+
+

बिग्रिएका र थन्किएका मोबाइल फोनको संख्या ५ अर्ब ३० करोड !

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १२:४६

काठमाडौं । जब तपाईंले नयाँ स्मार्टफोन किन्नुहुन्छ, तब आफ्नो पुरानो फोनलाई के गर्नुहुन्छ ? स्मार्टफोन मात्र होइन तपाईंको घरमा यस्ता धेरै पुराना विद्युतीय उपकरण होलान् जुन लामो समयदेखि प्रयोग गरिरहनु भएको छैन ।

हालै सार्वजनिक भएको एक रिपोर्टले यसै विषयमा निकै अनौठो तथ्यको खुलासा गरेको छ । जस अनुसार यो वर्षको अन्त्यसम्ममा विश्वमा ५ अर्ब ३० करोड मोबाइल फोनहरु काम नलाग्ने हुनेछन् । बिग्रिएका तथा प्रयोगमा नआउने त्यस्ता फोनहरु फोहोरमा फ्याँकिनेछन् र त्यसमध्ये निकै थोरै फोनको मात्रै सही ढंगले नष्ट तथा व्यवस्थापन हुनेछ ।

वेस्ट इलेक्ट्रिकल्स एण्ड इलेक्ट्रोनिक इक्विपमेन्ट फर्मले गरेको सर्भेक्षणले यस्तो तथ्यको खुलासा गरेको हो । उक्त अध्ययन सर्भेक्षणमा मानिसहरुले किन आफ्नो पुरानो विद्युतीय ग्याजेटलाई मर्मत तथा रिसाइकल गराउनका लागि ल्याउँदैनन् भन्ने प्रश्नको जवाफ खोजिएको थियो ।

अध्ययनको रिपोर्ट अनुसार युरोपेली देशहरुमा हरेक घरमा औसतमा ७४ वटा प्रयोगविहीन तथा बिग्रिएका विद्युतीय उपकरणहरु यत्तिकै थन्किएका छन् ।

पोर्चुगल, नेदरल्याण्ड, इटाली, रोमानिया तथा स्लोभेनियामा गरिएको अध्ययन तथा बेलायतमा गरिएको एक छुट्टै अध्ययनका आधारमा उक्त निष्कर्ष निकालिएको हो । यसमा युरोपका ५ देशका ८ हजार ७७५ वटा घरमा सर्भेक्षण गरिएको थियो । ती घरमा स्मार्टफोन, ट्याबलेट, ल्यापटप, विद्युतीय टुल्स, हेयर ड्रायर, टोस्टर तथा अन्य विद्युतीय अप्लाएन्सेसको विवरण लिइएको थियो ।

त्यसरी विवरण संकलन गरिएका ७४ वटा विद्युतीय उपकरणमध्ये औसतमा १३ वटा प्रडक्ट प्रायः प्रयोगविहीन छन् र घरमा त्यत्तिकै राखिएका छन् । ९ वटा उपकरण काम लाग्ने छन्, तर पनि प्रयोग गरिएको छैन भने ४ वटा टुटफुट भएर थन्काइएको छ ।

यदि ती सबै घरभित्र त्यत्तिकै प्रयोगहीन रुपमा थन्काइएका उपकरण एकठाउँमा थुपार्ने हो र औसत मोटाइ ९ मिलिमिटर मान्ने हो भने त्यो ५० हजार किलोमिटर अग्लो बन्दछ । त्यो उचाईं अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशन भन्दा १ सय २० गुणा माथि हो भने पृथ्वी र चन्द्रमा बीच रहेको दूरीको ८ भागको १ भाग हो ।

त्यसरी घरमा त्यत्तिकै थन्काइएका उपकरणहरुमा पुनःचक्रण गरी सुन, तामा, चाँदी तथा अन्य धातुहरु समेत निकाल्न सकिने भएपनि त्यसको उपयोग गरिएको छैन । धेरै घरमा दराज, ड्रयर तथा ग्यारेजमा ती थन्किएका हुन्छन् । केहीलाई डस्टबिनमा फ्याँकेर फोहोरमा हालिन्छ र राम्रोसँग डिस्पोज पनि हुँदैनन् ।

युरोपमा यत्तिकै थन्किएका शीर्ष ५ उपकरणमा सबैभनदा धेरै साना विद्युतीय उपकरण, एक्सेसरिज (हेडफोन, रिमोट कन्ट्रोल आदि) तथा अन्य घरेलु उपकरण छन् । त्यसमा स–साना सूचना प्रविधि उपकरण, मोबाइल तथा स्मार्टफोन पनि रहेका छन् ।

उक्त सर्भेक्षण गत जुनदेखि सेप्टेम्बरसम्म गरिएको हो । रिपोर्ट अनुसार एलईडी ल्याम्प थन्किएका उपकरणको सूचिमा सबैभन्दा माथि छ । यो सर्भेक्षण युरोपका पाँच देशमा मात्र गरिएको हो । यसबाट विश्वभर विद्युतीय उपकरणजन्य फोहोर अर्थात् ई–वेस्ट कति होला ? तपाईं सहजै अनुमान गर्न सक्नुहुन्छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?