+
+
व्यंग्य :

यो देशमा भोट हाल्नेले होइन, गन्नेले जित्छ !

पंचम अधिकारी पंचम अधिकारी
२०७९ कात्तिक १६ गते १३:३३

देशमा चुनावको लहर छ। जब चुनाव आउँछ मेरो भाइ अटेर गर्छ। उसले भन्यो, ‘लोकतन्त्र त सिर्फ भोटतन्त्र मात्र भयो। म भोट हाल्दिनँ।’

म कसरी जवाफ दिउँ ? लोकतन्त्रको महत्त्वका बारेमा एक ठेली किताब नै लेख्न सकिन्छ। तर, यहाँ उसलाई दुई मिनेटमा कुरा बुझाउनुपर्ने थियो। मैले केही भन्न खोजें तर शब्दहरू भित्रभित्रै गाँठो परेजस्तो भयो।

मान्छेहरू भन्छन्- पैसाले खुसी किन्न सक्तैन। तर, नेपालमा पैसाले भोट चाहिं किन्न सक्छ। मान्छेहरू भन्छन्- लोकतन्त्रमा भोट महत्वपूर्ण हुन्छ। र, नेपालमा नोटले भोट किन्न सक्छ।

हेर्नुस् न, चुनावमा तिनै व्यक्तिले उम्मेदवारीको टिकट पाउँछन्, जो आफैं धनी छ वा धनी व्यापारीहरूसँग उठबस गर्छ। कार्यकर्तालाई महिनौं पाल्ने, पार्टी नेतृत्वका आर्थिक आकांक्षा पूरा गर्ने र सँगसँगै मतदातालाई पनि खुसामद गर्ने हैसियत सबैसँग कहाँ पाएर हुनु !

यो भनेको त्यस्तै व्यक्तिको बुताभित्र पर्छ, जो आफू धनी छ वा धनीहरूसँग हिमचिम राखेर ढुक्कैसँग ढुकुटी चलाउन सक्छ। यसमा पार्टी र पार्टी नेतृत्वलाई पनि फाइदा छ। उम्मेदवार धनी वा धनको चलखेल गर्न सक्ने भए पार्टीले चुनाव खर्च दिइरहनुपर्दैन।

टिकट पाउनेले नै चन्दा दिएर पार्टीलाई भरथेग गर्छ। पैसा नभई राजनीति हुँदैन भन्ने आम सोचाइ छ। पैसा जति धेरै भयो उति बेस। अनि भ्रष्टाचार गर्‍यो, बिचौलिया राख्यो।
यस्तै भोटले सत्ता हत्याउन सक्छ। यही हो भाइको चिन्ता !

म दाइ हुनुको तर्क के हो भने सत्तासम्म पुग्ने लिस्नोकै निम्ति भए पनि चुनावका बेला नेताहरू हात जोड्दै मतदाताको घर-घर धाउन बाध्य हुन्छन्। पुरानो वाचा पूरा गर्न नसकेकोमा पछुतो देखाउँछन् र नयाँ वाचाको लम्बेतान पुल बनाउँछन्।

सपनाको नगरी खडा गर्छन्। पुस्तान्तरण र रूपान्तरणको कुरा पनि गर्छन्। जनता पनि आफ्नो कुरा नसुन्नेलाई ‘चुनाव त आओस्, देखाइदिन्छु’ भन्दै मौका पर्खेर बसिरहेका हुन्छन्।

अरू केही गर्न नसके पनि धारे हात लगाएर अर्ति उपदेश दिन्छन् र सन्तोष लिन्छन्। ठुलाठालु हुँ भनी टोपल्ने नेताहरू पनि ‘हस, हुन्छ, हजुर’ भनी जनतालाई जनार्दन मान्छन्। ढाका टोपी, पार्टीको झण्डा र भुँडी हल्लाउँदै भोटको भिख माग्छन्। यही हो, लोकतन्त्रको सौन्दर्य।

यो भिन्दै कुरा हो कि चुनावताका ‘जनता जनार्दन’ भन्नेले चुनाव जितेपछि तिनै जनताको मानमर्दन गर्न थाल्छन्। ‘अग्रगामी’ सोचको मन्त्रमा ‘पश्चगामी’ निशाना छाप ठोक्छन्।
पीडादायी कुरा, हैन त?

हो। हाय नियति !

