+
+

प्रदीप पौडेल : राष्ट्रिय निर्वाचनमा पहिलो अग्नि परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १०:३७

१ चैत २०३२ मा शुक्ला-८, तनहुँमा जन्मिएका प्रदीप पौडेलको बसोबास हाल काठमाडौंको बानियाँटारमा छ । सिद्धार्थ वनस्थली इन्स्टिच्यूटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल)बाट स्नातक र त्रिविबाट स्नातकोत्तर तह पूरा गरेका उनी नेपालका अन्य धेरै नेताजस्तै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् ।

पौडेल २०५३ सालमा अस्कल क्याम्पसको स्ववियु सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए । २०५९ देखि २०६३ सालसम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक रहेका उनले राजद्रोहको मुद्दा पनि खेपे ।

पौडेल लोकतन्त्र, शान्ति, सुशासन र मानवअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि आबद्ध छन् । एक विद्यालय, एक पुस्तकालय, सार्वजनिक विद्यालय सुधार, हरेक विद्यालय इन्टरनेट एवं ई-लाइब्रेरी अभियानमा लागेर उल्लेख्य संख्यामा गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति र शैक्षिक सामग्री जुटाएको उनी बताउँछन् ।

संविधानलेखनमा भएको ढिलाइविरुद्ध भएको मेची-महाकाली अभियान, महाभूकम्पपछिको उद्धार तथा पुनस्र्थापना अभियान, युवा उद्यमशीलता अभियान, नेपाली कांग्रेसलाई प्रविधिमैत्री बनाउन डिजिटल एप र कोरोना संक्रमितका लागि प्लाज्मा एप बनाउनेमा नेतृत्वदायी भूमिका खेलेको पौडेलको दाबी छ ।

यसपटक संघीय संसदको निर्वाचनमा काठमाडौं-५ बाट गठबन्धनको साझा उम्मेदवार रहेका पौडेलले आफ्नो योगदानहरू फेहरिस्तसँगै ‘बीसीडी मोडेल’ (‘स्टप ब्रेन ड्रेन’, ‘फाइट करप्सन’ र ‘सस्टेनेबल डेभलपमेन्ट’) नामको चुनावी प्रतिबद्धता/अवधारणा सार्वजनिक गरेका छन् ।

२०६७ बाट लगातार तेस्रो कार्यकाल केन्द्रीय सदस्य रहेका पौडेल कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेर हारे । उनी २०७४ सालको निर्वाचनमा तनहुँबाट गण्डकी प्रदेश सभा सदस्यमा ६ मतले पराजित भएका थिए ।

राम्रो छवि बनाएका नेपालका युवा नेताहरूमध्येका एक प्रदीप पौडेललाई आसन्न चुनावमा आफूप्रतिको समर्थनलाई मतमा बदल्ने चुनौती छ । गत वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं-५ मा पार्टीगत रूपमा वडाअध्यक्षहरूले पाएको मतमा नेकपा (एमाले) सबभन्दा अगाडि छ ।

उक्त निर्वाचनमा एमालेले १९ हजार २२९, कांग्रेसले १४ हजार ५३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ७३९, नेकपा (एकीकृत समाजवादी)ले एक हजार ५५३ र नेकपा (माओवादी केन्द्र)ले १ हजार १३९ मत पाएका थिए । यस हिसाबले हेर्दा पौडेलको लागि चुनावी अंकगणित त्यति सहज देखिन्न ।

काठमाडौं-५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रणय राणा र रञ्जु दर्शनासहितका स्वतन्त्र उम्मेदवार छन् । एमालेको बलियो संगठन र प्रमुख दलहरू बाहिरका उम्मेदवारहरूप्रतिको आकर्षण पौडेलका प्रतिकूलता हुन् । आफैं लोकप्रिय रहेका उनले एमालेका प्रत्यासीले जस्तो स्वतन्त्र मत भने नगुमाउन सक्छन् ।

लामो समय सत्तामा रहेका, कोरोना महामारीमा कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्र (सीसीएमसी)को अक्षम नेतृत्वको कारण आलोचित भएका ईश्वर पोखरेलको उम्मेदवारीलाई भने प्रदीप पौडेलको अनुकूलताको रूपमा हेरिएको छ । पोखरेलले राप्रपासँग तालमेल गर्न सक्नुलाई भने पौडेलको प्रतिकूलता मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?