२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले सभापति गगन थापाले मुखले करुणाको कुरा गरेपनि व्यवहारमा करुणा नरहेको टिप्पणी गरेका छन् । कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
पार्टी विभाजनको अवस्थामा पुगेको बताउँदै नेता गच्छदारले आफू दुविधामा रहेको बताए । ‘साउन ६ गते म बडो दुविधामा थिएँ । ३१ गते दुविधामा गएको विराटनगर भाषण गर्न,’ गच्छदारले भने, ‘म दुविधामा छु । किनभने म पार्टी एकता चाहने मान्छे हुँ । म कुनै गुटमा छैन ।’
आफू विगतमा गुटमा रहँदा पार्टी विभाजन देखेको उनले बताए । ‘म गुटमा सामेल हुँदाहुँदा, पार्टी विभाजन आफ्नै आँखा अगाडि विभाजन देखेको र पीडा भोगेको छु,’ गच्छदारले भने ।
आफू करुणा र भावनायुक्त मानिस भएको पनि उनले बताए । उनले भने, ‘गिरिजा दाइको क्षेत्र अलग हुँदा आँसु बगेको थियो । अहिले कांग्रेस करुणाहीन बनेको छ ।’
प्रतिक्रिया 4