
काठमाडौं । लोक सांगीतिक दुनियाँमा भूमिका गिरी र प्रकाश दूतराजको जोडी जमेको छ । उनीहरुले १० दिन अगाडिमात्रै सार्वजनिक गरेकोे ‘देउरालीमा’ गीतले युट्युबमा १२ लाख भन्दा बढी भ्युज बटुलिसकेको छ । यसअघि उनीहरुकै ‘चोली मैलै भो’ गीतले १ करोडभन्दा बढी भ्युज पाएको थियो ।
‘देउरालीमा’ गीत कात्तिक ८ गते मात्रै भूमिका गिरीको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । यो समाचार तयार पार्दासम्म यो गीत १२ लाख ३३ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । ‘चोली मैलै भो’ पछि उनीहरुको यो दोस्रो सहकार्य थियो । यति धेरै भ्युज पाएपछि आफूहरुको सहकार्य सार्थक भएको भूमिका बताउँछिन् ।
छोटो समयमै धेरै दर्शक पाएपछि भूमिका दंग छिन् । म्युजिक भिडियो सुटिङको सिलसिलामा हाल अष्ट्रेलियामा रहेकी भूमिकाले अनलाइनखबरसँग भनिन्, ‘दर्शकले यति धेरै माया गरिदिंदा हामी नतमस्तक भएका छौं ।’
देउरालीमा बोलका गीतका शब्द बसन्त विश्वकर्माका हुन् । भूमिका र प्रकाश दूतराजले स्वर दिएका छन् । अभिनय पनि उनीहरुले नै गरेका छन् ।
देउरालीमा गीतको छायांकन नितान्त गाउँले परिवेशमा गरिएको छ । दुरदराजका नेपालीहरुको सामाजिक पक्षलाई टपक्क टिपेको गीतको म्युजिक भिडियोमा भूमिका र प्रकाशको अभिनय फिटमात्रै भएको छैन हिट पनि भएको छ ।
भूमिका कुटानी–पिसानीका लागि घट्ट जाने क्रममा घट्ट चलाउने प्रकाशसँगको अव्यक्त प्रेमलाई कथा बुनेर म्युजिक भिडियो तयार पारिएको छ । आधुनिक प्रविधिको प्रयोग गरे पनि हाम्रा पुराना परम्परा र सम्पदालाई जोगाइ राख्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ । यो कथा निर्देशन मौसम हिमालीले गरेका छन् ।
यो गीतमा धेरैले टिकटक पनि बनाएका छन् ।
प्रतिक्रिया 4