+
+
विचार :

उदीयमान चीन र थुसिडाइड टक्कर

अमेरिकालगायतका स्थापित शक्तिहरूले अरूको प्रगतिमा आफूलाई समस्या देख्नुहुँदैन । आफ्नो हैसियत र दबदबाको प्रतिस्थापन हुने शंकाले अरूको विरोध गर्नुभन्दा नयाँ सशक्त योजना निर्माणमा लाग्नुपर्छ । कसैले टक्कर दिन खोजे त्योभन्दा उचाइको सफलताले प्रत्युत्तर दिनुपर्छ या त टक्कर स्वीकार्नुपर्छ ।

डा. अतीन्द्र दाहाल डा. अतीन्द्र दाहाल
२०७९ कात्तिक ३ गते १६:२४

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं बैठक र त्यसका निचोडहरूले संसारको ध्यान आकृष्ट गरेको छ । यस अलावा युक्रेन युद्ध, ताइवान तनावलगायत केही विषय विश्व–राजनीतिक बहसमा निकै चर्चामा छन् । गाजाको गञ्जागोल र अफगानिस्तानको अस्थिरता पनि केही अघिसम्म बाक्लै परिचर्चामा थिए । आम जनमानसमा कतै फेरि अर्को विश्वयुद्ध त हुँदैन भन्ने त्रास व्याप्त छ ।

शीतयुद्ध र सफ्ट पावरको अवधारणालाई माथ गर्दै पुनः आमनेसामने गरम युद्ध अनि हार्ड पावरले संसारलाई अधिनस्थ गर्न लागेको हो कि भन्ने शंकाको सुविधा समेत स्वाभाविक बन्दैछ । केही विश्लेषकहरू भने अब विश्वयुद्ध चाहिं हुन नसक्ने तर व्यापार युद्ध भने अवश्यंभावी भएको बताउँछन् । उक्त व्यापार युद्धलाई थुसिडाइड संकटको संज्ञा दिइँदैछ ।

संकटको अवधारणा

विश्वका सबैजसो देश सफलता तथा असफलताको चक्रबाट गुज्रनु एउटा स्वाभाविक चरित्र हो । एउटै शक्तिले सदाकाल उस्तै सामर्थ्य अनि सदावहार आधिपत्य कायम गर्न सक्दैन । कमजोर देश शक्तिशाली बन्ने अनि शक्तिशाली देश क्षय हुँदै कमजोर बन्ने चक्र सामान्य हुन् । यसरी सामथ्र्यको चक्र परिवर्तन हुने सवालमा स्थापित शक्तिहरूलाई उदीयमान शक्तिहरूले टक्कर दिनुलाई थुसिडाइड ट्रयाप भनिन्छ ।

प्राध्यापक, अमेरिकन राजनीतिशास्त्री एवं सुरक्षा प्रतिरक्षा विशेषज्ञ ग्राहाम टी एलिसनकृत पुस्तक ‘डेस्टाईन्ड फर वारः क्यान अमेरिका एण्ड चाइना इस्केप थुसिडाइड ट्रयाप’ (सन् २०१७) बाट उक्त शब्द प्रचलनमा आयो । २४०० वर्ष पहिले लेखक जर्ज थुसिडाइडले ‘द हिस्ट्री अफ पेलोपोनेसियन वार’ नामक पुस्तक लेखे ।

तत्कालीन स्पार्टा एक समृद्घ राज्य अनि स्थापित शक्ति थियो । उदीयमान शक्ति एथेन्सले उसलाई निरन्तर विभिन्न पक्षबाट चुनौती दिइरहन्थ्यो । त्यस्तो प्रतिस्पर्धामा दुई देशबीच युद्ध हुँदा पूरै पेलोपोनेसियन क्षेत्र प्रभावित भएको निष्कर्ष निकालियो ।

थुसिडाइडले कल्पना गरेको यस्तो आधारको युद्धलाई एलिसनले आफ्नो पुस्तकमार्फत थुसिडाइड ट्रयापको नामकरण गरिदिए । त्यसपछि यसलाई छोटकरीमा ‘टी ट्रयाप’ समेत भन्ने गरिन्छ । यद्यपि मौखिक रूपमा भने अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका रिपोर्टर डेभिड स्यांगरले तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओको अमेरिका भ्रमण कार्यक्रमहरूमा सहजकर्ताको रूपमा यो शब्द प्रयोग गरेको भनिन्छ ।

