+
+

सम्पूर्ण स्वतन्त्रहरूको नाममा

‘त्यो खराब छ, त्यसैले म ठिक हो’ भन्ने नै स्वतन्त्रहरूलाई भोट गर्नुपर्ने प्रमुख आधार हो भन्ने भाष्य उनीहरूले नै निर्माण गरिरहेको देख्दा स्वतन्त्र उम्मेदवारीबाट आशावादी हुने ठाउँ संकुचित भएको छ।

सन्देश पौड्याल सन्देश पौड्याल
२०७९ कात्तिक १७ गते १२:००

स्वतन्त्र उम्मेदवारहरूको माहोल यसपालिको चुनावमा गज्जब छ। युवाहरूमा चासो लिएर केही गर्ने हुटहुटी देखिन्छ। म संसद हुन योग्य छु भन्ने आत्मविश्वासका साथ राजनीतिमा आउन खोज्नु सबै हिसाबले स्वागतयोग्य छ।

राजनीतिमा युवाहरूको आगमनले यथास्थितिलाई टक्कर त दिन्छ नै, स्थापित दलहरूलाई पनि आफ्नो राजनैतिक संस्कृति परिवर्तन गर्न दबाव पनि दिन्छ। अर्कोतर्फ यस किसिमको क्रियाशीलताले स्थापित राजनैतिक पार्टीमा लागेका युवाहरूको स्पेस पनि फराकिलो पार्छ। त्यसैले देश, इतिहास, अर्थतन्त्र, प्रशासनलगायत आधारभूत राजनैतिक पाटो बुझेर अवस्था बदल्न सक्छु भन्ने आँट गरेर चुनावमा होमिएका सम्पूर्ण स्वतन्त्र उम्मेदवार धन्यवादको पात्र छन्।

तर चुनावको प्रचारप्रसारले तीव्रता लिएसँगै स्वतन्त्र उम्मेदवारहरूप्रति उनीहरूको प्रचार शैली, आक्रोशपूर्ण अभिव्यक्ति, अविच्छिन्न रूपमा गरिएको व्यवस्था विरोध र नकारात्मकताले धेरै संशय पैदा गरेको छ। ‘त्यो खराब छ, त्यसैले म ठिक हो’ भन्ने नै स्वतन्त्रहरूलाई भोट गर्नुपर्ने प्रमुख आधार हो भन्ने भाष्य उनीहरूले नै निर्माण गरिरहेको देख्दा स्वतन्त्र उम्मेदवारीबाट आशावादी हुने ठाउँ संकुचित भएको छ। फेरि स्वतन्त्रहरू बीचको अस्वस्थ प्रतिस्पर्धाले पनि अन्योलकै स्थिति पैदा गरेको छ, शंकाको सुविधा दिन पनि नमिल्ने गरी।

लक्ष्य र सोच

धेरै स्वतन्त्र उम्मेदवारहरूको घोषणापत्र/प्रतिबद्धता हेर्दा नछुट्ने मूलभूत कुरा चाहिं दलहरूले गर्न सकेनन्, त्यसैले हामीलाई मौका दिनुहोस् भन्ने नै देखिन्छ। कार्यान्वयनमा हामी निष्ठावान हुन्छौं भन्ने आश्वासन बाहेक घोषणापत्रमा खासै त्यस्तो नयाँ भिजन रहेको देखिंदैन। जस्तै शिक्षाको कुरामा नि:शुल्क आधारभूत शिक्षा, स्वास्थ्यमा नि:शुल्क सेवाका कुरा प्रधान रूपमा गरिएका छन् भने भ्रष्टाचार नियन्त्रणको सवालमा म भ्रष्टाचार गर्दिनँ भन्ने कुरा नै विशेष रूपमा राखिएको छ। केही उम्मेदवारहरूले मानसिक स्वास्थ्य, नव-प्रवर्तन, जलवायु परिवर्तनको मुद्दा अघि सारे पनि त्यहाँ लेखिएका बुँदा अलि बयानबाजीमै आधारित छन्।

एउटा स्वाभाविक प्रश्न जसको जवाफ फेरि पनि अनुत्तरित नै छ, त्यो के भने ‘ती कुराहरू त दलहरूको घोषणापत्रमा पहिल्यैदेखि लेखिंदै आइएको छ, कार्यान्वयनको सवालमा के नयाँ गर्ने हो?’

