+
+

थवाङमा बिरामी बोक्न स्ट्रेचरकै भर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १३:३९

२ कात्तिक, रोल्पा । जिल्लाको थवाङ गाउँपालिका–४ उवाकी इलासी रोकामगरलाई सुत्केरी गराउन परिवार र आफन्तले दिनभर स्ट्रेचरमा बोकेर जलजला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र पुर्‍याए ।

२७ असोजमा थवाङको सो अस्पतालले सामान्य उपचार गरी थप उपचारका लागि अन्यत्र लैजान सुझाव दियो । थप उपचारका लागि सदरमुकाम लिवाङ लैजाँदै गर्दा उनले थवाङ गाउँपालिका–२ गल्चोक जंगलमा बच्चा जन्माइन् ।

एपेन्डिक्सको बिरामी थवाङ गाउँपालिका– ५ उवाकी २६ वर्षकी विनज्योति पुनलाई उपचारका लागि डोकोमा बोकेर थवाङ अस्पताल लगियो । सामान्य उपचार गरेको अस्पतालले थप उपचारका लागि २७ गते नै रिफर गर्‍यो । उनले थप उपचारमा जान यातायातको अभावमा सास्ती भोग्नुपर्‍यो ।

ग्रामीण भेगमा बस्ने अधिकांश रोल्पालीहरुले वर्षात् तथा त्यसपछिका केही समयसम्म यस्तै समस्या भोग्ने गर्छन् । अझ यस्तो समस्या थवाङमा बढी छ ।

ठाडो भौगोलिक वनावट रहेको रोल्पाका अधिकांश सडक विना इन्जिनियरिङ बनेका कारण वर्षातमा क्षतिग्रस्त हुने गर्छन् । डोजर प्रयोग गरेर खनिएका त्यस्ता सडक वर्षातसँगै क्षतिग्रस्त हुन्छन् र मर्मतमा वर्षेनी सरकारको ठूलो रकम खर्च हुने गर्छ ।

वर्षायाममा खसेको पहिरोका कारण क्षतिग्रस्त बनेको सुलिचौर फुलिवन हुदै थवाङ जोड्ने सडक अझैसम्म मर्मत हुन सकेको छैन ।

सम्बन्धित निकायले समयमै सडक मर्मत सम्भारमा चासो नदेखाउँदा बिरामीलाई अस्पताल पु¥याउन पनि समस्या भएको थवाङका गोविन विकको भनाइ छ ।

‘सडक मर्मत नहुँदा घण्टौं पैदल यात्रा गर्न बाध्य हुनुपरेको छ’ विकले भने, ‘थवाङमा दैनिक उपभोग्य सामग्री आपूर्तिमा समेत असहज भएको छ ।’

जिल्लाका अन्य गाउँपालिकाले वर्षाका क्रममा क्षति भएको सडक मर्मत गरिसके भने थवाङ गाउँपालिकाले भने अहिलेसम्म मर्मत गरेको छैन ।

थवाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढाले सडक मर्मत आफूहरुको क्षेत्राधिकारमा नपर्ने बताए ।

‘सडक पूर्वाधार कार्यालयको क्षेत्राधिकार भित्रको सडक भएकाले गाउँपालिकाको तर्फबाट आफूहरुले सम्बन्धित कार्यालयलाई यथाशीघ्र काम अगाडि बढाउन भनेका छौं’ उनले भने ।

सडकमा खसेका सामान्य पहिरो हटाउने काम गाउँपालिकाले तिहारअघि नै सक्ने अध्यक्ष बुढाको भनाइ छ । ‘यस वर्षको वर्षात अलि ढिलासम्म हुँदा सडक सफाइको काम केही ढिलो भयो’ उनले भने ।

रोल्पाका अधिकांश भूभाग सडक सञ्जालसंग जोडिदा थवाङमा भने धेरै पछि मात्रै सडक पुगेको हो । थवाङ जान हाल सुलीचौर, फुलिवन हुँदै एउटा, लिवाङ, घर्तीगाउँ हुँदै अर्को र रुकुम पूर्वको महतबाट अर्को गरी तीन सडक छन् ।

हिउँदमा यातायातका साधन चले पनि वर्षातमा ती सडक अवरुद्ध हुने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?