तर, जे भए पनि चुनाव हाम्रै अगाडि छ र कुरा गरौं- हुनेवाला चुनावकै। किनभने लोकतन्त्रको इन्जिन भनेकै आवधिक निर्वाचन हो। र, मैलै मेरो भाइलाई लोकतन्त्रको महिमा बुझाउनुपर्नेछ।

हो, भोटकै पनि आफ्नै मर्म छ। ठमेलमा जति आतंक मच्चाए पनि मनाङमा दीपक मनाङेले धेरै मान्छे आफ्ना बनाएका छन् रे ! दीपक मनाङे त एक प्रतिनिधि पात्र मात्र हुन्। यहाँ ठग, ठेकेदार र गुन्डा टाइपका स्थापित नेताहरू धेरै छन्।

एक ठाउँमा लुटेर अर्को ठाउँमा त्यही लुटको एक अंशले ‘समाजसेवा’ गरेर चुनाव जित्न खोज्ने नौटंकी नर्तक धेरै छन्। तर, अहिले यहाँ चर्चा गर्न खोजेको उम्मेदवारको होइन, भोटरको हो।

भोटरका पनि आफ्नै प्रकार छन्। आँखा चिम्म गरेर विरासत रोज्ने छन् यहाँ। नाकको प्रकार हेरेर भोट हाल्ने छन् यहाँ। त्यो लठ्ठक र तपाईं खग्गु बुद्धिजीवीको भोट गणना हुने त बराबरै हो। लोकतन्त्रको जति बखान गरे पनि असलियत त्यही हो।

तर, तर्क चाहिं के पनि गर्न सकिन्छ भने समाज वा देशमा विविधतामा एकता हुन्छ। त्यसैले समाजका विविध अंगहरू, जस्तै- समाजसेवी, कर्मचारी, प्रहरी, गुन्डा, डाक्टर, ठेकेदारको प्रतिनिधित्व हुने गरी संसद्को संरचना बन्नु समावेशी राजनीतिको स्वाभाविक झलक हो। सज्जनले मात्र चुनाव जिते जनताको समानुपातिक प्रतिनिधित्व कसरी भयो?

जाबो चटनी त तरह तरहका हुन्छन् – टमाटरको चटनी, पुदिनाको चटनी, निबुआको चटनी, अमलाको चटनी, धनियाँको चटनी, अरू तपाईं नै थप्नुस्। भनेपछि, थरीथरी स्वादका (वा पेशाका भनौं) राजनीतिककर्मी हुनु जायज मात्र होइन आवश्यक पनि हो।

रंग–रंगका सांसद चुनिनु पनि लोकतन्त्रकै सप्तरंगी सौन्दर्य हो। त्यसैले थरीथरी रंगका राजनीतिक पार्टी बन्नु पनि उत्तिकै स्वाभाविक हो। यो भिन्दै कुरा हो कि सिध्दान्त फरक छ भन्ने राजनीतिक पार्टीका कुरा त देखाउने दाँत हुन्।

यो छान्ने कुराको प्रसंग आउँदा मलाई बहिनीको त्यो कहानी फेरि याद आउँछ। बाउआमाले एकदिन बहिनीसँग भनेका थिए- ‘तँलाई मन लागेको केटा छान्।’

अरू जे जे भए पनि भोट हाल्नु चाहिं लोकतन्त्रको अपरिहार्य तत्त्व हो र मैले मेरो भाइलाई यसबारे कन्भिन्स गर्नु छ। हेर भाइ ! राजनीतिकर्मीहरूलाई तिम्रो भोटको आवश्यकता छ। तिम्रो भोट विना उनीहरूले माखो मार्न पाउँदैनन्।

तिमीले भोट दिएर जिताएपछि मात्र राजदूत, जीएम, प्रहरी प्रमुख, जासुस प्रमुख, भन्सार प्रमुखको नियुक्ति र सरुवा–बढुवाको ठेक्कापट्टा हात लाग्छ। त्यो वैधता दिन पनि तिमीले भोट हाल्नुपर्छ।

भाइको तर्क छ- ‘मैले भोट नहाले पनि बिकाउ भोट हाल्ने अरू प्रशस्त छन्। म चाहिं आत्मसम्मानका निम्ति भोट हाल्दिनँ। हाल्नै परे ‘भोट टु रिजेक्ट’ हाल्छु बरू।’

अब यो अरूलाई रिजेक्ट गर्ने भनेको अरू सबै बेठीक, मै ठीक भनेको न हो। अथवा भनौं, आफैंलाई भोट हालेजस्तै हो। हुन त हो, आफैंलाई भोट हाल्दा कम्तीमा पछुतो मान्नुपर्दैन, खेर गयो भनेर निराश भइँदैन। चित्त नबुझे आफैंसँग गनगन गर्न पाइयो।

