+
+

कांग्रेसलाई जिताउने जिम्मा माओवादीको, बागीलाई सहयोग हुँदैन : वर्षमान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते ९:२८

२० कात्तिक, रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने बताएका छन् । अहिलेको निर्वाचन प्रणालीले कुनै एक दललाई बहुमत नदिने भन्दै पाँच वर्षसम्म गठबन्धन कायम हुने उनको भनाइ छ ।

लोकतान्त्रिक–वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको तथा न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनले लगाए ।

विगतका विचार मिल्ने वामपन्थी दलसँग चुनावी तालमेल र एकीकरण गएर गए पनि लक्ष्य अनुसार काम नभएकाले अहिले कोर्ष करेक्सन गरिएको तर्क पुनले गरे । रोल्पाका ३० वर्षमा कांग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हालतमा सहयोग नहुने बताए ।

रोल्पाको प्रदेश (ख) मा माओवादी केन्द्रका दीपेन्द्र पुन (सिजल) बागी उम्मेदवार छन् । सो प्रदेशमा कांग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । राजनीतिमा भित्री र बाहिरी कुरा नहुने भन्दै पुनले कांग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिने उल्लेख गरे ।

उनले अघि भने, ‘कांग्रेस र माओवादी युद्धका बेला रोल्पामा लडेका हौं । तर शान्तिका लागि पनि रोल्पालाई मोडल बनाएका छौं । शान्ति प्रक्रियापछि एउटा पनि अप्रिय घटना भएको छैन । आपसमा मेलमिलाप गरेका छौं । रोल्पा विद्रोह र शान्तिको केन्द्र थियो, अब मेलमिलापको केन्द्रका रुपमा परिचित गराउन चाहन्छौं ।’

सभालाई सम्बोधन गर्दै उनले माओवादीले व्यवस्था बदलेको भन्दै अब जनताको अवस्था बदल्ने जिकीर गरे । ‘राजनीतिक स्थायित्व चाहिएको छ, अर्कातिर विकास चाहिएको छ । जनताको अवस्था बदल्नु छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?