+
+
स्थलगत :

नलबारीका नमिल्दा दुई दृश्य : कहाँ राप्रपा, कहाँ रेखा थापा !

दर्शकदीर्घाभन्दा बाहिरपट्टि सेल्फी खिच्न चाहने, अनि टिकटक बनाउने युवतीहरूको निर्विकल्प छनोट बनिहालिन् रेखा । उनी भुइँतलामा छिरिन्, त्यस मास्तिरका तलाहरूमा पसेर आमाहरूलाई अंकमाल गर्न थालिन् । नानीबाबुहरूलाई काखमा लिएर चुम्न थालिन् । स्कुले केटीहरूलाई टाउकोमा हात राखेर आशीर्वाद दिइन् । नजिकैको ब्युटिपार्लर र कस्मेटिक पसलबाट एक हूल युवती हुरुरुरु निस्किए ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ कात्तिक ४ गते २०:२५

४ कात्तिक, बेलबारी (मोरङ) । ‘हिम्मतवाली, मोरङकी चेलीलाई नलबारीमा स्वागत छ !’

सलकपुरमा अवस्थित आफ्नो घरबाट नजिकैको नलबारीमा अभिनेत्री रेखा थापा पुग्नेबित्तिकै सुर्ती सल्काइरहेका एक हूल महिला जर्‍याकजुरुक उठे । माइकमा इको इफेक्ट चाहिएको थिएन, तर आयोजकले गाउँघरकै शैलीमा प्रिमियम भ्यालु दिन खोजे ।

बिहीबार बिहान लक्ष्मीमार्गको नलबारीमा माइक्रोफोन बोकेका उद्घोषकले रेखा थापालाई सिनेमाको पर्दामा भेटेकै चरित्रका आधारमा प्रहरी इन्स्पेक्टर, साहसी महिला, हिम्मतवाली, मोरङकी चेली शब्दले पुकारिरहे । गाउँलेहरू उनलाई सिनेमाकै चरित्र देखेर वरिपरि आउँछन्, जबकि उनी खुद राजनीतिमा आइसकिन् ।

केही मिनेटअघिसम्म यहाँ कुनै चहलपहल थिएन । बेलबारीको सिर्जनाघरमा अनलाइनखबरसँग लामो कुराकानी सकेर रेखा नलबारी पुग्दा राप्रपा कार्यकर्ता माइक वरिपरि एउटै हातका औंलामा गन्न पुग्ने संख्यामा थिए । मोरङ–३ बाट प्रदेश सभाका समानुपातिक उम्मेदवार धनध्वज लिम्बूले चर्को कराएका थिए, ‘प्रजातन्त्र भनेको डेमोक्रेसी हो । डेमोक्रेसी भनेको अफ् द पिपुल, बाइ द पिपुल हो ।’ आज नेपाली टोपीको बेइज्जत गर्ने काम डेमोक्रेसी भन्नेहरूले गरिरहेको भन्दै उनले त्यो वास्तविक प्रजातन्त्र नभएको दाबी गरेका थिए ।

उनीपछि बोलेका मोरङ ३ (२) का उम्मेदवार रमेश रिजालले मंसिर ४ लाई भ्रष्टाचारी, भष्मासुरहरूको सर्वनाश गर्ने दिन भनी अर्थ्याए । संघीयताअन्तर्गत प्रदेश सभामा राप्रपाबाट उम्मेदवारी दिएका उनले संघीयताको विरोध गरे । ‘गणतन्त्र, धर्मनिरपेक्षताले देश सखाप पारेको छ’ उनले भने, ‘हाम्रो हिन्दु राष्ट्रको गौरव आज कहाँ गयो ? कसले जिम्मा लिन्छ ?’ नेताहरूले यत्रा राष्ट्रवादी एजेन्डा उठाइसके । नलबारीमा कसैले खायस गरेको देखिएन । चोकका चिया पसल, खुद्रा किराना पसलभरि मान्छे आ–आफ्ना गफ र किनमेलमा व्यस्त थिए। रेखा थापा नआउँदासम्म ।

