+
+

आमाबुवाको बोली र व्यवहार नै बालबच्चाको पाठशाला

राम बी शाम राम बी शाम
२०७९ कात्तिक १८ गते १५:२८

कलिला बालबच्चाका लागि सम्पूर्ण संसार भनेकै आफ्नो घर हो । घरमा हुने गतिविधिको सिको गर्दागर्दै उनीहरु हुर्किन्छन् । घरमा बोलिने भाषा, शैली, लवजमा उनीहरु क्रमशः अभ्यस्त हुन थाल्छन् । यसैगरी घरमा गरिने गतिविधि, क्रियाकलापको सिको गर्न थाल्छन् । यसरी घरसँग उनीहरु अभिन्न रुपमा जोडिन पुग्छन् ।

घरमा उनीहरुसँग सबैभन्दा नजिकका हुन्छन्, आमा र बुवा । उनीहरुले आमाबुवालाई नै सबैथोक मान्छन् । आमाबुवा नै सबैभन्दा ठूलो, सबैभन्दा जान्ने, सबैभन्दा राम्रो, सबैभन्दा प्यारो, सबैभन्दा शक्तिशाली भन्ने बाल मनोविज्ञान हुन्छ ।

यसले के गर्छ भने आमाबुवालाई उनीहरुले आफ्नो आदर्श बनाउँछन् । अनि आमाबुवाले जे जसो गर्छन्, त्यसैको अनुशरण गर्छन् । त्यसैले बुवाआमा कस्तो बोलीबचन गर्छन् ? कस्तो व्यवहार गर्छन् ? एकअर्कासँग कस्तो सम्बन्ध निर्वाह गर्छन् ? कस्तो पारिवारिक संस्कार पालना गर्छन् ? यी कुरा एकदमै महत्वपूर्ण हुन्छ ।

अलि हुर्किएपछि बुवाआमाले बच्चालाई शिक्षादीक्षाका लागि विद्यालय पठाउने गर्छन् । विद्यालय पठाएपछि जान्ने बुझ्ने हुन्छन् भन्ने उनीहरुलाई लाग्छ । जबकि बालबच्चाको सिकाइको उद्गम बुवाआमा नै हुन् । बुवाआमाले जस्तो संस्कार दिन्छन्, बालबच्चाको बोली–व्यवहार त्यही अनुरुप विकास हुन्छ ।

यसको अर्थ के हो भने तपाईं आफ्ना बालबच्चालाई ज्ञानी, गुणी, आज्ञाकारी, संस्कारयुक्त बनाउने कि क्रोधी, इष्र्यालु, कुरौटे, उद्दण्ड बनाउने ? यो नितान्त तपाईंमा भर पर्छ ।

सिकाइ र उमेर 

पाँच वर्षको उमेरसम्ममा बच्चाको धेरै प्रतिशत मस्तिष्कको विकास भइसक्छ । त्यसैले त्यो उमेरभित्र हामीले बालबालिकालाई धेरै कुरा सिकाउनुपर्छ । त्यो बेला सिकेको कुरा उनीहरूले जीवनभर सम्झिन्छन् । ६ देखि १६ वर्षको उमेरमा उनीहरू सही गलत छुट्टाउन सक्ने हुन्छन् । त्यसैले ६ वर्षको उमेरदेखि उनीहरूलाई संस्कार, व्यवहार र ज्ञानका कुरा सिकाउनुपर्छ ।

बालबालिकालाई कुनै पनि कुरा सुनाएर, देखाएर र महसुस गराएर पढायौं, सिकायौ भने त्यो उनीहरूले छिटो बुझ्छन् र लामो समयसम्म याद राख्छन् ।

के सिकाउने ?

साना बालबालिकालाई सिकाउनुपर्ने सबैभन्दा महत्त्वपूर्ण र पहिलो कुरा सिक्ने बानी नै हो । सिकाइ नै सबैकुरा सफलता हात पार्ने सूत्र हो । त्यसपछि उनीहरूलाई अध्यात्म, आत्मविकास, स्वास्थ्य, मानवता, परिवार, पहिचान र पैसाको महत्त्व यी सात कुरा कुनै न कुनै तरिकाबाट सिकाउनुपर्छ ।

