+
+

एमाले उम्मेदवार कोमल वलीको चुनावी भेलामा स्कूले विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १३:२९

१८ कार्तिक, दाङ । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वलीले विद्यार्थीलाई राखेर चुनावी भेला गरेकी छिन् ।

निर्वाचन आचारसंहिता विपरीत स्कुलका विद्यार्थीलाई राखेर गरिएको चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एमालेकी उम्मेदवार वलीसहित दाङ ३ ‘ख’ का उम्मेदवार हुकुम बस्नेतले आफ्नो चुनावी अभियानका क्रममा केहीदिन अघि दाङको एक विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकहरुलाई राखेर भेला गरेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्वीर दाङको बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविको हो । तस्वीरमा उम्मेदवार वलीले स्कुलका विद्यार्थीलाई राखेर भेला गरेकी छिन् । जहाँ विद्यार्थीले हातमा चुनावी प्रचारका सामग्री समाएको देखिन्छ ।

विद्यालय श्रोतका अनुसार उम्मेदवार वली र बस्नेतले विद्यार्थीलाई चुनावी प्रचार सामाग्रीसमेत बाँडेका थिए । सुरुमा विद्यार्थीसँगको  उत्त  फोटो कोमल वलीको सचिवालयले नै फेसबुकमा सार्वजनिक गरेको थियो । तर केही समयपछि उत्त फोटो हटाएको थियो ।

यसबारे बुझ्न खोज्दा विद्यालयका प्रधानाध्यापक नरेन्द्र साहुले उक्त तस्विर कार्तिक १५ गतेको भएको बताए । उनले सामाजिक सञ्जालमा भाइरल भएको तस्विर चुनावी भेला नभएको बताए । ‘चुनावी प्रचारका क्रममा उहाँहरु गाउँमा आउनुभएको रहेछ’ उनले भने, ‘दिउँसो खाजा खाने समय भएकाले विद्यार्थीसँग सानो भेला गर्नुभएको हो ।’

निर्वाचन आचारसंहिताले भने चुनावी भेला र प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गर्न रोक लगाएको छ ।  चुनावको प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा वलीको आलोचना भइरहेको छ।  यसबारे बुझ्न खोज्दा उम्मेदवार वली सम्पर्कमा आइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?