
१९ कात्तिक, गोरखा । लम्जुङमा प्रहरीले एकै रात ३८ जुवाडे पक्राउ गरेको छ । जिल्लाका दुई ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ ।
बेसीशहर नगरपालिका–११ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेका २५ जनालाई शुक्रवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रमुख डीएसपी प्रकाश सिर्मलले बताए । उनीहरुको साथबाट १ लाख २१ हजार रुपैयाँ र १६ थान कौडा बरामद गरिएको उनले जानकारी दिए । पक्राउ पर्नेहरु सबै बेसिशहर नगरपालिका वडा नम्बर ११ का रहेका छन् ।
त्यस्तै सुन्दरबजार नगरपालिका–१ कुन्छा स्थित रामबहादुर दुराको घरमा कौडा खेलिरहेका १३ जनालाई पनि प्रहरीले सोही रात पक्राउ गरेको छ । राती एक बजेको समयमा उनीहरुलाइ पक्राउ गरिएको डीएसपी सिर्मलले बताए ।
उनीहरुको साथबाट १ लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरिएको छ । पक्राउ पर्ने अधिकांश सोही ठाउँका स्थानीय रहेका छन् । पक्राउ परेका सबैलाई जुवा कौडा कसुर अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4