राम बी शाम

अध्यात्मको भाव, आफ्नो विकास कसरी गर्ने, स्वास्थ्यसँग सम्बन्धित खानपान र सरसफाइ, मानवता, परिवारका सदस्यसँग कसरी व्यवहार गर्ने, राम्रो काम गरेर अरू सामु कसरी चिनिने र पैसाको अर्थ सिकाउनुपर्छ  । पैसा कसरी कमाउने, कसरी खर्च गर्ने र बचत गर्ने तरिकाबारेका कुरा पनि बच्चालाई सिकाउनुपर्छ ।

सिकाउने प्रभावकारी विधि

बालबालिकालाई कुनै पनि कुरा सिकाउने प्रभावकारी विधि भनेको अभिभावक शिक्षा हो । यदि बच्चालाई केही व्यवहारका कुरा र केही ज्ञानका कुरा सिकाउनु छ भने सबैभन्दा पहिले त अभिभावकले त्यो व्यवहार अपनाएको हुनुपर्छ । कुनै पनि कुरा बच्चाले भनेर भन्दा पनि देखेर सिक्छ । त्यसैले अभिभावकले के कस्तो बानी–व्यवहार अपनाएका छन् त्यो बच्चाले देखेर सिक्छ । बालबालिकाले आफ्नो अभिभावकलाई आफ्नो रोल मोडल मानेका हुन्छन् ।  उनीहरूले आफ्नो रोल मोडलले गरेको कुरा नै पछ्याउने हो ।

बालबालिकालाई कुनै पनि कुरा सिकाउने अर्को पक्ष शिक्षक हो । स्कुल जाने बालबालिकाले शिक्षकबाट पनि धेरै कुरा सिकेका हुन्छन् । उनीहरूको शिक्षकले राम्रो व्यवहार गरे भने त्यो देखेर उनीहरूले पनि त्यसलाई सिकिहाल्छन् । त्यसैले बालबालिकालाई सिकाउने प्रभावकारी विधि भनेको कुनै पनि कुरा होस् वा काम गरेर सिकाउने हो ।

बच्चाले कसरी सिक्छन् ?

हामीमा पाँच इन्द्रियहरू छन् । यी पाँच इन्द्रियको माध्यमबाट सुनेर, सुँघेर, देखेर, महसुस गरेर र चाखेर हामीले कुनै पनि कुरा थाहा पाउँछौं । बच्चालाई कुनै पनि कुरा सिकाउँदा पाँच इन्द्रियमध्ये तीनवटा इन्द्रिय सक्रिय हुने गरी सिकाएको कुरा बच्चाले छिटो सिक्छन् ।

कक्षाकोठाबाट जीवनोपयोगी कुरा सिक्छन् ?

घरपछि बालबालिकाले विद्यालय र कक्षाकोठाबाट धेरै कुरा सिकेका हुन्छन् । धेरै समय उनीहरूले कक्षाकोठामा शिक्षक र साथीसँग बिताउँछन् । त्यहाँबाट उनीहरूले साथीभाइसँग कस्तो व्यवहार गर्ने, बाँडेर खेल्ने–खानेदेखि कसरी सामाजिक हुने भन्ने लगायतका जीवनोपयोगी कुरा सिक्छन् ।

वर्तमान शिक्षा प्रणाली र सिकाइ विधि

नेपालको अहिलेको शिक्षा प्रणालीअनुसार सिकाइको तरिका कति पनि वैज्ञानिक र व्यावहारिक छैन । शिक्षा प्रणाली, विद्यालय र शिक्षकबाट जति पनि व्यावहारिक शिक्षा हासिल गर्नुपर्ने हो गरिरहेका छैनन् ।

बालबालिकालाई आफ्नो जीवनमा उपयोगी हुने शिक्षा अहिलेको शिक्षा प्रणालीबाट पाएका छैनन् । बालबालिकालाई बजारमा बिक्ने बनाउने भनेको शिक्षा र सिकाइले हो । तर अहिलेको हाम्रो सिकाइ वैज्ञानिक र व्यावहारिक नभएको कारण भविष्यमा त्यो शिक्षा काम लाग्दैन । अहिलेको शिक्षा प्रणालीले हामी साक्षर बन्न सक्छौं, तर शिक्षित बन्न सक्दैनौं ।

