+
+

टी–२० विश्वकपमा सेमिफाइनल पुग्ने चाैथाे टिम पाकिस्तान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १३:२३

२० कात्तिक, काठमाडौं । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुग्ने चौथो टिम बनेको छ । यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।

आइतबारको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकामाथि अप्रत्यासित जित निकालेसँगै विश्वकप सुपर १२ अन्तर्गत समूह बीको समीकरण रोचक बनेको थियो । नेदरल्याण्डसँग हारेपछि दक्षिण अफ्रिका सेमिफाइनलको दौडबाट बाहिरियो भने भारत समूहको अन्तिम खेलअगावै सेमिफाइनलमा पुग्यो ।

समूह ए बाट न्युजिल्याण्ड विजेता र इंग्ल्याण्ड उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । समूह बीबाट भने विजेता टुंगिन बाँकी छ । भारतलाई समूह विजेता बन्न आइतबारै हुने खेलमा जिम्वाबेलाई हराउनुपर्नेछ । भारत पराजित भएको अवस्थामा पाकिस्तान समूह विजेता हुनेछ । सेमिफाइनलमा समूह ए को विजेता र बी को उपविजेता तथा समूह बी को विजेता र एको उपविजेताबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो बंगलादेश र पाकिस्तानबीचको खेलले लगाएको हो । जित्नैपर्ने खेलमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल अगावै ५ विकेट गुमाएर भेट्टाएको हो ।

पाकिस्तानका ओपनर कप्तान बाबर आजम र मोहम्मद रिजवानले ५७ रनको साझेदारी गर्दै जितको बलियो आधार खडा गरेका थिए । बाबर २५ र रिजवन ३२ रन बनाएर आउट भए । मोहम्मद ह्यारिसले १८ बलमा २ छक्का र १ चौकासहित ३१ रन बनाएर आउट भए । सान मसुदले अविजित २४ रन जोडे ।

बलिङतर्फ बंगलादेशका नसुम अहमद, शकिब अल हसन, मुस्ताफिजुर रहमान र एबाडत हवसेनले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर नाजमुल होसेन सान्तोले ४८ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए । अफिफ होसेनले अविजित २४ रन जोडे । सौम्य सरकारले २० रन बनाए ।

बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । शदाब खानले २ विकेट लिए । हरिस राउफ र इफ्तिखर अहमदले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?