+
+
नवौं राष्ट्रिय खेलकुद :

पौडीमा एकै दिन ३ राष्ट्रिय कीर्तिमान सुधार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते २०:३५
स्वर्ण पदकका साथ नासिर, डुवाना र गौरिका । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीको दोस्रो दिन १० स्वर्णको छिनोफानो हुँदा तीन वटा राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

पुरुषमा त्रिभुवन आर्मी क्लबका नासिर हुसेनले दुई स्पर्धामा र महिलामा आर्मीकै डुवाना लामाले यसअघि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे ।

२०० मिटर इन्डिभिज्युअल मिड्लेमा नासिरले २ मिनेट ११.२३ सेकेण्डको टाइमिङसहित नयाँ कीर्तिमान कायम गरे ।

यो स्पर्धामा सन् २०२१ को फिना विश्व च्याम्पियनसिपमा उनले २ मिनेट ११.८३ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

यो स्पर्धामा एनआरएनए टिमका आशिष सापकोटाले २ मिनेट १४.२० सेकेण्डसहित रजत र बागमतीका सेरेन सिंहले २ मिनेट १९.८९ सेकेण्डसहित कांस्य जिते ।

२०० मिटर फ्रिस्टाइलमा पनि नासिरले आफ्नो नाममा रहेको कीर्तिमानमा करिब तीन सेकेण्डले सुधार गरे ।

उनले निर्धारित दूरी १ मिनेट ५५.३९ सेकेण्डमा पूरा गरी नयाँ कीर्तिमानसहित स्वर्ण जिते । उनले यसअघि सन् २०२१ को डिसेम्बरमा आबुधावीमा आयोजित फिना विश्व पौडी च्याम्पियनसिपका क्रममा १ मिनेट ५८.३० सेकेण्डको कीर्तिमान बनाएका थिए ।

नासिर हुसेन । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो स्पर्धामा आर्मीकै अलेक्जेन्डर शाह मिलिसेकेण्डले पछि पर्दै रजतमा सीमित भए । उनले १ मिनेट ५५.४८ सेकेण्डको टाइमिङ निकाले । बागमती प्रदेशका इरभिन श्रेष्ठले २ मिनेट ०२.७५ सेकेण्डमा दूरी पूरा गरी कांस्य जिते ।

महिलाको ५० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले ३५.२३ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । उनले यसअघि सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुदमा बनाएको ३५.४६ सेकेण्डको आफ्नै कीर्तिमान सुधार गरेकी हुन् ।

डुवाना लामा । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो स्पर्धामा एपीएफकी रोयल प्रजापतिले ३५.८० सेकेण्डसहित रजत र आर्मीकी उपास्ती महर्जनले ३६.५२ सेकेण्डसहित कांस्य जिते ।

गौरिकाले नाम फिर्ता लिएको २०० मिटर फ्रिस्टाइलको फाइनलमा डुवानाले स्वर्ण जितिन् । उनले २ मिनेट १४.६४ सेकेण्डमा दूरी पूरा गरिन् । यो स्पर्धामा नेपाल पुलिसका आर्या महर्जन र समीरा थापामगरले क्रमशः रजत र कांस्य जिते ।

अस्वस्थताका बीच गौरिकाले जितिन् दुई स्वर्ण

पहिलो दिन शनिबार अस्वस्थ भएपछि दुई वटा फाइनल स्पर्धामा वाकओभर दिएकी गौरीकाले दोस्रो दिन दुई स्वर्ण जितिन् । त्रिभुवन आर्मी क्लबकी उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ०५.५० सेकेण्डसहित स्वर्ण जितिन् ।

एनआरएनएकी एस्ली सापकोटा डंगोलले रजत जितिन् । उनले १ मिनेट ०८.७९ सेकेण्डको टाइमिङ निकालिन् ।

गौरिका सिंह बीचमा । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

४ सय मिटर फ्रिस्टाइल रिलेमा गौरिकासहित डुवाना, उपास्ती महर्जन र अनुशिया तण्डुकारको टिमले ४ मिनेट १९.४५ सेकेण्डसहित स्वर्ण जिते ।

बागमती प्रदेशका रोशा न्यौपाने, श्रेनु महर्जन, जारिया महर्जन र टिसा महर्जनसम्मिलित टिमले ४ मिनेट २६.५९ सेकेण्डमा दूरी पूरा गरी रजत तथा नेपाल पुलिस क्लबका अदिस्पा बैद्य, आर्या महर्जन, समीरा थापामगर र मेगन गुरुङको टिमले ४ मिनेट २८.०३ सेकेण्डमा दूरी पूरा गरी कांस्य जिते ।

पहिलो दिन दुई स्वर्ण जितेका एपीएफका रायन गुरुङले आइतबार एक स्वर्ण थपे । उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ०२.८४ सेकेण्डमा दूरी पूरा गरी स्वर्ण जितेका हुन् । यो स्पर्धामा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत तथा एपीएफका जडेन महर्जनले कांस्य जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?