पार्टनर बलराम शाही ठकुरीसँगै रातो कारमा नलबारी पुगेकी रेखा सबैलाई हात हल्लाउँदै, नमस्कार गर्दै ओर्लिन् । उनीसँगै दर्शकहरूको एउटा नयाँ भीड सिर्जना हुनगयो । टोलमा भइरहेको कोणसभाको अग्रभागतर्फ कसैको ध्यान गएन । राप्रपाले नचाहेको व्यवस्था अन्तर्गत उठेका समानुपातिक उम्मेदवार, अनि नचाहेकै प्रदेश सभाका सदस्यको भाषण नलबारीमा बिकेन ।

दर्शकदीर्घाभन्दा बाहिरपट्टि सेल्फी खिच्न चाहने, अनि टिकटक बनाउने युवतीहरूको निर्विकल्प छनोट बनिहालिन् रेखा । अघिसम्म हाइरार्कीका आधारमा चलिरहेको थियो कार्यक्रम । रेखाले कुनै ‘हाइरार्की’ बनाइनन् । उनी भुइँतलामा छिरिन्, त्यस मास्तिरका तलाहरूमा पसेर आमाहरूलाई अंकमाल गर्न थालिन् । नानीबाबुहरूलाई काखमा लिएर चुम्न थालिन् । स्कुले केटीहरूलाई टाउकोमा हात राखेर आशीर्वाद दिइन् । नजिकैको ब्युटिपार्लर र कस्मेटिक पसलबाट एक हूल युवती हुरुरुरु निस्किए । रेखा तिनीहरूसँगै एकाकार भइन् । केटाहरू सडक पारिबाट रेखालाई हेर्न थाले ।

यस्तोमा लिम्बु र रिजालको भाषण सुनेर को बस्ने ? तर उनीहरूले भीड देखाउँदै भन्न छाडेनन्, ‘देख्नुभो राप्रपाको लहर ? अब छिटै देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक आरक्षणको भण्डाफोर हुनेछ । भ्रष्टाचारीको उठिबास हुनेछ । ३३ वर्षदेखि सर्प संरक्षण अभियानमा खटिएका पशुपन्छी अभियन्ता प्रेम विष्ट रेखाको पर्चा र कार्ड बाँड्दै नलबारी पुगेका थिए । उनले आफ्नो ढाकाटोपी देखाउँदै भने, ‘अब यो टोपीको रक्षा गर्ने अभियान सुरु भएको छ ।’

रेखाका लागि यो चुनाव नियमित आकस्मिकता जस्तै बनेर आइदियो । एमाले–राप्रपा तालमेलको लाभ उठाउँदै उनी साझा उम्मेदवार बन्न चाहन्थिन् । एमाले अध्यक्ष केपी ओलीले यसअघि चुनाव जितेका पूर्वमन्त्री भानुभक्त ढकालको विकल्प सोच्न नसकिने जवाफ दिएपछि रेखासँग आफ्नै बुतामा लड्ने हिम्मत गर्नुको विकल्प रहेन ।

विना संगठन, विना कार्यकर्ता उनी एक्लै मैदानमा ओर्लिइन् । मोरङ–३ मै पर्ने सुन्दरहरैंचा सलकपुरको ऐलानी जग्गामा हेर्न लायक घर बनाएकी रेखाले हिजोआज आफूलाई सुकुम्बासी परिवारकै सदस्य भन्न थालेकी छन् । अनलाइनखबरसँग अन्तर्वार्ता दिने क्रममा उनले यही जिकिर गरिन् ।

