+
+
उम्मेदवार प्रोफाइल :

कल्पना धमला : तेस्रो चुनावी प्रतिस्पर्धामा गठबन्धनको साथ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १२:५२
काठमाडौं क्षेत्र नम्बर ९ मा माओवादी केन्द्रको उम्मेदवार कल्पना धमला

धादिङको ज्यामरूङमा १० माघ २०३१ मा जन्मिएकी कल्पना धमलाको बाल्यकाल राजनीतिक परिवेशमै बित्यो । खहरेको अचने माविमा माध्यमिक शिक्षा पूरा गरेकी उनका केही शिक्षक र साथीहरू राजनीतिमा सक्रिय थिए । त्यसको प्रभाव उनमा नपर्ने कुरै भएन, जसले एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएपछि पनि विद्यार्थी राजनीतिमा निरन्तरता पायो ।

२०५६ सालमा अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सदस्यका साथै छात्रा विभाग प्रमुख बनेकी धमलालाई तत्कालीन नेकपा (माओवादी)ले २०५७ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सचिव बनायो ।

माओवादीको युद्धताका जनमुक्ति सेनाको कम्पनी सह–कमिसार रहेकी उनले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङको साविक क्षेत्र नं. २ बाट टिकट पाइन् र जितिन् पनि । २०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्मा उनी विज्ञान तथा प्रविधि मन्त्री बनिन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भइन् ।

आगामी मंसिर ४ गते हुने संघीय संसदको निर्वाचनमा धमला तेस्रो पटक स्पर्धामा छिन् । यसपटक उनलाई नेकपा (माओवादी केन्द्र)ले काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा उठाएको छ । पार्टीको आन्तरिक राजनीतिमा राम्रो प्रगति गरेकी उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख छिन् ।

हाल काठमाडौंको चन्द्रागिरि–१५ तीनथानामा स्थायी बसोबास गरेकी धमला लेखनमा पनि रुचि राख्छिन् । पत्रपत्रिकामा महिला अधिकार आन्दोलनकेन्द्रित लेख–रचना प्रकाशित गरिरहने उनको ‘जनयुद्ध र महिला मुक्ति आन्दोलन’ पुस्तक प्रकाशित छ ।

यसपटक सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं–९ को साझा उम्मेदवार बनेकी धमलालाई जितको लागि गठबन्धनकै मुख्य भर छ । उनको मुख्य प्रतिस्पर्धीमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ छन् ।

२०७४ को आम निर्वाचनमा काठमाडौं–९ मा एमालेका श्रेष्ठ २२ हजार ८५२ मतका साथ नेपाली कांग्रेसका ध्यानगोविन्द रंजितलाई ८ हजार ५० मतले पछि पार्दै विजयी बनेका थिए । यसपटक गठबन्धनको उम्मेदवारको रूपमा कल्पना धमलाले अघिल्लो निर्वाचनमा रंजितले पाएको मत (१४ हजार ८०२ मत) तान्नुपर्ने चुनौती छ ।

काठमाडौं–९ मा मिलन पाण्डे पनि स्वतन्त्र उम्मेदवार छन् । २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट उठेका उनले तेस्रो धेरै मत पाएका थिए– ४ हजार ९४६ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा वडाअध्यक्षहरूले पाएको कुल मत हेर्दा चुनावी स्पर्धा निकै रोचक हुने देखिन्छ । उक्त निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूको जसपा बाहेक २१ हजार १०८ मत देखिन्छ । नेकपा एमालेले १९ हजार २८२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ४०१ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ७१६मत पाएका थिए ।

यहाँ डा. ज्ञान बस्नेत, सुनिल रिमाल लगायत १० जना स्वतन्त्रका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि मैदानमा छन् ।

तत्कालीन नेकपा (माओवादी)ले बहुमत ल्याएको पहिलो संविधानसभा निर्वाचनमा त्यस दलका माइला लामा १३८ मतले पराजित भएको निर्वाचन क्षेत्र हो, काठमाडौं–९ । दोस्रो पटक कुल ६ हजार ६६९ मत पाएका माओवादीका देवेन्द्र पौडेल पनि संविधानसभा बाहिरै रहेका थिए ।

दोस्रो संविधानसभामा यो क्षेत्रबाट १४ हजार ४८३ मतका साथ कांग्रेसका ध्यानगोविन्द रंजित विजयी भएका थिए । एमालेका कृष्णगोपाल श्रेष्ठले १३ हजार १०० मत पाएका थिए ।

स्थानीय तहमा झैं स्वतन्त्रको पक्षमा लहर आए वा गठबन्धन दलहरूको परम्परागत मत तान्न नसके माओवादी केन्द्रकी धमलालाई जित निकाल्न निकै कठिन हुनेछ । अरू निर्वाचन क्षेत्रमा झैं काठमाडौं–९ मा गठबन्धनभित्र कुनै विवाद र कोही बागी नहुनुले भने उनका लागि अनुकूलता सिर्जना गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?