संसारमा अहिलेसम्म स्थापित शक्तिलाई उदीयमान शक्तिले टक्कर दिएका १६ घटनामध्ये १२ वटा भीमकाय युद्धमा रूपान्तरण भएको देखिन्छ । सोह्रौं शताब्दीमा फ्रान्समाथि ह्याम्सबर्गको चुनौती, सत्रौं शताब्दीमा ब्रिटेनमाथि फ्रान्सको सशक्त दाबा, उन्नाइसौं शताब्दीमा फ्रान्समाथि जर्मनीको दबाव, अनि बीसौं शताब्दीमा रसिया र बेलायतमाथि जर्मनीका चुनौती यस्ता थुसिडाइड संकटका उदाहरण हुन् ।

अहिले चीनको आक्रामक उदयलाई पश्चिमा जगतले थुसिडाइड टक्करको सम्भावना मान्दैछ ।

परिवर्तित सन्दर्भमा अबको विश्वबजार भनेको एशिया नै हो । संसारको केवल ३० प्रतिशत भूभाग ओगटेको यो महादेशका ५० देशमा विश्वको ६५ प्रतिशत जनसंख्याको बसोबास छ । अहिले एशियाली देशहरूमा नै उच्च आर्थिक सबलताको गति समेत छ । तसर्थ, सबै देशले यस क्षेत्रलक्षित व्यापार प्रवर्धनमा विशेष चासोसाथ कुटिल र काबिल योजना ल्याउँदैछन् ।

युरोप लामो समयदेखि आर्थिक समस्या र सुस्तताबाट ग्रसित छ । अमेरिकाभन्दा चीनको आर्थिक आयतन र गति दुवै अगाडि गइसकेको प्रक्षेपण गरिंदैछ । सन् २००८ को विश्व मन्दी तथा २०१९ को कोरोना संकटबाट उसको अर्थ आकार झन् बढेको तथ्यांक छ । तसर्थ उसका योजनाबाट स्थापित शक्तिमाथि अवश्य थुप्रै चुनौती थपिनसक्छ तर बाँकी जगत त्रसित नै हुनुपर्ने कारण चाहिं छैन ।

पश्चिम तर्सिनुहुँदैन

विश्वभर एक देशले अर्कोमाथि आधिपत्य कायम गर्न आर्थिक सबलता नै सबैभन्दा पहिलो हतियारको रूपमा प्रयोग भएको नजिर देखिन्छ । एक समय सानो देश बेलायत पनि असमानान्तर र भव्य शक्तिका रूपमा स्थापित थियो । संसारका झन्डै ७० प्रतिशत भूभागलाई अधीनस्थ राख्यो । ती विभिन्न देशमा पुग्ने पहिलो बहाना व्यापार नै थियो । अठारौं शताब्दीको औद्योगिक क्रान्तिपछि उनीहरूमा अधिक उत्पादनको अवस्था आयो । ती सामान विक्रयका लागि विश्वभर फिरंगी भए अनि जहाँजहाँ पुगे, त्यहाँत्यहाँ साम्राज्य बनाए । संसारभर हैकम जमाए, रवाफ कमाए ।

द्वितीय विश्वयुद्धले ग्रस्त युरोपियन अर्थतन्त्रलाई उठाउन अमेरिकाले मार्शल प्लान बनाउँदै आफ्नो प्रभाव फैलायो । संयुक्त राष्ट्रसंघको स्थापनापछि अमेरिका सर्वशक्तिमान भयो । अठारौं र उन्नाइसौं शताब्दी युरोपको दबदबामा थियो । बीसौं शताब्दीमा अमेरिकाले विश्वलाई अगुवाई गर्‍यो । एकाईसौं शताब्दीमा एशियाबाट चीनको अगुवाइमा त्यो सम्भावनाको संकेत आइसकेको भनिन्छ । तसर्थ, पश्चिमी गोलाद्र्धलाई आफ्नो हैसियत तथा विरासतको प्रतिस्थापन हुने त्राससँगै अनिश्चित र असुरक्षित भविष्यको बोध भएको हुनसक्छ ।

स्यामुल पी हन्टिङ्गटनको पुस्तक ‘द क्ल्यास अफ सिभिलाइजेशन’ले अबका युद्ध धर्मसँगै आर्थिक प्रतिस्पर्धाका कारण हुनसक्ने बताउँछ । अहिले पनि पूँजीवादी र समाजवादी अर्थव्यवस्थाबीच लडाईं चल्दैछ । अमेरिका पूँजीवादको प्रचारक मानिन्छ जसलाई केही समय पहिलेसम्म रूसले प्रतिनिधित्व गरेको समाजवादको दबाव थियो । विश्वयुद्धपछि रूसले कोमकेन प्लान ल्याउँदै अमेरिकालाई टक्कर दिएको थियो । नाटोसँग मुकाबिला गर्न वार्सा प्याक्ट बन्यो तर १९९० मा मिखाइल गोर्बाचोभको समयमा सोभियत संघ विभाजित भयो ।

