
३० असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा आइतबारको खेलमा त्रिभुवन आर्मी, एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
समूह ‘बी’ मा रहेको आर्मीले आइतबार मधेश प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले २५–११, २५–१२ र २५–१६ को सेटमा सहज जित निकालेको हो ।
विभागीय टिमको अघि मधेश प्रदेशको खेल निकै फितलो थियो । उक्त जितसँगै आर्मीले कुल ६ अंक पुर्याएर समूहको शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनल यात्रा तय गरेको छ । आर्मीको क्वार्टरफाइनमाल भेट समूह ‘डी’ को उपविजेता वाग्मती प्रदेशसँग हुने छ ।
शनिबारको अर्को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई कुनै मौका दिएन । एपीएफले २५–१३, २५–१८ र २५–१० को जितसँगै प्रतियोगिताको बलियो प्रतिस्पर्धीका रुपमा आफूलाई उभ्याएको छ । दुई खेलको जितले ६ अंक जोडेर समूह ‘सी’ को विजेता बनेको एपीएफले क्वार्टरफाइनल सुनिश्चित गरेको छ ।
शनिबार नै समूह ‘ए’ मा रहेको लुम्बिनीले कर्णाली प्रदेशलाई हराएर ३ अंक जोड्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह उपविजेता हुँदै लुम्बिनीले एपीएफसँगको भेट पक्का गरेको हो ।
लुम्बिनीले कर्णालीलाई २५–१५, २५–२१ र २५–२० ले पराजित गर्यो । उक्त खेलसँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ मा रहेको पुलिस यसअघि नै ६ अंकसहित शीर्षस्थानमा रहेर क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।
सोमबार प्रदेश १ र मधेश प्रदेश, एनआरएनए र सुदूरपश्चिमबीच खेल हुने छ । पहिलो खेलको विजेतासँग गण्डकी प्रदेश र दोस्रो खेलको विजेतासँग पुलिसले क्वार्टरफाइनलमा खेल्ने छ । क्वार्टरफाइनलका खेल मंगलबार हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4