८६ सेकेण्डको टाइमिङसहित प्रदेश १ की उपासना राईले कांस्य जितिन् ।

५० मिटर बटरफ्लाईमा एस्लीले ३० सेकेण्डको टाइमिङसहित स्वर्ण जितेकी हुन् । त्यसक्रममा उनले त्रिभुवन आर्मी क्लबकी डुवाना लामालाई पछि पारिन् । डुवानाले सो दूरीका लागि ३२.१५ सेकेण्डको टाइमिङ खर्चिइन् । नेपाल पुलिसकी मेघन गुरुङ ३२.५२ सेकेण्डको टाइमिङसहित यो स्पर्धामा कांस्यको हकदार बनिन् ।

पहिलोपल्ट नेपालमा ठूलो प्रतियोगिता खेल्न आएकी एस्ली आफ्ना प्रतिस्पर्धीबारे जानकार थिइनन् । केवल गौरिकालगायत केहि खेलाडीको नाम सुनेकी थिइन् । ‘मैले गौरिका, टिसा, अनुसियाको नाम सुनेकी थिएँ, तर उनीहरुले खेलेको देखेको थिइनँ । डर पनि लागिरहेको थियो,’ गौरिकासँग प्रतिस्पर्धा गर्न नपाएकोमा उनले खल्लो लागेको बताइन् ।

आमाबाबु नेपाली भए पनि विदेशमै जन्मिएकी उनीसँग अमेरिकाको पासपोर्ट छ । त्यसले नेपालबाट अन्तर्राष्ट्रिय सहभागिताका लागि असम्भव बनाउनेछ । तर, एस्लीले नेपालबाट खेल्ने चाहना व्यक्त गरेकी छन् ।

‘आगामी राष्ट्रिय प्रतियोगिताहरुमा पनि नेपालमा आएर खेल्नेछु । नेपालबाटै अन्तर्राष्ट्रिय सहभागिता गर्ने चाहना छ,’ अमेरिकाको पासपोर्ट त्याग्न तयार हुनुहुन्छ त ? भन्ने प्रश्नमा उनले थपिन्, ‘यसबारे अहिले नै निर्णय गरेको छैन । मामु बाबासँग सल्लाह गर्नुपर्छ ।’

शारीरिक समस्याको उपचारका क्रममा सुरु भएको पौडी यात्रा

१६ वर्षीया एस्लीले ४ वर्षको उमेरदेखि पौडी खेल्न सुरु गरेकी हुन् । सानैमा देखिएको एउटा शारीरिक समस्याको उपचारका क्रममा उनलाई पौडी पोखरीमा पु¥याइएको थियो । त्यसले उनलाई अहिले व्यावसायिक पौडी खेलाडीका रुपमा स्थापित गर्ने बाटो खोलिदियो ।

‘एस्ली ४ वर्षको हुँदा उसको खुट्टा बाङ्गो हुने समस्या देखियो । हामीले डाक्टरलाई देखाउँदा पौडी थेरापी सबैभन्दा उपयुक्त हुने सुझाव पायौं,’ छोरीको हौसला बढाउन पोखरा आएकी आमा रेनुका सापकोटाले भनिन्, ‘त्यतिबेलादेखि अहिलेसम्म उसको पौडी यात्रा निरन्तर छ ।’

सन् १९९८ मा अमेरिका पुगेका रेनुका र उनका श्रीमान सञ्जयलाल डंगोल लामो समय अमेरिकाकै साइपान आइल्याण्डमा बसे । एस्ली ९ वर्षको हुँदा जापानको टोकियो जुनियर च्याम्पियनसिपमा सहभागी हुने अवसर पाएकी थिइन् । त्यहाँ उसले आफ्नो उमेर समूहको स्पर्धामा स्वर्ण जितिन् । ‘त्यसपछि छोरीले पनि यही खेललाई करिअर बनाउने निर्णय लिइन् । हामीले सहयोग गर्‍यौं,’ रेनुका भन्छिन् ।

चार वर्षअघि क्यालिफोर्निया बसाई सरेको यो परिवारले छोरा छोरी दुवैलाई पौडी प्रशिक्षणमा निरन्तर पठाइरह्यो । कोरोनाकालमा आर्थिक समस्या हुँदा उनीहरुलाई प्रशिक्षणबाट निकाल्न खोजे पनि छोराछोरीको चाहनामा आफूहरु हार खाएको रेनुकाले बताइन् । ‘छोरा आशिषले अमेरिकाको राष्ट्रिय जुनियर च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेको थियो । उनीहरु दुवै आफ्नो स्कुलका च्याम्पियन हुन् । स्कुलबाट पनि सहयोग पाएका छौं,’ रेनुका भन्छिन् ।

आशिषले पनि एनआरएनए टिमबाट नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका छन् । पहिलो दिन उनले १५०० मिटर फ्रिस्टाइलमा रजत जिते । उनको टाइमिङ १६ मिनेट ५७.९५ सेकेण्डको छ । यो स्वर्ण विजेता नासिर याह्या हुसेनभन्दा झण्डै ६ सेकेण्डले कम हो ।

पौडी प्रतियोगिताको पहिलो दिन ८ स्वर्णको छिनोफानो भएको छ । जहाँ २०० मिटर इन्डिभिज्युअल मिड्लेमा त्रिभुवन आर्मी क्लबकी डुवाना लामाले सर्टकोर्षको राष्ट्रिय कीर्तिमान बनाइन् । उनले हिट चरणमा सुधार गरेको २ मिनेट ३१.४६ सेकेण्डको कीर्तिमानमा अझै सुधार गरी २ मिनेट ३०.६७ सेकेण्डको टाइमिङ निकालिन् ।

पहिलो दिन त्रिभुवन आर्मी क्लब ३ स्वर्ण, ३ रजत र १ कांस्यसहित शीर्ष स्थानमा रहँदा ३ स्वर्ण र १ रजतसहित एनआरएनए टिम दोस्रो स्थानमा छ । २ स्वर्ण, २ रजत र १ कांस्य जितेको एपीएफ तेस्रो स्थानमा छ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?