+
+
ब्लग :

चाडपर्वमा कोरोनाको ग्राफले भन्छ : चुनावमा पनि बढ्न सक्छ

डा. प्रबीण श्रेष्ठ डा. प्रबीण श्रेष्ठ
२०७९ कात्तिक १७ गते १२:१७

विश्वमा कोरोना संक्रमण देखापरेको करिब तीन वर्ष भयो र यसको प्यान्डेमिक सुरु भएको करिब ३२ महिना। विश्व स्वास्थ्य संगठनले सन् २०२० जनवरी ३० का दिन कोरोना जनस्वास्थ्य आकस्मिक अवस्थाको अन्तर्राष्ट्रिय सरोकार भएको घोषणा गरेको थियो भने सोही वर्ष मार्च ११ का दिन कोरोना संक्रमणको महाप्रकोप (प्यान्डेमिक) घोषणा गरेको थियो।

संगठनका अनुसार हालसम्म ६२ करोड ७१ लाखभन्दा धेरैलाई कोरोना संक्रमण भइसकेको छ भने ६५ लाखभन्दा धेरैले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

नेपालको कुरा गर्ने हो भने नेपाल सरकारका अनुसार हालसम्म १० लाखभन्दा धेरै कोरोना संक्रमित भइसकेका छन् भने १२ हजार १९ जनाको यसैका कारण मृत्यु भइसकेको छ। त्यस अर्थमा हालसम्म विश्वको कुल कोरोना संक्रमणको ०.१६ प्रतिशत र कुल कोरोना मृत्युको ०.१८ प्रतिशत नेपालमा भेटिएको छ। विश्वमा यो अनुपात सबैभन्दा धेरै अमेरिकामा रहेको छ जुन क्रमशः १५.६५ प्रतिशत र १६.६ प्रतिशत रहेका छन्।

पछिल्लो अवस्थामा विश्वलगायत नेपालमा पनि कोरोना संक्रमण क्रमशः घट्दै गएको छ भने कोरोना मृत्यु पनि फाट्टफुट्ट बाहेक शून्य प्रायः भइसकेको छ। त्यति भन्दाभन्दै पनि विश्वका कतिपय देशहरूमा हाल पनि कोरोना संक्रमण र कोरोना मृत्यु अझै पनि प्रशस्तै देखिइराखेको छ जसले कोरोना संक्रमण र यसको प्यान्डेमिक अझै पनि निर्मूल भइसकेको छैन भन्ने जनाउँदछ।

यसको पछिल्लो उदाहरण हो गएको अक्टोबर महिनामा मात्रै सिंगापुरमा ओमिक्रोन कोरोना भाइरसको एक्सबीबी उप भेरिएन्टका कारण त्यहाँको हालसम्मकै दोस्रो ठूलो प्यान्डेमिक लहर देखापरेको थियो जसका कारण एकै दिन दशौं हजार संक्रमित भए र धेरैले ज्यान पनि गुमाए। युरोपका कैयौं देश, अमेरिका, जापान कोरिया आदि देशहरूमा अहिले पनि कोरोना संक्रमण र मृत्यु निकै धेरै देखिने गरेको छ।

यसै सन्दर्भमा पछिल्लो समय नेपालमा कोरोना संक्रमण निकै कम भइसकेको छ। तर पनि भीडभाडको मौसम आउँदा कोरोना संक्रमण पनि बढ्ने गरेको देखिएको छ।

चित्रमा नेपालको विगत करिब दुई महिनाभन्दा लामो समय, वि.सं. २०७९ भदौ १२ देखि कात्तिक १२ (६३ दिन), को दैनिक पीसीआर परीक्षण, दैनिक संक्रमण संख्या र दैनिक संक्रमण दर (पोजिटिभिटी प्रवृत्ति)को प्रवृत्ति देखाइएको छ।

संक्रमण दर भन्नाले परीक्षण गरिएका मध्ये संक्रमण देखिएको संख्याको प्रतिशत भन्ने जनाउँदछ। उदाहरणको लागि १०० जनामा परीक्षण गरियो भने कति जनामा संक्रमण देखिन्छ त्यही संख्या संक्रमण दर हो।

नेपालमा कोरोना प्यान्डेमिकको पछिल्लो सानो लहर यसै वर्षको जुलाई महिनाको सुरुवाती (असारको उत्तरार्ध) तिर सुरु भई अगस्ट महिनाको अन्त्य (भदौको पूर्वार्ध) तिर नियन्त्रित भएको थियो। चित्रमा देखाइए जस्तै भदौ महिनाभरि दैनिक संक्रमण संख्या र संक्रमण दर दुवै घट्दै गएको देखिन्छ ।

