+
+
प्रधानमन्त्री कप क्रिकेट :

जिल्लाले नपत्याएका अंकितको शतकीय इनिङ्स

नमिता दाहाल नमिता दाहाल
२०७९ कात्तिक १५ गते २०:५२
अंकित ।

१५ कात्तिक, काठमाडौं । झापा जिल्लाका ओपनर ब्याटर अंकित सुवेदीले क्रिकेट करिअरको पहिलो शतक प्रहार गरे ।

प्रधानमन्त्री कप क्रिकेट अन्तरगत मंगलबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बागमती प्रदेशविरुद्ध शतक पूरा गरेपछि ब्याट र हेलमेट खोलेर उनले मैदानमै घुँडा टेके, अनि आफना दुवै हातले आँखा ढाके । पहिलो शतक प्रहार गरेपछि निकै भावुक भएका उनका आँखा रसाइरहेको थियो ।

प्रदेश १ का लागि महत्वपूर्ण इनिङ्स खेल्ने अंकित यस्ता खेलाडी हुन्, जसलाई आफ्नै गृह जिल्लाले पत्याएको थिएन ।

२०७४ सालमा यू–१९ राष्ट्रिय टोलीको बैकल्पिक खेलाडी बनेका अंकित अहिले प्रदेशको टोलीमा पर्दा झापामा प्रश्न उठेको थियो । प्रदेशले टिम घोषणा गर्दा जिल्ला छनोट समितिका अध्यक्ष र प्रशिक्षकले फिटनेसमा प्रश्न उठाएका थिए ।

तर बागमती प्रदेशविरुद्ध शतक बनाएर उनले जवाफ दिएका छन् । भन्छन्, ‘मैले राम्रै गर्दा पनि म प्रदेशको टिममा कसरी परें ? किन परें ? भनेर एकदमै धेरै नकरात्मक टिप्पणी भइरहेको थियो । मैले शतक बनाएर आफूलाई प्रमाणित गरें ।’

उनी आफूले शतक हानेर टिमलाई ६९ रनले जिताउन पाएकोमा निकै खुसी छन् । ‘मैले पहिलोपटक शतक हानें र त्यो शतकका कारण टिमले जित्यो पनि त्यसैले निकै खुसी छु’, टोलीलाई ६९ रनले जिताएका अंकितले भने ।

उनले ओपनिङबाट संयमित भएर खेल्दै १२२ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै शतक बनाएका थिए ।

उनले यसअघि यति ठूलो इनिङ्स खलेका थिएनन् । ‘यति ठूलो इनिङ्स कहिल्यै खेलेको पनि थिइन्,’ ४७ ओभरसम्म खेलेका उनी भन्छन्, ‘मैले यो पाली गरेर देखाउनु पर्ने थियो । यसपाली गरिन भने खेल करिअर नै सकिन्छ भन्ने डर थियो । त्यसैले मेहनेत गरे, अर्धशतक बनाएपछि शतक बनाउनुपर्छ भन्ने थियो, बन्यो ।’

आफूलाई विश्वास गर्नेका नाममा शतकीय सेलिब्रेसन

टिमको समर्थनका कारण यहाँसम्म आइपुगेर खेल्न पाएको अंकितले बताए । ‘जिल्लाको टिमले आनाकानी गर्दा गर्दै पनि जिल्लाका अध्यक्ष, मनोज कटुवाल र प्रशिक्षक लाक्पा लामाले मलाई देखाएको विश्वासमा खरो उत्रिएँ त्यसैले सेलिब्रेट गरें,’ सेलिब्रेसनमा भावुक भएको क्षण सम्झँदै उनले भने ।

‘सबैले सर्पोट गर्नुभयो । प्रदेशको छनोटमा मेरो फिटनेसको समस्या देखिँदा पनि छनोट विभाग, कप्तान र प्रशिक्षकले मलाई विश्वास गर्नुभयो’, पत्रकारसित शतक अनुभाव साट्दा पनि उनको गला भारी भएको थियो ।

अंकित र सिद्धान्तको जमेको जोडी

सिद्धान्त ।

यसअघि धेरै समयसम्म प्रदेश १ का खेलाडीले शतकीय पारी खेलन सकेका थिएनन्  अंकितले धेरै पछि रिदमलाई दोहोर्‍याएकोमा कतान सिद्धान्त निकै खुसी छन् । भन्छन्, ‘धेरै भएको थियो हाम्रो प्रदेशबाट सिनियरमा शतक बन्न सकेको थिएन । अंकितले निकै नै राम्रो शतकीय पारी खेले ।’

‘स्कोर बोर्डमा राम्रो रन भए पछि सबैले राम्रो गर्‍यौं । आज टिममा ११ जना नै अलराउण्डर थियौं’, कप्तान सिद्धान्तले भने ।

कप्तान सिद्धान्त र अंकितको अर्को गज्जबको संयोग पनि छ । भन्छन् ‘मैले पहिलो शतक बनाउँदा अंकित मेरो साथमा थिए । आज उसले शतक बनाउँदा म उनीसँग भएँ ।’

अंकितको र सिद्धान्तले प्रदेश १ का लागि छैटौं विकेटका लागि १३१ रनको शतकीय साझेदारी पनि गरे ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?