लेखक फ्रान्सिस फुकुयामाको ‘द इण्ड अफ हिस्ट्री एन लास्ट मिन’ नामक पुस्तक आयो । संसारमा समाजवादी समूहको चिर अन्त्य भएकोले इतिहासको एक खण्ड समाप्त भएको बताइयो । पूँजीवाद र समाजवादको प्रतिस्पर्धामा समाजवाद पराजित भएको मानियो । संसारमा पूँजीवादले निरन्तर एकाधिकार जमाउने निष्कर्ष निकालियो । कसैले पनि पूँजीवादलाई चुनौती दिन नसक्ने भएकाले यही पुस्ता नै द्वन्द्व देख्ने अन्तिम मानिस हुने तर्क गरियो ।

संसारभर यस्ता पुस्तकहरू पढाइयो र पश्चिमा पूँजीवाद मात्र एक अन्तिम सत्य अनि शक्ति भएको बुझ्न बाध्य गराइयो । तर अहिले चीनको प्रगति आक्रामक बन्यो, सम्पूर्ण एशियाभर उसको दबदबा बढ्दैछ । बीआरआई नामक व्यापारिक परियोजना यही प्रयोजनको लागि ल्याइएको देखिन्छ । टोम मिलरकृत पुस्तक ‘चाइनाज एशिया ड्रिम’ अनि बर्नल्याण्ड कोेलिशको पुस्तक ‘चाइनाज क्वेस्ट फर ग्लोबल पावर’ले यसै भन्छन् ।

माओको सांस्कृतिक क्रान्तिसँगै दाईसिया पिंगले समाजवाद उन्मुख आर्थिक नीति लिएपछि चीनको आर्थिक प्रगतिले असमानान्तर छलाङ मार्दैछ । चीन संसारको उच्च व्यापार नाफा भएको मुलुक हो । हरेक देशको आर्थिक सम्पन्नता दुई फरक आयामबाट नापिन्छ । पहिलो कुल गार्हस्थ्य उत्पादन र दोस्रो, प्रति व्यक्ति आयको क्रय क्षमता । यी दुवैमा चीनले विश्वलाई पछि पारिसकेको भनिन्छ । द्रुत शताब्दी सपना, अर्ध शताब्दी रणनीति र ३० वर्षे कार्यक्रम जस्ता योजना बनाएर चीन अगाडि आइरहेको छ ।

केही विश्लेषकहरू यही कारण अब युरो–अमेरिकन जगत सके चीनलाई विनाश गर्ने, नसके पराजित गर्ने, अझै नसके बेइज्जती गर्ने र त्यो पनि नसके उसको अस्तित्व अस्वीकार गर्ने नीतिमा अडिग हुने अनुमान गर्छन् । यस्तोलाई ‘फोर डी’ नीति (डिस्ट्रोय, डिफिट, डिफेम र डिनाई) भन्ने गरिन्छ । यदाकदा उत्तरकोरियालाई सामानहरू आपूर्ति गराएको अनि कहिलेकाहीं संयुक्त राष्ट्रसंघको प्रतिस्थापनमा वैकल्पिक शक्ति आवश्यक रहेको भन्ने गरेकाले अथवा सुरक्षा परिषदका केही विवादित विषयमा भिटोसमेत प्रयोग गरेकाले पश्चिमी देशहरू तर्सिनु स्वाभाविक देखिन्छ ।

यद्यपि चीन तथा अमेरिका दुवै सामरिक शक्ति भएकाले आफ्नो प्रतिस्पर्धा र साख प्रवर्द्धनमा जोड दिए पनि युद्धमै चाहिं नपुग्लान् । अबको नागरिक तहसमेत सचेत बन्दैछ । संसार नै एक गाउँ भएको अवस्थामा विश्वव्यापी दबाव पर्न सक्छ । अन्य खालका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय निकायले समेत युद्ध ननिम्त्याउन सघन दबाव दिनसक्छन् । दुई राष्ट्रपतिबीच समेत विश्व शान्ति र स्थिरतार्थ सँगै काम गर्ने सहमति भएको सुनिन्छ । तसर्थ व्यापार प्रतिस्पर्धाले विश्वयुद्ध नै निम्त्याउने सम्भावना कमै छ ।

यहाँनेर, अमेरिकालगायत स्थापित शक्तिहरूले अरूको प्रगतिमा आफूलाई समस्या देख्नुहुँदैन । आप्mनो हैसियत र दबदबाको प्रतिस्थापन हुने शंकाले अरूको विरोध गर्नुभन्दा नयाँ सशक्त योजना निर्माणमा लाग्नुपर्छ । कसैले टक्कर दिन खोजे त्योभन्दा उचाइको सफलताले प्रत्युत्तर दिनुपर्छ या त टक्कर स्वीकार्नुपर्छ ।

(लेखक काठमाडौं स्कुल अफ ल, पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापन गर्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?