शिक्षक जागिरे मात्रै

अहिले धेरै शिक्षक जागिरे भए । एउटा शिक्षकमा व्यक्तिगत, भाषिक र पारस्परिक गुण हुनुपर्छ । धेरै शिक्षकमा यी गुणहरू छैनन् । यी गुण भएका र शिक्षण पेसामा रुचि भएका व्यक्ति मात्रै शिक्षक हुनुपर्छ । अनि मात्र शिक्षकले बालबालिकालाई ज्ञान बाँड्न सक्छ । शिक्षण गर्न लाइसेन्स भन्दा पनि रुचि आवश्यक हुन्छ । धेरै शिक्षकले बालबालिकालाई बुझेका हुँदैनन् ।

सिकाइको तरिका

बालबालिकालाई कुनै पनि कुरा सिकाउन उसको नजिक हुनुपर्छ । उसलाई के कुरामा बढी रुचि छ त्यही अनुसार सिकाउनुपर्छ । पाँच इन्द्रियको माध्यमबाट नै बालबालिकाले सिक्छन् । त्यसैले शिक्षकले पढाउँदा कुनै पनि कुरा सिकाउँदा पाँचवटा इन्द्रियमध्ये कम्तीमा पनि तीनवटा इन्द्रिय सक्रिय हुनुपर्छ ।

बालबालिकालाई कुनै पनि कुरा सुनाएर, देखाएर र महसुस गराएर पढायौं, सिकायौ भने त्यो उनीहरूले छिटो बुझ्छन् र लामो समयसम्म याद राख्छन् ।

कक्षाकोठाको वातावरण

विद्यालय तथा कक्षाकोठाको वातावरणले विद्यार्थीलाई निकै प्रभाव पार्छ । त्यहाँको वातावरणबाट पनि विद्यार्थीले स्वतःस्फूर्त केही न केही सिक्नुपर्ने हुन्छ । बालबालिका पढ्ने कक्षाकोठा खुला, सहज र आकर्षक हुनुपर्छ । यस्तै कक्षाकोठा हावा आउजाउ गर्ने हुनुपर्छ ।

बालबालिका बस्ने कुर्सी वा ओछ्याउने म्याट्रेस सहज हुनुपर्छ । कक्षाकोठालाई यसरी सजाउनुपर्छ, जहाँ उनीहरू रमाउन सक्छन् । साथै त्यस्तो सजावटबाट केही उपयोगी कुरा सिक्न पनि सक्छन् । शिक्षकसँगै कक्षाकोठाको वातावरण पनि बालमैत्री भयो भने उनीहरूले धेरै कुरा सिक्छन् ।

अव्यावहारिक पाठ्यक्रम

अहिले प्रयोग भइरहेको पाठ्यक्रम पनि धेरै उपयोगी छ । पाठ्यक्रममा भएको कुरा र पाठ्यक्रम बाहिरको केही कुरा बालबालिकाले बुझ्ने माध्यम अपनाएर शिक्षकले सिकाउन भने सक्नुपर्‍यो ।

पाठ्यक्रम उपयोगी हुँदाहुँदै पनि त्यसमा सुधार गर्नुपर्ने कुरा पनि धेरै छ । अहिलेको पाठ्यक्रम व्यावहारिक छैन । पाठ्यक्रम व्यावहारिक हुनुपर्छ । बालबालिकाले किताब पढेर सिकेको कुरा व्यवहारमा पनि लागु गर्न सक्ने किसिमको पाठ्यक्रम हुनुपर्छ ।

अहिलेको शिक्षाले बेरोजगारी बढाउँछ

अहिलेको बालबच्चालाई जसरी पढाइने गरिएको छ, त्यसलाई परिवर्तन नगर्ने हो भने पछि गएर ती कुरा व्यवहारमा लागु गर्न सक्दैनन् ।

उनीहरूले जे जसरी पढिरहेका छन् त्यसले उनीहरूमा व्यावहारिक कुरा सिकाउँदैन । सीपका कुरा सिकाउँदैन जसले गर्दा बेरोजगारी र गरिबीबाट उनीहरू गुज्रनुपर्छ । पढाइ अनुसारको काम नपाउँदा उनीहरू बिदेशिन बाध्य हुन्छन् ।

पढाइ एउटा छ, काम अर्को गर्नुपर्दा उनीहरू कामबाट खुसी हुँदैनन् । पढाइबाट उनीहरूले परिवार तथा साथीभाइसँग कसरी बोल्ने कस्तो व्यवहार गर्ने भन्ने कुरा पनि सिक्दैनन्, जसले गर्दा डिप्रेसन र एन्जाइटीको समस्या झन् बढेर जान्छ ।

(शैक्षिक अभियन्ता राम बी शामसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?