१ कात्तिक, काठमाडौं । सरकारले जीर्ण भएको सुन्धारालाई ब्युँताउन तीन विकल्प अघि सारेको छ । सुन्धारामा बाह्रैमास पानी खसाल्ने योजनाका साथ विभिन्न विकल्प प्रयोग गर्न लागिएको हो ।
धरहरा पुनर्निर्माणका लागि काम भइरहँदा सुन्धाराको पनि जीर्णोद्धारको काम गर्न लागिएको छ । पानीको मूल सुकेर अलपत्र परेको सुन्धारालाई सकेसम्म प्राकृतिक रुपमै पानीको स्रोत खोज्ने पहिलो विकल्पका रुपमा रहेको शहरी विकास तथा भवन निर्माण विभागका पुनर्निर्माण इकाइ प्रमुख प्रभाकरलाल कर्णले बताए ।
‘महाँकाल क्षेत्रबाट सुन्धारामा प्राकृतिक रुपमै पानी ल्याउन लागेका छौं,’ उनले भने,’सकेसम्म आकाशे पानी जम्मा भएको प्राकृतिक रुपमै धारामा खसाल्ने योजना छ ।’
भवन निर्माण विभागले सुन्धारामा पानी अभाव हुँदा इनारबाट पनि खसाल्ने अर्को विकल्प पनि रााखेको छ । त्यसका लागि सुन्धारा क्षेत्रमा इनार खनिसकिएको कर्णले बताए । इनारको पानी सुन्धारमा खसाल्न सकिने विभागको भनाइ छ ।
त्यसैगरी सुक्खा समयमा हुनसक्ने संकटलाई ध्यानमा राखेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पाइपलाइनबाट समेत पानी लिएर सुन्धारामा खसाल्ने विकल्प तयार गरिएको उनले बताए ।
‘सुन्धारालाई जीवन्त राख्ने र पानी नसुक्ने अवस्थामा बनाउन तीन विकल्पमा काम गरिररहेका छौं,’ उनले भने,’अब सुन्धारा ब्युँतन्छ ।’ यसका लागि महानगरपालिका र स्थानीयबासीसँग सहमति भइसकेको कर्णले बताए ।
दुई दशकदेखि अलपत्र सम्पदा
सुन्धाराका कारण नै धरहरा रहेको ठाउँलाई काठमाडौंले ‘सुन्धारा’ भन्ने गर्छ । धरहरा नजिकै रहेको यो सुनौलो धाराले उक्त ठाउँलाई नाम दिएको भएपनि सुन्धारा धेरै वर्षदेखि पानी हराएको छ ।
सन् २०००तिरसम्म सुन्धारा पनि महत्वपूर्ण स्मारक थियो । २०७२मा धरहराको ढल्नुअघि यसले आफ्नो प्रसिद्धि गुमाएको थियो ।
सुन्धाराले स्थानीयहरूलाई पानी र मनोरन्जन गर्ने ठाउँ उपलब्ध गराएको थियो । अहिले यो धारा सुनसान छ, धाराको परिसरमा शिवालय र फोहोर पानीले भरिरहन्छ ।
‘लुहिती’ (सुन्धाराको स्थानीय नेवा नाम) धरहरासँग मिलेर भीमसेन थापाले रानी त्रिपुरा सुन्दरीका लागि सन् १८२५ मा बनाएका थिए । ढुङ्गा र ढुङ्गाका स्ल्याबको वास्तुकलाले पूर्ण रूपमा सजाइएको परिसरमा पाँचवटा ढुङ्गाका धाराहरू पनि छन् । प्रत्येक धाराको शीर भागमा विभिन्न देवीहरूलाई समर्पित मन्दिर छन् ।
कुनै समय बूढानीलकण्ठ जलप्रणाली हुँदै राजकुलोबाट निस्कने प्राकृतिक पानी यहाँबाट बग्दथे । भुइँको पानी सजिलै प्राप्त गर्न सकून् भनेर जमिनको सतहभन्दा केही मिटर मुनि धाराहरू राखिएको छ ।
तर, पछिल्ला दुई दशकदेखि ती धाराहरू सुक्दै गए ।
सम्पदा अभियन्ता यादवलाल कायस्थ काठमाडौं मल बनाउँदा यो लुहितीको पानीकाे मूल अवरुद्ध भएको बताउँछन् ।
विज्ञहरुका अनुसार टुँडिखेल नै सुन्धारामा आउने भूमिगत पानीको अर्को स्रोत थियो । रानीपोखरीदेखि रंगशालासम्म फैलिएको टुँडिखेलमा दक्षिणभागमा सिम्सार क्षेत्र थियो । रंगशाला बनेपछि त्यो मासियो । बालुवाले भरिएको टुँडिखेलबाट वरपर रहेका ढुंगेधाराहरुमा धारामा पानीको अभाव हुँदैन थियो ।
वरपरका क्षेत्र कंक्रिटले भरिएपछि सुन्धारा संकटमा पर्यो । २०४२ सालमा काठमाडौं मल बनाउन बालुवा निकालेर माटो भरेपछि सुन्धाराको जलस्रोत र पुरानो हिति प्रणाली बिथोलियो ।
स्थानीयले असहमति जनाएपछि केही वर्ष मल बन्न रोकियो । ०५६ सालमा काठमाडौं मल बनेपछि सुन्धारा सुक्यो । त्यसपछि पनि मलाग्दी भएका निर्माणका कामले वर्षायाममा सुन्धारामा झरेको पानीको निकास समेत मेटिन पुग्यो ।
धारा सुकेपछि स्थानीयवासी पनि पानी उपयोग गर्नबाट बञ्चित भए ।
यसलाई प्राकृतिक रुपमै ब्युताउनुपर्ने माग स्थानीयवासी र सम्पदाप्रेमीहरुको छ । तर, वरपर कंक्रिट नै कंक्रिटका संरचना भएकाले यसमा १२ महनिा नै प्राकृतिक पानी बगाउन अन्य विकल्पमा पनि खोजी भएको छ ।
पुनर्निर्माण इकाइका प्रमुख कर्ण पानी ल्याउनेबारेको अन्योल सकिए पनि धाराको पानीलाई कसरी सुन्धारा क्षेत्रबाट बाहिर पठाउने भन्ने अध्ययन नै भइरहेको बताउँछन् ।
‘प्राकृतिक रुपमा नै सुन्धाराको पानीलाई बगेर जाने व्यवस्था गर्नुर्पो माग स्थानीबासीको छ,’ उनले भने,’तर, सो क्षेत्रमा बनेका भवनले प्राकृतिक रुपमा बगाउन समस्या पर्ने देखिएको छ, अध्ययन गर्दैछौं ।’
प्रतिक्रिया 4