+
+

हवाई रुट नपाएपछि मारमा गौतमबुद्ध विमानस्थल

सञ्चालनको ५ महिना बितिसक्दा पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विदेशी विमानहरुले भारतबाट नेपाल प्रवेश गर्न सहज, सुलभ र सुविधाजनक रुट पाएका छैनन् । अन्तरार्ष्ट्रिय विमानस्थल सञ्चालन खर्च समेत उठाउन नसक्ने अवस्थामा पुग्नुको मुख्य कारणमध्ये ‘हवाई रुट’ पनि एक हो ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ कात्तिक ८ गते २०:१९

८ कात्तिक, काठमाडौं । सञ्चालनको ५ महिना बितिसक्दा पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले चासो दिइरहेका छैनन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीको सुविधाका लागि सरकारले श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र मेडिकलजस्ता सेवा तथा पूर्वाधार सुनिश्चित नगरेकाले यो अवस्था आएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण पन्छिरहेको छ ।

उड्डयन मामिलाका विज्ञहरु भने भैरहवा विमानस्थल सञ्चालन खर्च समेत उठाउन नसक्ने अवस्थामा पुग्नुको मुख्य कारणमध्ये ‘हवाई रुट’ एक भएको बताउँछन् । भैरहवा विमानस्थल आउने विमानहरुले भारतबाट नेपाल प्रवेश गर्न सहज, सुलभ र सुविधाजनक रुट पाएका छैनन् ।

भैरहवा र पोखरा विमानस्थललाई लक्षित गरेर प्रस्ताव गरिएका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर रुटबाट विमान नेपाल भित्रिन दिन भारत सरकार सहमत भएको छैन ।

त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र प्राधिकरणले खासै जोडबल पनि लगाएका छैनन् । मन्त्रालयका सहसचिव बुद्धिसागर न्यौपाने भने नयाँ एयर रुट र प्रवेश बिन्दुबारे भारत सरकारसँग आवश्यक पहल र समन्वय भइरहेको बताउँछन् ।

‘हामीले पर्याप्त पहल गरेका छौं’, उनी भन्छन्, ‘पश्चिम नेपालबाट हवाई प्रवेश विन्दुका लागि भारत सरकार सहमत हुने हाम्रो विश्वास छ ।’

नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट प्रवेश विन्दुसहित एयर रुट माग गर्दै आएको छ । भारतले नेपालबाट उड्ने विमानलाई महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट आफ्नो आकाशमा प्रवेश गर्न रुट खुला राखेको छ । ती विन्दुबाट नेपाल प्रवेश गर्ने अनुमति दिन भने वर्षौंदेखि आनाकानी गरिरहेको छ ।

भारतको असहमति र नेपालको कमजोर कुटनीतिक पहलले ३२ अर्बभन्दा बढी लागतको भैरहवा विमानस्थल सुनसान बन्ने अवस्थामा पुगेको छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोविन्द दाहाल पश्चिम नेपालबाट हवाई प्रवेश विन्दुसहितका रुट आवश्यक रहेको बताउँछन् । भारतले पश्चिमबाट एयर रुट दिए यो विमानस्थलमा उडान गर्न अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरु आकर्षित हुने उनको भनाइ छ ।

अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले हप्तामा ३ दिनमात्रै उडान भरिरहेको छ । हप्तामा ७ दिन उडान सुरु गरिसकेको कम्पनीले यात्रु नपाएको भन्दै पुनः ३ दिनमा झरिसकेको छ ।

विमानस्थलका अधिकारीहरुका अनुसार नेपालगञ्ज वा महेन्द्रनगर प्रवेश विन्दु रहने गरी एयर रुट खुला भए तुरुन्तै विभिन्न विदेशी एयरलाइन्सहरुले उडान थाल्ने सम्भावना छ ।

‘त्यो अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने कम्पनीहरु थपिनेमा कुनै शंका छैन’, विमानस्थलका एक अधिकारी भन्छन्, ‘हामीले छलफल गरेका अधिकांश विमान कम्पनीले प्रवेश विन्दु र हवाई रुटको कठिनाइकै समस्या राखेका छन् ।’