तर भाइ, अहिले तिमीलाई आफैंसँग गनगन गर्ने अधिकार पनि छैन। विना अधिकारको अधिकार भनेकै मतदानको अधिकार हो। अठार वर्ष पुगेर तिमीले यो नैसर्गिक अधिकार पाएका हौ। (मतलब छैन- बुद्धिमानी होऊ कि मूर्ख!) तिमीले नाटक भन वा नौटङ्की, एकथोक गर्नै पर्छ। तिमीले गधा छान वा डङ्की, बाँदर छान वा मंकी, एउटा छान्नै पर्छ।

रूख छान, सूर्य छान, कलम वा हँसिया–हथौडा छाप- एउटा त छान्नै पर्छ। गठबन्धनको होस् वा तालमेलको, तिमीले छनोटको लय मिलाउनै पर्छ। यस बापत तिमीले सित्तैंमा नाटक हेर्न पाउने छौ- तेरो मान्छे यति, मेरा यति। तेरो नाफा यति, मेरो यति। यस्तो नाटक देखेपछि भागबण्डा र नाफाको बाँडफाँटको अर्थशास्त्र तिमीले पनि सिक्ने उर्जा पाउने छौ।

यो छान्ने कुराको प्रसंग आउँदा मलाई बहिनीको त्यो कहानी फेरि याद आउँछ। बाउआमाले एकदिन बहिनीसँग भनेका थिए- ‘तँलाई मन लागेको केटा छान्।’

मेरी बहिनी साह्रै खुसी थिई त्यो दिन। उसले शब्दमा केही भन्नै परेन, उसको अनुहारको चमकले त्यो बताइरहेको थियो। परम्परागत परिवारमा हुर्केकी मेरी बहिनीलाई बाउआमाले दिएको त्यो स्वतन्त्रता उसका निम्ति क्रान्तिकारी छलाङ थियो।

त्यही मेसोमा बाउआमाले बिहेबारे पालैपालो केही सुझावहरू पस्के, बहिनीसँग:

बिहे आफ्नै जातकोसँग गर्।
आफ्नो समुदायभन्दा टाढा नजा।

आफ्नोभन्दा कमजोर आर्थिक हैसियत नहोस्।
आफूभन्दा कम पढेको नहोस्।

उसको पारिवारिक इज्जत र विरासत हाम्रोभन्दा कम नहोस्।
बाबुआमाका केही शर्त थिए तर आफ्नो भविष्य आफैं छान्न पाएँ भनेर फुरफुर थिई बहिनी।

तर, वैशाख बित्यो र बित्यो मंसिर पनि। अर्को वैशाख आयो। मेरी बहिनीले बिहेयोग्य केटो देखाउन सकिन। ‘आफैं छान्छेस् कि हामीले हेर्नुपर्छ?’ एकदिन आमाले भन्नुभयो।
त्यसपछि मेरी बहिनी आत्तिन थाली। उसलाई मनपर्ने केटाहरू नभएका होइनन्, थिए। तर, बाबुआमाले दिएको क्याटगोरीभित्र पर्ने कोही थिएन। अनि बल्ल उसले पत्तो पाई उसको छनोटको सीमितता पहिल्यै निर्धारित थियो।

अझ खासमा भन्दा कस्तो खाले केटासँग बिहे गर्नुपर्छ भनेर बाउआमाले छानिसकेका थिए। बहिनीलाई सिर्फ मन खेलाउने ठाउँ दिएका थिए। जति मन खेलाएर मच्चिए पनि ऊ थच्चिने ठाउँ त्यही थियो।

मेरो भाइ भने बहिनीजस्तो सोझो छैन, त्यति सजिलै फकिइहाल्ने। अर्काको चालमा फँस्छु कि भनेर उसले भोट हाल्दिनँ भनेको छ र अहिलेको सिस्टमलाई लोकतन्त्र होइन भोटतन्त्र भयो भनेर गुनासो गरेको छ। उसलाई राम्ररी थाहा छ यो देशमा भोट हाल्नेले होइन गन्नेले जित्छ।

तर, कुरो कसले जित्छ भन्ने पनि होइन, लोकतन्त्रको लोकलाज बचाउने हो। किनभने नेताहरूलाई कसैको डर छैन, न विधिको शासनको न लोकलाजको।

एकातिर नेताहरूलाई घरीघरी अदालतले विधिको शासनको पाठ पढाउनुपर्ने अवस्था छ, अर्कातिर न्यायालय आफैं पनि विवादमुक्त छैन। यो लोकतन्त्र बचाउन भोट हाल्नैपर्छ र म यसपालिको चुनावमा पनि गम्दैछु, यो ठिटोलाई भोट हाल्न कसरी फकाउने !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?