किस्मत, मालिका, हिम्मत जस्ता सिनेमा खेलेकी रेखाको राजनीतिक किस्मत पनि चर्चायोग्य नै छ । आजभन्दा १३ वर्षअघिको प्रसंग कोट्याउनुपर्ने हुन्छ, जुन बेला उनले माओवादीलाई समर्थन दिएकी थिइन् । कटवाल काण्डपछि नागरिक सर्वोच्चता फर्काउने माओवादीको अभियानमा साथ दिंदै उनले २०६६ सालमा त्यसका अध्यक्ष प्रचण्डसँग नाचेको प्रसंगलाई विभिन्न कोणबाट विश्लेषण गरिएको थियो । रेखाका सिनेमाहरूलाई माओवादी कार्यकर्ताले शुभेच्छासाथ, विरोधीले आलोचनासाथ बुझ्न थालेका थिए ।

२०७० को चुनावमा प्रचण्ड काठमाडौं १० र सिरहा २ बाट उम्मेदवार थिए । कीर्तिपुरको आमसभामा सम्बोधन गर्न माओवादी अध्यक्षसँगै भारतीय पत्रकार आनन्दस्वरुप बर्मा, लेखक खगेन्द्र संग्रौलालगायत पुगेका थिए । सभाको बीचतिर रेखा पुगिन् । उनलाई प्रचण्ड छेउमा आसन ग्रहण गराइयो । उद्घोषकले उनलाई बोलाएपछि पोडियमबाट माइक निकालेर उनले सभालाई कन्सर्टकै जस्तो रूप दिइन् । उनी चर्को स्वरमा बोलिन्, तपाईंहरू मलाई माया गर्नुहुन्छ ?

तलबाट अलिअलि आवाज आयो, ‘गर्छौं ।’

‘मैले सुनिनँ, डु यु लभ मी ?’

‘गर्छौं ।’

‘अझै सुनिनँ, मलाई माया गर्नुहुन्छ भनेको ?’

अब तलको घोषणा टड्कारो सुनियो, ‘गर्छौं, गर्छौं ।’

कीर्तिपुर बाघभैरव क्षेत्रमा भएको सभाले रेखाको प्रस्ताव अनुमोदन गरेको भान भएर हुनुपर्छ, लगत्तै उनी बोलिन्, ‘तपाईंहरू मलाई साँच्चिकै माया गर्नुहुन्छ भने आउने संविधानसभा चुनावमा प्रचण्डलाई भोट दिनुहोस् । उहाँ नेपालको क्रान्तिकारी नायक हो । उहाँ गणतन्त्रको जन्मदाता हो, उहाँ गरिबको मुक्तिदाता हो ।’

प्रचण्ड मञ्चमा मखलेल भएर मुसुमुसु हाँसे । आफ्नो बोल्ने पालोमा उनले रेखालाई धन्यवाद दिए ।

माओवादीको दुर्भाग्य ! कीर्तिपुरका मतदाताले रेखालाई मात्रै माया गरे, प्रचण्डलाई गरेनन् । कांग्रेसका राजन केसी पहिलो, एमालेका सुरेन्द्र मानन्धर दोस्रो हुँदा माओवादीका प्रचण्ड तेस्रो बन्न पुगे ।

२०७४ को चुनाव बेलासम्म रेखा विप्लव समूहकी शुभेच्छुक भइसकेकी थिइन् । माओवादी छिन्नभिन्न भइसकेको थियो । प्रचण्डले एमालेसँग मिलेर समृद्धिको नारा दिंदैगर्दा विप्लव समूहले चुनाव बहिष्कार र अवरोधको घोषणा गरेको थियो । रेखाले विप्लवलाई समर्थन गर्नुको अर्थ उनी बहिष्कारवादी मतकै आवाज बन्न गएको भन्ने अर्थ लाग्थ्यो ।

विस्तारै रेखाको यात्रा मोडियो । व्यक्तिगत जीवन, अनि सिनेमा करिअरले उनलाई आफ्नै मानसिक दबावमा राखेको थियो । नलबारीको घरदैलो हेर्न आएका दुई युवा चियापसलमा भन्दैथिए, ‘पहिलेजस्तो क्रेज छैन उहाँको । भारतमा पनि कलाकारहरू यो स्टेजमा पुगेपछि राजनीतिमा छिर्छन् । उहाँले त्यस्तै सिक्नुभयो ।’