मूल रूट दिन आनाकानी 

संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नेपालमा हुनेमध्ये ६०–७० प्रतिशत अन्तर्राष्ट्रिय उडान पश्चिम नेपालकै रुटबाट हुन्छ । तर, नेपालमा हवाई सेवा सुरु भएदेखि नै अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकले सिमराकै हवाई विन्दु प्रयोग गर्नु परिरहेको छ ।

भुटानबाट आउने विमानले पूर्वको झापा र ल्हासाबाट आउने विमानले नुनिम विन्दु (ब्राबो ३४५) हवाई विन्दु पाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पश्चिम रुट ((गल्फ ५८९) खाडी राष्ट्र अर्थात् मध्यपूर्वी देशहरु, टर्की, भारतको नयाँ दिल्ली जस्ता क्षेत्रबाट उडान भर्ने विमानहरु आउँछन् । पूर्वी रुट (रोमियो ५८१) बाट भने भारतको कोलकातासहित बंगलादेश, थाइल्यान्ड, मलेसिया, हङकङ, सिंगापुरलगायतका क्षेत्रबाट विमानहरु उडान भर्छन् ।

पश्चिम र पूर्वतर्फ भारतले नेपालले मागेअनुसार प्रवेश विन्दु नदिँदा भारतीय भूमि हुँदै सिमारासम्म आउनुपर्ने झञ्झटका कारण नेपाल आउने विमानले घुमाउरो रुट प्रयोग गर्नु परिरहेको छ । पूर्व वा पश्चिम जुन रुटबाट आएपनि विमानहरु सिमराकै विन्दुमा आएर काठमाडौं प्रवेश गर्ने बाध्यतामा छन् ।

नेपाली अधिकारीहरुका अनुसार भारतले महेन्द्रनगर वा पश्चिम नेपालको कुनै भागबाट  प्रवेशविन्दुका लागि अनुमति दियो भने नेपाल आउने ७० प्रतिशत विमान सिमरातर्फ नगई सोझै नेपालको आकाशमा प्रवेश गरेर काठमाडौं या भैरहवामा अवतरण गर्न सक्छन् ।

तर, भारतले नेपाललाई वर्षौंदेखि सिमराको हवाई विन्दु मात्रै प्रयोग गर्न दिएर पूर्व–पश्चिमबाट आउने सबै विमानलाई आफ्नो एयरस्पेस प्रयोग गर्न बाध्य पारेको छ । यसरी नेपाल आउने विमानले लामो समय भारतीय आकाश प्रयोग गरेबापत सम्बन्धित वायसेवा कम्पनीले तिर्नुपर्ने नेभिगेसनसहित विभिन्न सेवा शुल्क भारत सरकारकै पोल्टामा पुगिरहेको छ ।

नेपालले मागअनुसार प्रवेश विन्दु पाउने हो भने नेपाली आकाशको प्रयोगबाट नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुले त्यस्ता सेवा शुल्कहरुबाट आम्दानी पनि गर्नसक्ने थिए । अहिलेको अवस्थामा भने घुमाउरो रुटले बढी समय लागेर विमान कम्पनीहरुको खर्च बढेको छ, यात्रुको हवाई टिकट पनि महंगिएको र लम्बिएको एयर रुटका कारण वायु प्रदुषण समेत बढेको छ ।

विज्ञहरुका अनुसार जति लामो उडान हुन्छ, उति नै हवाई सुरक्षा जोखिम पनि बढ्दै जान्छ । यस्तो अवस्था जान्दाजान्दै पनि भारत नेपाललाई पूर्व सहमतिअनुसार एयर रुट दिन तयार छैन ।

‘अहिले भैरहवामा उडान गरिरहेको जजिराले भैरहवा वा महेन्द्रनगरबाट एयर रुट पायो भने उडान समय २५ मिनेट छोटिन्छ’, गौतमबुद्ध विमानस्थलका एक अधिकारी भन्छन्, ‘यसले गर्दा विमान सञ्चालन खर्च बढेर कम्पनीहरुको नाफाको हिस्सा गुम्छ । भैरहवामा उडान गर्न एयरलाइन्सहरुले चासो नदिनुमा यो पनि एक कारण हो ।’

अधिकारीहरुका अनुसार आगामी जनवरीदेखि सञ्चालन गर्ने भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायस सेवा कम्पनीहरुले पनि भैरहवाकै समस्या भोग्नुपर्नेछ । अहिलेसम्म भारत पश्चिम नेपालतर्फको एयर रुटबारे छलफलमा नै बस्न नचाहेकाले यस्तो अवस्था आएको उनीहरु बताउँछन् ।