आदर्शवादी दृष्टिकोणले हेर्दा घोषणापत्रमा हाल नेपालको शिक्षा, स्वास्थ्य, व्यापार, परराष्ट्र नीति, प्रशासनमा नीतिगत/कार्यनैतिक रूपमा यस्ता यस्ता समस्या छन् र तिनका यस्ता यस्ता समाधान हुन सक्छन् भनेर लेख्न सकेको भए युवा र स्वतन्त्रको मर्म अझ प्रगाढ हुनेथियो। यसो नहुँदा गाली र असन्तुष्टिलाई प्रमुख अस्त्र बनाउनु परेको हो भन्ने मलाई लाग्छ।

धैर्य

अपवाद बाहेक धेरै उम्मेदवार चुनावकै सेरोफेरोमा (स्थानीय चुनावपछि) मैदानमा उत्रिएका छन्। मलाई लागेको प्रश्न ‘यो चुनावमा हार भयो भने उनीहरू जनतामाझ रहलान् कि नरहलान् ?’

राजनीति धैर्यको पर्यायवाची पनि हो, आफूलाई लागेको कुरा सबैलाई उस्तै लाग्छ भन्ने हुँदैन। समाजको आधारभूत इकाई परिवारमा त त्यो लागू हुन्छ भने देश चलाउने नीतिको सवालमा यात्रा सरल हुँदैन। आफ्नो एजेण्डा स्थापित गराउन धैर्य र इच्छाशक्तिको बारेमा अपवाद बाहेक धेरै स्वतन्त्र उम्मेदवार मौन छन्। धैर्यको आश्वासन नहुँदा कतै उम्मेदवारी चुनावी ब्याण्डवागन मात्र त होइन भन्ने प्रश्न स्वाभाविक रूपमा खडा हुन्छ।

अर्को कुरा धेरै स्वतन्त्र उम्मेदवार निकै आक्रामक पनि देखिएका छन्। प्रति-प्रश्न सहन नसक्ने र पूर्वाग्रही रूपमा त्यसको बचाव गर्न खोज्ने खालको परिपाटी देखिएको छ। दलीय नेता–कार्यकर्तालाई झोले, भेडा आदि शब्दहरूको व्यापक प्रयोग गरिएको छ। नयाँ युगको नयाँ राजनीति गर्छु भन्ने युवा उम्मेदवारले नयाँ राजनैतिक पद्धति बसाल्नुपर्नेमा झन् विकृत प्रणाली संस्थागत गर्न खोज्नुले अवश्य पनि सकारात्मक सन्देश दिंदैन।

नकारात्मकता

देशको स्थिति अपेक्षाकृत छैन, समृद्धितर्फको यात्रा अझ पनि धमिलो छ। व्यवस्थाले अझ पनि स्थायित्वको आश्वासन दिनसकेको छैन, कुशासन अझ पनि हावी छ। यसो भन्न हिचकिचाउनु पर्दैन। तर ‘केही भएको छैन, देश बर्बाद भइसक्यो, सबै नेता विदेशीको दलाल भइसके, योभन्दा त पहिलेकै व्यवस्था ठिक थियो’ भन्नु चाहिं कदापि उचित होइन। सकारात्मक परिवर्तनलाई नजरअन्दाज गर्ने अनि नकारात्मक कुरालाई मात्र उचाल्ने परिपाटी हेर्दा बहस आफूबाट अरुतर्फ सार्ने अनि जनमानसमा भय र अस्थिरताको चित्रण गरी आफ्नो अभीष्ट पूरा गर्नेतर्फ उन्मुख हो कि भन्ने देखिन्छ।

के साँच्चै नै हामीले परिवर्तन महसुस गरेका छैनौं त? कामको गति कम छ तर देश उँधो लाग्दैछ भन्ने भाष्य कदापि ठिक हुन सक्दैन।

सामान्यत: घोषणापत्र वा प्रचार-प्रसार हेर्दा पनि हाम्रो विगतलाई नजरअन्दाज गरिएको हो जस्तो लाग्छ। युरोप यस्तो छ, अमेरिका यस्तो छ, सिंगापुर यस्तो छ भनी प्रोपोगाण्डा शैलीमा भनिएको छ भने नेपालको स्थितिलाई निकै निराशावादी कोणबाट चित्रित गर्ने भरमग्दुर प्रयास गरिएको पाइन्छ। सापेक्षित रूपमा हुनुपर्ने दाँजोलाई निरपेक्ष रूपमा गरिएकोमा मेरो घोर आपत्ति छ।