उनीहरूको भनाइमा मोरङ–३ मा यसपल्ट कांग्रेस र एमालेबीचकै प्रतिस्पर्धा हुनेछ, तर रेखाले पाउने भोट उल्लेख्य हुनेछ ।

उनीहरूले भनेझैं रेखाको उपस्थितिलाई मोरङ–३ मा कम आँक्न भने मिल्दैन । कांग्रेस र एमालेका घरदैलोले घरीघरी खेतमा पसेर धान काटेजस्तो गर्ने, पीङ खेल्नेबाहेक नागरिकसँग एकाकार हुने कुनै गतिविधि गरेका छैनन् । लामा र बोझिला भाषण गर्दै भानुभक्त ढकाल, अनि कांग्रेस उम्मेदवार सुनील शर्मा हिंडिरहेका छन् । यो पंक्तिकारसँग कुरा हुँदैगर्दा भानुभक्त ढकाल बुद्धिजीवि परिषद्लाई बन्द कोठाभित्र प्रशिक्षण दिंदै थिए । सुनील शर्मा चाहिं कांग्रेस जिताउने रणनीति बनाउन अनेक मिटिङमा व्यस्त छु भन्दै थिए ।

रेखा उनीहरूभन्दा पहिल्यै जनताबीच पुगिरहेकी छन् । अघिल्लोपल्ट जित्ने उम्मेदवारप्रति अक्सर मतदातामा पाइने असन्तुष्टिलाई आफ्नो पकडमा लिने उनको रणनीति छ । सँगै कांग्रेस उम्मेदवारलाई पनि उनले आक्रामक अभिव्यक्ति दिइरहेकी छन् ।

तर रेखाको शैली अरू उम्मेदवारको जस्तो छैन । भाषण एकदमै छरितो, छोटो छ । हिरोइन हुँ भन्ने स्टारडमलाई उनी यस्तरी सर्वसाधारणबीच पेश गर्छिन्, मानौं उनी यसअघि त्यो विशेष केही पनि होइनन् । उनी बोलीमा, शारीरिक हाउभाउमा अनि समग्र प्रस्तुतिमा आफूलाई सक्दो राजनीतिक, अनि व्यावहारिक देखाउन खोज्छिन् । थुप्रै महिलाहरूलाई रेखाको शैलीले छोएको देखियो ।

चुनाव आउन एक महिना बाँकी छँदा औपचारिक प्रचारप्रसार सुरु भएकै छैन । तर रेखाको प्रचारशैलीले वैशाखमा भएको काठमाडौंको महानगर चुनाव सम्झाउँछ । बालेन शाहको प्रचार शैलीभन्दा कत्ति पनि फरक छैन रेखाको शैली । बरु आफ्नो उपस्थितिलाई उनले अझै ओजिलो बनाउन सम्पूर्ण मिहिनेत लगाएकी छन् ।

‘हामीले अहिलेसम्म ज–जसलाई जिताएर पठायौं, उनीहरूले हामीलाई सधैं शोषण मात्रै गरिरहे । हरेकपल्ट हाम्रो मत दान मात्रै भयो’ रेखाले आफ्नो पालोमा माइक्रोफोन समातेर बोलिन्, ‘अब तपाईंहरू मतदाता बन्ने गल्ती नगर्नुहोस् । बरु आफ्नो मतको लगानीकर्ता बन्नुहोस् ।’

अनि थपिन्, ‘अनि आफ्नो मतको मालिक बन्नुहोस् ।’ ताली परर्र ।

उनले अझै चर्को आवाजमा थपिन्, ‘सधैं अरूलाई जिताएर पठाउनुभयो … ।’ केही बेर बोलीमा रुकावट । त्यस रुकावटको समय निर्धारित छ, जहाँनेर रेखाको परिपक्वता झल्कन्छ ।

त्यसपछि थपिन्, ‘अब आफू जित्नुहोस् ।’ फेरि ताली परर्र ।

‘अरूका लागि माला उनेर नबस्नुहोस् । मंसिर ४ को चुनावपछि म तपाईंहरूका लागि माला उनेर गाउँमा आउनेछु । तपाईं त्यस चुनावको विजेता हो ।’