त्यसपश्चात् चित्रमा देखाइए जस्तै असोज महिनाको पहिलो सातासम्म आइपुग्दा दैनिक संक्रमण संख्या निकै कम भई औसतमा करिब ४५ पुगेको थियो। यद्यपि त्यतिबेला दैनिक पीसीआर परीक्षण पनि निकै कम गरिएको थियो। त्यति मात्रै नभई दैनिक संक्रमण दर (पोजिटिभिटी प्रतिशत) पनि निकै कम भई ३ प्रतिशतभन्दा तल झरेको थियो।

स्मरण रहोस्, विश्व स्वास्थ्य संगठनका अनुसार प्यान्डेमिक कालमा संक्रमण दर ५ प्रतिशतभन्दा कम भएमा त्यसलाई संक्रमण नियन्त्रित भएको मानिन्छ भने ५ प्रतिशतभन्दा धेरै भए संक्रमण फैलिएको भन्ने बुझिन्छ।

यसरी दैनिक संक्रमण कम हुँदै गएको अवस्थामा जब असोज महिनाको दोस्रो सातादेखि बडा दशैंको भीडभाड सुरु हुन थाल्यो तब विस्तारै दैनिक संक्रमण दर पनि बढ्दै गएको देखिन्छ।

चित्रमा देखाइए जस्तै घटस्थापनाअघि निकै कम रहेको दैनिक कोरोना संक्रमण दर घटस्थापनाको केही दिनअघि र पछि ५ प्रतिशतको हाराहारीमा पुगेको थियो। त्यसपछिका केही दिन संक्रमण दर ४ प्रतिशत भन्दा तल रहेतापनि त्यस पछिका दिनहरूमा जति बडादशैंको छुट्टीसँगै बजारको भीडभाड बढ्न थाल्यो त्यति संक्रमण दर पनि बढ्दै गई टीकाको भोलि पल्टको दिनमा संक्रमण दर करिब १० प्रतिशत पुगेको थियो। त्यस पछिका केही दिनहरूमा पनि संक्रमण दर करिब ६ प्रतिशतको हाराहारीमा रह्यो।

दशैं र तिहारको बीचमा केही दिन संक्रमण दर ५ प्रतिशतभन्दा तल रहेतापनि तिहारको आगमनसँगै फेरि बजार क्षेत्रमा भीडभाड बढ्यो र फलस्वरूप कोरोना संक्रमण दरमा केही वृद्धि भई लक्ष्मी पूजाको दिनमा फेरि संक्रमण दरले करिब १० प्रतिशत छोयो। तिहारपश्चात् फेरि संक्रमण दरमा कमी आएको छ।

दैनिक संक्रमण संख्या हेर्ने हो भने भदौ महिनाको दाँजोमा असोजमा संक्रमण संख्या निकै कम रह्यो। त्यसको प्रमुख कारण भने परीक्षण संख्या कम भएर नै हो। चित्रमा देखाइए जस्तै दशैं–तिहारको बेला, पर्वको छुट्टीले गर्दा होला, परीक्षण निकै कम भएको थियो र हाल पनि कम नै छ।

भदौ महिनामा दैनिक करिब १५०० जति हुने गरेको पीसीआर परीक्षण असोज महिना र दशैंको मौसम सुरु भएपछि १००० भन्दा कम र त्यसपछि ५०० भन्दा कम हुन थल्यो। पछिल्लो समय दैनिक परीक्षण ३००-४०० मात्रै हुने गरेको छ।

प्यान्डेमिकको मापनमा संक्रमण संख्याभन्दा संक्रमण दरको महत्व बढी हुन्छ किनभने संक्रमण संख्या परीक्षण संख्यामा भर पर्दछ। तर संक्रमण दरले परीक्षण गरिएका मध्ये संक्रमण देखिएकाहरूको अनुपात देखाउँदछ। परीक्षण पर्याप्त नगरिए संक्रमण भेटिन गाह्रो र लुकेर बस्ने सम्भावना हुन्छ।

संक्षेपमा पछिल्लो समय नेपालमा कोरोना संक्रमण निकै न्यून रहेतापनि यो उन्मूलन भइसकेको भने पक्कै छैन। भीडभाडको बेला यो फेरि बढ्न सक्दछ भन्ने कुरा माथिको तथ्यांकले प्रष्ट्याएको छ। नेपालमा भीडभाडको अर्को एउटा मौसम आउन बाँकी नै छ, त्यो हो निर्वाचन। यसै मौकामा कोरोना संक्रमण फेरि बढ्न नदिन सम्बन्धित सबैले ध्यान दिनुपर्ने देखिन्छ।

लेखक कन्सल्टेन्ट न्यूरोसर्जन हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?