
३१ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ । लिभरपुलको जितमा दोस्रो हाफमा मोहम्मद सलाहले गरेको गोल नै निर्णायक बन्यो । उनले ७६औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले सिटीसँग निकै रोमाञ्चक जित निकालेको हो । प्रिमियर लिगमा निकै बलियो देखिएको सिटीलाई परास्त गर्दै लिभरपुल अंक तालिकामा एक स्थान माथि उक्लिएको हो ।
५३औं मिनेटमा फिल फोडेनले गोल गरे पनि उक्त गोलले प्राविधिक कारणले मान्यता नपाउँदा सिटीले अग्रता लिन बाट चुकेको हो ।
८६औं मिनेटमा लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप रातो कार्ड खाँदै टचलाइन छाड्न बाध्य भए । उनले मैदानमा खेलाडी माथि फाउल भएको भन्दै अनैतिक व्यवहार गरेको ठहर गर्दै उनलाई रातो कार्ड दिइएको थियो ।
त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र लिभरपुल विजयी भएको हो ।
यस जितसँगै लिभरपुल ९ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याउने अवसर गुमाउँदा दोस्रोमा यथावत रहेको छ । सिटीले १० खेलबाट २३ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4