ताली अझै परर्र । समर्थनमा सिट्ठीहरू ।

रेखा बोल्दै गइन्, ‘सुकुम्बासीका नाममा हामीलाई सधैं ठगियो । अब जग्गाको पुर्जा दिलाउन म जहाँ गएर जे पनि गर्न तयार छु । सकिनँ भने यहाँका ४० हजार सुकुम्बासी लगेर म सिंहदरबार घेर्न जानेछु ।’

अब त तालीको कुनै सीमारेखा नै छैन । रेखालाई नै बोल्न रोक्ने गरी ताली बजे । राप्रपाका पूर्ववक्ता महानुभावहरू पनि त्यो देखेर चकित परे ।

रेखाले उनीहरूझैं भाषणमा राजा ल्याउने कुरो गरिनन् । रेखाले डेमोक्रेसी र प्रजातन्त्रका शब्दार्थ बताइनन् । रेखाले संघीयताको विरोध पनि गरिनन् । उनले टोपीको रक्षा गर्ने कुरा भने छुटाइनन् ।

उनले भ्रष्टाचारीलाई आफ्ना अध्यक्ष राजेन्द्र लिङ्देनले दण्डित गरिछाड्ने उद्घोष गरिन् । उनले प्रियतावादका सबै पराकाष्ठा नाघ्ने गरी भनिन्, ‘हाम्रा अध्यक्षले भन्नुभएको छ, भ्रष्टाचार गर्नु भनेको आफ्नै आमाको खुन चुस्नु जस्तै हो ।’

यसमा पनि ताली नै ताली ।

मनग्गे बोलिसकेपछि रेखाले टुंग्याउने सुर कसिन्, ‘आज म खासमा बोल्न आएकी नै होइन । म सुन्न आएकी हुँ । आज तपाईं ती व्यक्तिहरू बोल्नुहोस्, जसले कहिल्यै राम्रोसँग खुलेर बोल्न पाउनुभएको छैन ।’

र, यो पनि भन्न छुटाइनन्, ‘म यहाँ भोट माग्न आएकी होइन ।’

अब त प्रष्टै बुझ्न सकिन्छ, रेखाले राजनीति बुझिसकिन् । दर्शकदीर्घामा उनका स्वयंसेवक रेखालाई हलोमा भोट दिएर जिताऔं भन्दै कार्ड बाँडिरहेका थिए ।

औपचारिकतामा सुरु भएको राप्रपा घरदैलो तथा कोणसभा पूरै अनौपचारिकता र हार्दिकतामा बदलियो । प्रौढ उमेरकाहरूलाई नजिकै गएर उनले ढोगिदिइन् । प्रौढाहरूमध्ये कतिलाई आफैंले माइक थमाइन् । बर्कोले मुख छोप्दै उनीहरू माइकमा टोलाए, ‘अरे हौ, के पो बोल्नु ? बोल्नै आउँदैन ।’

तर यसो भन्दाभन्दै पनि उनीहरूले रेखाप्रति कृतज्ञता व्यक्त गरे । नलबारीकी ६१ वर्षीय मानु चौधरीले माइकबाट बोलिन्, ‘पहिलापहिला ज–जसलाई भोट हालेको भए पनि यसपालि चैं लु देश हेरुँ मुख फेरुँ भनेर सोचेका छौं । प्रत्यक्षमै महिला उठेपछि हामीले पनि त चान्समा डान्स गर्नुपर्‍यो नि !’

