+
+

अहिलेसम्मका सबै टी-२० विश्वकप खेल्ने खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १४:५२

६ कात्तिक, काठमाडौं । गएको आइतबारदेखि अष्ट्रेलियामा सुरु भएको आईसीसी टी-२० विश्वकप क्रिकेटमा दोस्रो चरण अर्थात सुपर १२ का खेलहरु भइरहेका छन् ।

विश्वका उत्कृष्ट १२ टिम आठौं संस्करणाको टी-२० विश्वकप ट्रफी उचाल्ने लक्ष्यका साथ मैदानमा छन् । जसमा दोहोर्‍याएर उपाधि जित्ने वेष्ट इण्डिजसहितका ६ वटा पूर्व विजेता टिम छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले १५ वर्षअघि सुरु गरेको टी-२० विश्वकपको यो आठौं संस्करण हो ।

यो संस्करणमा यस्ता २ खेलाडी पनि छन् । जसले पहिलो संस्करणदेखि नै खेल्दै आएका छन् । र उनीहरू हुन्- भारतीय टिमका कप्तान रोहित शर्मा र बंगलादेशी टिमका कप्तान शकिब अल हसन ।

२० वर्षको उमेरमा पहिलो पहिलो संस्करणको टी-२० विश्वकप खेलेका रोहितले ३५ वर्षको उमेरमा भारतीय टिमको नेतृत्व गरिरहेका छन् ।

रोहितले सन् २००७ मा दक्षिण अफ्रिकामा भएको टी-२० विश्वकपमा इंग्ल्याण्ड विरुद्ध खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । जुन संस्करण भारतले नै जितेको थियो ।

त्यसपछिका टी-२० विश्वकपका सबै संस्करण खेलेका उनी विश्वकपमा धेरै रन बनाउने दोश्रो खेलाडी हुन् ।

रोहितले टी-२० विश्वकपमा ३३ खेल खेल्दा ३८.५० को औसतमा १३१.५२ को स्ट्राइकरेटमा ८ अर्धशतकसहित ८४७ रन बनाएका छन् ।

श्रीलंकाका माहेला जयबर्द्धनेले सर्वाधिक १ हजार १६ रन बनाएका छन् । रोहितलाई टी-२० विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बन्न अब १६९ रन आवश्यक छ ।

अहिलेसम्मका सबै टी-२० विश्वकपकामा सहभागी हुने दोश्रो खेलाडी शकिब अल हशनले यो संस्करणामा बंगलादेशको नेतृत्व गरेका छन् ।

सन् २००७ मा मोहमद अश्रफुलको कप्तानीमा पहिलो पटक विश्वकप खेलेका शकिब नम्बर वान टी-२० अलराउण्डर हुन् ।

अहिलेसम्म ट्रफी उचाल्न नपाए पनि शकिब टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ३१ खेलमा ६.४३ को इकोनोमी रेटमा ४१ विकेट लिएका छन् ।

उनले तीनवटामा खेलमा ४ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ ४/९ हो ।

अलराउण्डर शकिब टी-२० विश्वकपमा सर्वाधिक रन बनाउनेमा समेत शीर्ष दश भित्र छन् । उनले ३१ खेलमा २६.८४ को औसतमा १२४.६४ को स्ट्राइक रेटमा ६९८ रन बनाएका छन् । जसमा तीन अर्धशतक समेत समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?