७ वर्षदेखि अलमल

विज्ञअनुसार भैरहवाबाट एयर रुट लिने हो भने गौतमाबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने विमानले भारतको आकाशबाटै उचाइ घटाएर नेपाल आउन पाउँछ । दुई महिनाअघि मौसममा समस्या हुँदा जजिरा एयरलाइन्सको एउटा विमानलाई भारतले भैरहवा रुटबाटै प्रवेश गर्न अनुमति दिएको थियो । तर, आफ्नो आकाशबाट उचाइ घटाउन नदिएकाले विमानले प्यूठान आसपास पुगेर भैरहवा फर्किनुपरेको थियो ।

विमानस्थल सञ्चालनमा एयर रुटले व्यवधान ल्याएकोबारे जानकार हुँदाहुँदै पनि नेपाल सरकारले उच्चस्तरीय कुटनीतिक पहल गर्न सकेको छैन । यो विमानस्थल बनाउन थालेकै बेला यसका लागि भारतले पायक ठाउँबाट रुट नदिने चर्चा थियो । नेपाल सरकारले भने एयर रुट पाउनु आफ्नो अधिकार भएको तर्क गर्दै आएको थियो ।

नेपाली पक्षको मागअनुसार २०७३ पुसमा हवाई प्रवेश विन्दु सम्बन्धी कोलकाता बैठक भएको थियो, जुन बिना निस्कर्ष टुंगिएको थियो । त्यसपछि २०७४ असोजमा बस्ने भनिएको बैठकमा निर्वाचन आचारसंहिताका कारण नेपाली टोली जान सकेन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैतमा भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग यो बिषय उठाएका थिए ।

त्यसकै आधारमा २ असार २०७५ मा नेपाल नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं–विराटनगर र काठमाडौं–जनकपुर रुटलाई दुईतर्फी बनाउने र अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुटसहित प्रवेशमार्ग दिने सम्बन्धमा विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सक्ने सहमति भएको थियो ।

त्यसअनुसार उडान सुरक्षा मूल्यांकन टुंगो लगाउन नेपाली टोली दिल्ली पुग्दा एयरपोर्ट अथोरिटी अफ इन्डिया हवाई रुट थप्ने सहमतिबाट एकाएकपछि हटेको थियो ।

नेपाली अधिकारीहरुका अनुसार, भारतीय पक्ष ‘हाम्रो सेनाले पश्चिमबाट प्रवेश विन्दु दिन नमिल्ने जानकारी दियो’ भन्दै एयर रुटको बिषय बन्द गर्न खोजिरहेको छ । सो रुटको भूभागमा सेनाका बेस क्याम्पहरु रहेकाले एयर रुट र प्रवेश बिन्दु दिन नमिल्ने जवाफ भारतले दिएको थियो ।

पटक–पटक यस्तो जवाफ दिएकाले भारतले सहजै पश्चिम नेपालबाट प्रवेश विन्दु दिनेमा प्राधिकरणका अधिकारीहरु विश्वस्त छैनन् ।

‘जति पत्राचार र अनुरोध गरेपनि यो मामिलामा भारत अडिग देखिएको छ,’ प्राधिरकणका एक अधिकारी भन्छन्, ‘नेपालसंग लिपुलेकको विषयमा भएको विवाद र अन्य देशसँग नेपालले गर्ने संयुक्त सैन्य अभ्यासका कारण पनि यो बिषयमा भारतले असन्तुष्टि झल्काएको छ ।’

हवाई विभागका पूर्वमहानिर्देशक तथा पूर्वासचिव यज्ञप्रसाद गौतम भने भारतले सद्भाव देखाएरै पश्चिम नेपालबाट प्रवेश विन्दु दिनुपर्ने बताउँछन् । ‘सद्भावको वातावरण बनाउने काम नेपालको पनि हो’, उनी भन्छन्, ‘बुद्धिष्ट सर्किटलाई ध्यानमा राखेर भैरहवा विमानस्थल बनाइएकाले उच्चस्तरबाट पहल भए एयर रुटको मुद्दा सल्टिन सक्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?