तल दर्शकदीर्घामा हाँसो, तर समर्थनको ताली पनि । उनले हौसिंदै थपिन्, ‘अरू नेता जितिसकेपछि नाकमुख देखाउँदैन । यसपालि त टिभीमा देखेको हिरोनी आफ्नै गाउँमा आएकी छन् । मन परेको हिरोनीको लागि हामी केही गर्छौं ।’

एक दर्जनभन्दा बढी प्रौढ, युवा, महिलाले रेखाको पक्षमा बोल्दै गए । कसैले राप्रपाको लागि राजनीतिक समर्थन दिएको सुनिएन । केवल रेखाको लागि बोलेको सुनियो । सुक्मनी खवास, रविन लामिछाने लगायतले रेखाका लागि प्रशस्तै शुभेच्छा दिए ।

हामी पत्रकारहरूलाई रेखाले प्रतिनिधित्व गर्ने पार्टीबारे राजनीतिक प्रश्नहरू छन् । हामी सिद्धान्तमा पस्छौं । कहिलेकाहीं त्यसैको बन्दी बनेर आम सवालहरू उपेक्षा गर्छौं । हामीले सोधेका प्रश्नमा रेखाले राजतन्त्रकै पक्ष लिइन् । संघीयताको विपक्षमै उभिइन् । परिवर्तनका एजेन्डाहरूमाथि प्रश्न उठाउँदै उनले भनिन्, ‘अब देशलाई परिवर्तन चाहिएको छ ।’

खासमा रेखाले भन्दै गरेको परिवर्तन इतिहासलाई पछाडि धकेल्ने प्रयास हो, जसका विरुद्ध विशाल जनआन्दोलनले आफ्नो जनमत संगृहीत गरिसकेको छ । त्यसपछिका प्रत्येक चुनावले त्यही परिवर्तनलाई अनुमोदन गरेका छन् ।

तर सुकुम्बासी बस्तीमा यस्ता डिस्कोर्सको के काम ? उनीहरूलाई चाहिएको छ जमिनको पुर्जा । खोलाहरूले बगाएका खेतहरूलाई अब थप क्षति नहोस् भनेर उनीहरू माग्दैछन्, छिटोभन्दा छिटो तटबन्ध ।

अनलाइनखबरले बेलबारीमा रेखालाई सोध्यो, ‘यसअघिका जनप्रतिनिधिले नचाहेकै कारणले सुकुम्बासीका समस्या नचाहेरै समाधान नभएको हो भन्ने लाग्छ ?’

‘नचाहेरै हो भन्ने लाग्छ ।’

फेरि सोधियो, ‘कि तपाईंलाई यस्तो पनि लाग्छ, आफ्ना मतदातालाई कसले पो पुर्जाविहीन बनाउन चाहन्छ र ? हाम्रो संरचनाकै क्षमता कमजोर भएर उनीहरूले नपाएका हुन् ?’

‘अँ मलाई त्यो पनि लाग्छ । तर अरू पार्टीका प्रतिनिधिले चाहेर पनि पार्टीको ह्वीपका कारण रोकिएका हुनसक्छन् । म रेखा थापालाई पार्टीको ह्वीप नमान्ने छुट छ । जनताको मुद्दामा लड्न पार्टीले मलाई ह्वीप जारी गर्दैन, यो कुरा रेकर्ड गरेर राखे हुन्छ । ’

अवश्य, यो कुरा हामीले भिडियोमै रेकर्ड गरेका थियौं । उनले दाबीसहित भनिन्, ‘हाम्रो पार्टीका अध्यक्ष (लिङ्देन) आफैं क्रान्तिकारी स्वभावका हुनुहुन्छ ।’

‘तपाईंलाई तुरुन्तै सुकुम्बासीलाई लालपुर्जा दिलाउने, अनि तटबन्ध बनाउने प्रक्रिया तपाईंले सोचेजस्तै फटाफट भइहाल्छ भन्ने लागेको छ ?’

