+
+

१५ महिनासम्म पनि नतिजा दिंदैन त्रिवि

त्रिविले करिब दर्जन बढी परीक्षाको नतिजा तोकिएको समयअनुसार सार्वजनिक गर्न सकेको छैन ।

नुनुता राई नुनुता राई
२०७९ कात्तिक २ गते १९:४४

२ कात्तिक, काठमाडौं । परीक्षा भएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि त्रिविले १५ महिनासम्म नतिजा सार्वजनिक गर्न सकेको छैन ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७८ साउनमा सञ्चालन भएको चारवर्षे बीबीएस, चार वर्षे बीए र फागुनमा सञ्चालन भएको बीएस्सी चौथो वर्षको नतिजा अझै सार्वजनिक भएको छैन ।

करिब १५ महिना हुन लाग्दा पनि कहिले नतिजा सार्वजनिक हुन्छ भनेर परीक्षा नियन्त्रण कार्यालयले भन्न सक्ने अवस्था नभएको जनाएको छ । पनिकाका सहनियन्त्रक डा. घनश्याम ठाकुर भन्छन्, ‘हामी धमाधम काम गरिरहेका छौं । सकेसम्म छिटो सार्वजनिक गर्छौं ।’ कतिपय कर्मचारीलाई डेंगु लागेको कारण थप काममा प्रभावित भएको बताउँछन् ।

त्रिवि व्यवस्थापनको कमजोरीका कारण मानसिक दबाव झेल्नु परिरहेको विद्यार्थीहरु बताउँछन् । बीए तेस्रो वर्षमा अध्ययनरत रक्षा राई त्यसबेलाको अप्ठ्यारो अवस्था देखाएर त्रिविले आफ्नो कमजोरी लुकाउन खोजिरहेको जिकिर गर्छिन् ।

त्रिविले नै पायक पर्ने स्थानमा परीक्षा दिन पाउने व्यवस्था गरेपछि त्यही अनुरुप उत्तरपुस्तिका संकलन गर्नुपर्ने तयारी गर्नुपर्ने उनको भनाइ छ । ‘कुन विद्यार्थीले कहाँबाट परीक्षा दिएको छ भन्ने सूचना त त्रिविले नै केलाएर राख्नुपर्ने होला नि ।’

उनी अगाडि थप्छिन्, ‘अहिले को विद्यार्थीले कहाँबाट दिए, उत्तरपुस्तिका नै संकलन भएको छैन अथवा उत्तरपुस्तिका आएन भनेर अनुपस्थित देखाएर हामीलाई तनाव दिन मिल्ने कुरा हो र ?’

त्रिवि परीक्षा नियन्त्रण कार्यलयले कोभिडका कारण पटक–पटक परीक्षा स्थगित गर्न तथा तोकिएको परीक्षा केन्द्रमा विद्यार्थी पुगेर परीक्षा दिन नसक्ने भएपछि पायक पर्ने क्याम्पसमा गएर परीक्षा दिन पाउने व्यवस्था गरेको थियो ।

सोही अनुसार विद्यार्थीले विभिन्न क्याम्पसबाट परीक्षा दिएकाले उत्तरपुस्तिका जम्मा पार्न समय लागेको, कतिपय विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको कारणले नतिजा प्रकाशन गर्न ढिला भइरहेको पनिकाले जवाफ दिँदै आइरहेको छ ।

बीबीएस तेस्रो वर्षमा अध्ययनरत सुजाता घिमिरे भने लामो समयदेखि नतिजा नआउँदा मानसिक तनाव भइरहेको बताउँछिन् । उनी भन्छिन्, ‘१५ महिना भइसक्दा पनि नतिजा नआउँदा तनाव त भइहाल्छ नि । समयमा नतिजा आएको भए यसबेलासम्म दुई पटक ब्याक पेपर दिन भ्याइसक्थ्यो ।’

बीबीएस चौथो वर्षमा अध्ययनरत सुमित्रा ढुंगाना त्रिवि व्यवस्थापन कति कमजोर छ भन्ने नतिजा समयमा नआउनुले स्पष्ट देखाउने बताउँछिन् । उनी भन्छिन्, ‘पहिलो वर्षको त कोभिडको कारण समस्या भएको भनेर बहाना मिलेको छ त्यसो भए हाम्रो अस्ति वैशाखमा दिएको परीक्षाको नतिजा चाहिँ किन आएन त ?’ उनले तेस्रो वर्षको परीक्षा गत वैशाखमा दिएको बताइन् ।

त्रिविले विना तयारी विद्यार्थीको पायक पर्ने स्थानबाट परीक्षा लिँदा अहिलेको समस्या देखिएको एक प्राध्यापक बताउँछन् । उनी भन्छन्, ‘त्रिविको कमजोरी हो । विना तयारी विद्यार्थीको पायक पर्ने स्थानबाट परीक्षा लियो । त्यसपछि उत्तरपुस्तिका संकलनमा ध्यान दिएन ।’

उनको भनाइ अनुसार निश्चित क्याम्पस तोकिनुपर्थ्यो अथवा परीक्षा लिने क्याम्पसलाई कुन क्याम्पसको कुन विद्यार्थीको परीक्षा लियो त्यो अनुसार उत्तरपुस्तिका छुट्याएर पठाउन लगाउनुपर्थ्यो । तर १५ फरक–फरक क्याम्पसका २५ जना परीक्षार्थीले एउटा क्याम्पसमा परीक्षा दियो उत्तरपुस्तिकासँगै राखेर पठाउँदा समस्या भएको उनको बुझाइ छ ।

उनी भन्छन्, ‘त्यो भनेको त्रिविको कमजोरी हो र अर्को परीक्षा लिने क्याम्पसले पनि सहजीकरणको भूमिका खेल्न सक्थ्यो तर परीक्षा दिन आउनेको लियो गोलमटोल उत्तरपुस्तिका पठायो ।’

धरान बहुमुखी क्याम्पस प्रमुख दामोदर भण्डारी भने परीक्षा नियन्त्रण कार्यालयले प्राथमिकताको आधारमा नतिजा प्रकाशन गरिरहेको जिकिर गर्छन् । उनी भन्छन् ‘समयमा नतिजा नआउँदा अलि–अलि तनाव त विद्यार्थीलाई हुन्छ नै ।’ तर, नतिजा नआएर माथिल्लो तहमा पढ्न नै नमिल्ने जस्तो अप्ठ्यारो नभएको उनी बताउँछन् ।

फागुनमा सञ्चालन भएको बीएस्सी चौथो वर्षको नतिजा प्रकाशन नहुँदा विदेश पढ्न जान चाहने विद्यार्थीहरु भने चिन्तित छन् ।

स्नातकोत्तर तह विदेश जाने तयारीमा लागिरहेका विकल लामा अक्टोबरभित्र नतिजा नआए अर्को ६ महिना ढिला हुने डरले चिन्तित बनाइरहेको बताउँछन् । उनी भन्छन्, ‘अब अक्टोबर भित्र नतिजा नआए अर्को ६ महिना कुर्नुपर्छ । त्यो भनेको त धेरै समय हो । विद्यार्थीको भविष्य सोचेर जसरी हुन्छ छिटो नतिजा निकाल्नुपर्यो त्रिविले ।’

त्रिविले करिब दर्जन बढी परीक्षाको नतिजा तोकिएको समयअनुसार सार्वजनिक गर्न सकेको छैन ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?