एकजना स्वतन्त्र उम्मेदवारले राष्ट्रियस्तरको कार्यक्रममा भनेको सम्झन्छु, उनी भन्दै थिए, ‘हाम्रा सांसद नेताहरूलाई जाभा, प्यान्थोन, पीएचपी केही आउँदैन, उनीहरूले हाम्रो पुस्तालाई कसरी बुझ्न सक्छन्?’ आईटी पढेका मान्छेहरूलाई यो कुरा सुन्दा हो कि झैं लाग्न सक्छ तर यो तर्क निकै साँघुरो घेराबाट गरिएको हो। अहिलेका नेतालाई केही आउँदैन, युवा भएको नाताले हामीलाई सबै आउँछ भन्ने कुरा त फेरि डनिङ–क्रुगर अवस्था नै हो। डनिङ–क्रुगर अवस्था तब हुन्छ जब एक व्यक्तिको कुनै निश्चित क्षेत्रमा ज्ञान र सीपको कमीले उसले आफ्नै सीमित क्षमताकै गौरवीकरण गर्छ।

व्यवस्थाप्रतिको अनुत्तरित प्रश्न

धेरै स्वतन्त्र उम्मेदवारहरूले आफ्नो राजनैतिक आस्था प्रष्ट पारेका छैनन्। देशको संविधानप्रति उनीहरूको विचार के हो? संघीयता, धर्म-निरपेक्षताप्रतिको उनीहरूको बुझाइ के हो? भन्ने प्रश्न सहित आर्थिक, सामाजिक नीतिको सैद्धान्तिक धरातल प्रष्ट भएको छैन। अहिलेको स्थापित दलहरूले के गरिरहेका छन् वा आफ्नो आस्थामा कत्तिको न्याय गरिरहेका छन् भन्ने अलग पाटो होला तर फेरि पनि नयाँ युगको नयाँ राजनीति गर्छु भन्नेले यस्तो आधारभूत धरातल खाली छोड्नु चाहिं हुँदैन।

थप कुरो चाहिं, व्यवस्थाप्रति आस्था छैन भने त्यसको विरोधमा खुलेर आउँदा राम्रो हुन्छ। छद्म भेषमा रवीन्द्र मिश्र लाइन प्रत्युत्पादक हुनेछ।

अन्त्यमा, राजनीतिको मूल लक्ष्य भनेकै आफ्नो सोच, नीति र त्यसको कार्यान्वयनमार्फत सम्पूर्ण जनताले महसुस गर्ने गरी क्रमिक सुधार गर्नु नै हो। चाहे सामाजिक रूपमा होस् वा आर्थिक रूपमा, परराष्ट्र सम्बन्धको मुद्दामा होस् वा अन्य कुनै महत्वको मुद्दामा, राजनीतिज्ञले गर्नुपर्ने भनेको स्थितिको ठोस विश्लेषणसहित आफ्नो अल्पकालीन र दीर्घकालीन नीति प्रस्तुत गर्नु र त्यसको नेतृत्व गर्नु नै हो।

नेपालको पछिल्लो राजनैतिक घटनाक्रममा वैकल्पिक राजनीतिको ध्रुव कमजोर हुनुको मुख्य कारण माथि उल्लेखित कुराहरूमा ठोस निर्णयको शून्यता नै हो। फेरि पनि भर्भराउँदो रूपमा उदय भइरहेको वैकल्पिक राजनीतिको नयाँ स्वरूप त्यहीं दुश्चक्रमा नफसोस् भन्ने चाहनाले यो आलेखका लागि प्रेरित गरेको हो।

स्वतन्त्रहरू आए, चुनाव लडे, हारे र विलाए: अर्को चुनावमा यस्तो भन्ने अवस्था सिर्जना नहोस्। स्वतन्त्रलगायत सम्पूर्ण उम्मेदवारहरूलाई शुभकामना। आशा गरौं, सबैभन्दा क्षमतावान, धैर्य, दृढ र संकल्पित उम्मेदवार हामीले संसदको रूपमा पाउनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?