+
+

चुनाव प्रचार आजदेखि, कांग्रेस र एमालेलाई हेलिकोप्टर प्रयोगको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते ७:२१

१७ कात्तिक, काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार आजदेखि गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । हालसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । साथै उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँछन् ।

चुनाव प्रचारका लागि दलका शीर्ष नेताहरु देश दौडाहामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा गएका छन् । सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी आयोगले देउवालाई चुनाव प्रचारको अनुमति दिइसकेको छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् । ओलीले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका हुन् । निर्वाचन आचारसंहितामा मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । हेलिकोप्टर प्रयोग पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहेर गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रबाहेक अर्को क्षेत्रमा चुनाव प्रचार गर्न जानु परेमा आयोगबाट अनुमति लिनुपर्दछ । मन्त्री नै उम्मेदवार भए सरकारी स्रोत साधन प्रयोग नगरी चुनाव प्रचार गर्न पाइन्छ । स्थानीय तहका जनप्रतिनिधि भने चुनाव प्रचारमा संलग्न हुन पाइँदैन । उम्मेदवारको प्रचारमा गएका काठमाडौं महानगरपालिका वडानम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई आयोगले ५ हजार जरिवाना गरिसकेको छ ।

आम सभासहितको चुनाव प्रचार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र गर्न पाइने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उम्मेदवारहरुले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख भएका बाहेक अन्य आश्वासन, प्रलोभन दिनसमेत पाउँदैनन् । आयोगले आचारसंहिता उल्लंघन नगरी र खर्चको सीमाभित्र रही चुनाव प्रचार गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई स्मरण गराएको छ ।

आयोगले यसअघि आचारसंहिता उल्लंघन गरेका ७१ जनालाई व्यक्ति र संस्थालाई स्पष्टीकरण मागेको छ । तिनीहरुमाथिको कारबाही प्रक्रिया २५ गतेभित्र टुंगो लगाउने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?