जवाफ दिने क्रममा उनी सतर्क देखिइन् । अब भीडलाई फकाएजस्तो सजिलो नहुनसक्थ्यो । ‘अहिले तुरुन्तै भइहाल्छ भन्ने छैन । तर जनप्रतिनिधिहरूले जुन स्तरको बेवास्ता र बहानाबाजी गरे, मेरोबाट त्यस्तो गल्ती हुँदैन । म जनताको वास्तविक आवाज बन्न चाहन्छु ।’

आफू बुवासँग सिंहदरबार जाँदा आफ्नै लालपुर्जा पाउनबाट हेपाइसँगै वञ्चित भएको बताइन् । कसले यसो गरेको, त्यसबेलाको सांसद को थियो भनेर उनले सम्झन नसकेको सकारिन् । ‘हाम्रा पितापुर्खाले खनिखोस्रेको जग्गाको पुर्जा हाम्रो हातमा दिंदा के अपराध हुन्छ ?’ उनले प्रश्न गरिन् ।

आफ्नो परिवारले रूखमा, सूर्यमा भोट हाले पनि समस्या समाधान नभएको, गर्न खोज्दाखोज्दै सरकार ढलेको जवाफ पाएको उनको भनाइ छ ।

मंगलबार पथरीमा आएका राजेन्द्र लिङ्देनले सुकुम्बासीलाई पुर्जा दिलाउने रेखाको अभियानमा राप्रपाले सबै सामर्थ्य लगाएर साथ दिने बचन दिए ।

रेखालाई सघाउने कार्यकर्ताको डफ्फा त छैन तर स्वयंसेवी भएर सघाउने युवाहरू उनका शक्ति बन्न गएका छन् । उसमाथि पुराना प्रतिस्पर्धी पार्टीहरूभित्रको असन्तोषलाई रेखा आफ्नो औजार बनाउन खोज्दैछिन् । केही दिनअघि मात्रै बेलबारी नगरपालिका वडा ८ का वडाध्यक्ष धनपति गौतमले आसन्न प्रतिनिधिसभा चुनावमा रेखालाई सघाउने घोषणा गरेका छन् । कांग्रेस कार्यकर्ता गौतमले स्थानीय चुनावमा टिकट आश गरे पनि पाएका थिएनन् । त्यसपछि उनी बागी उठेर निर्वाचित भएका थिए ।

रेखाको दाबीमा विगतमा कांग्रेस, एमाले, माओवादी, जसपा आदिमा समर्थन गरेका धेरैले उनलाई भोट हाल्ने भएका छन् । सुनिल र भानुभक्तलाई यसअघि उनीहरू एकआपसको टाउकोदुखाइ थियो । अहिले दुवैका लागि साझा टाउकोदुखाइ रेखा बन्न पुगेकी छन् ।

हामीले बेलबारी नगरपालिकाका कांग्रेस सभापति छत्र लिम्बूलाई परम्परागत प्रतिस्पर्धीहरूका बीचमा रेखाको उपस्थितिले कस्तो अर्थ राख्ला भनेर सोध्यौं । उनले लगभग त्यस प्रश्नलाई खारेज गरे । लिम्बूले भने, ‘सुरुमा रेखाको पक्षमा मान्छेहरूले बोलेकै हुन् । तर घरघरमा गएर हामीले ९५ प्रतिशत कन्ट्रोल गरिसक्यौं ।’

लिम्बूकै कुरो पत्याउने हो भने पनि रेखाप्रतिको रुझान कसरी नियन्त्रण गर्न सके त उनीहरूले ? तरुण दललगायत राजनीति हुँदै उदाएका लिम्बूले आफूहरूबाट कुनै धाकधम्की वा प्रलोभन नभई सम्झाई–बुझाई रेखाको राजनीतिक एजेन्डा खासमा किन गलत छ भनी कार्यकर्ता समर्थकहरूलाई सम्झाएको दाबी गरे । रेखाले सुकुम्बासी, गरिबका कुरा गरे पनि उनको पार्टीले परिवर्तनविरोधी साम्प्रदायिक जनमतको पक्ष लिइरहेको भन्दै गाउँका मानिसहरूले यो लुकेको एजेन्डाबारे सतर्क बन्नुपर्ने तर्क गरे । उनले जिकिर गरे, ‘मान्छेहरूले कुरो बुझिसके । उनीहरू अब रेखा थापातिर जाँदैनन् ।’

हेर्नुहोस् भिडियो

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?