+
+

पूर्णबहादुर खड्का : गठबन्धनको आडमा जितको सुनिश्चितता खोज्दै

यज्ञ खत्री यज्ञ खत्री
२०७९ कात्तिक २४ गते १०:३४

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बहुदल पुनस्र्थापना भएपछि २०४८, २०५१ र २०५६ सालको आम निर्वाचन जितेर लगातार सांसद, मन्त्री भए ।

नेकपा -माओवादी)को लहर चलेको २०६४ मा भने खड्काले संविधानसभामा पुग्ने समानुपातिकको बाटो रोजे । माओवादीको प्रभाव घटेको २०७० सालमा फेरि प्रत्यक्ष निर्वाचन जितेरै दोस्रो संविधानसभामा पुगे उनी ।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि संघीय नेपालको पहिलो आमनिर्वाचन (२०७४)मा भने उनले हारको पहिलो चोट खेपे, नेकपा –एमाले)का ध्रुवकुमार शाहीबाट । त्यो बेला वाम गठबन्धनका उम्मेदवार शाहीले खड्कालाई ३ हजार ३८२ मतले पराजित गरेका थिए ।

पूर्वगृहमन्त्री समेत रहेका खड्का चुनावमा उठ्ने भनेको सुर्खेत क्षेत्र नं. १ बाटै हो । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी यहींबाट छैटौं पटक उम्मेदवार बनेका छन् । सुर्खेतमा जन्मिएका ६७ वर्षीय खड्का अर्थशास्त्रमा स्नातकोत्तर हुन् ।

२०३१ सालबाट राजनीतिमा आएका खड्का २४ वर्षको उमेरमा २०३४ सालमा नेपाली कांग्रेसको सुर्खेत जिल्ला सभापति भएका थिए । जनमत संग्रहमा बहुदलको हारपछि २०३७ सालमा भएको पंचायती चुनावमा वीरेन्ऽनगर नगरपंचायतको प्रधानपञ्च जितेका खड्का निर्दलीय व्यवस्था स्वीकार्न नमान्दा ६ महिनामै अपदस्थ भए ।

पंचायती व्यवस्था विरुद्धको आन्दोलनको क्रममा पटक-पटक समातिएर करिब ५ महिना हिरासतमा बिताएका खड्का बहुदल पुनस्र्थापनापछि कांग्रेसभित्रको राजनीतिमा कृष्णप्रसाद भट्टराई नजिक भए । २०४८ पछि उनी दुईपटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, एक-एक पटक सञ्चार र उद्योग तथा वाणिज्य मन्त्री भए ।

कांग्रेसको १०औं महाधिवेशनसम्म मध्यपश्चिमबाट एक जना मात्र केन्द्रीय सदस्य हुने व्यवस्था थियो । १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेर सुशील कोइरालासँग पराजित भएका खड्का पार्टी फुटेर प्रजातान्त्रिक कांग्रेस बनेपछि केन्द्रीय सदस्य भए । १३औं महाधिवेशनमा महामन्त्री बनेका उनी १४औं महाधिवेशनमा पार्टी उपसभापतिमा विजयी भए ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रमध्येका एक खड्का कणर्ालीबाट कांग्रेस पदाधिकारी बन्ने पहिलो नेता हुन् ।

अनुकूलता-प्रतिकूलता

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार  ‘ध्रुवकुमार शाहीले ३६ हजार ७५९ मत ल्याउँदा कांग्रेसका खड्काले ३३ हजार ३७७ मत पाएका थिए ।
यो पटक खड्का पाँचदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । उनीसँग एमालेका उनै शाही प्रतिस्पर्धा गर्दैछन्, तर एकल बलमा ।

पूर्वी सुर्खेतका ५ पालिकासहित वीरेन्द्रनगरका २ वडा रहेको सुर्खेत १ मा गत ३० वैशाखको स्थानीय निर्वाचनमा कांग्रेसले २ र एमालेले ३ पालिका जितेका छन् । वीरेन्ऽनगरका दुईमध्ये एक वडामा एमाले र अर्कोमा कांग्रेसले जितेको छ ।

सुर्खेत-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ । कांग्रेसले ३५ हजार ८५६, एमालेले ३३ हजार ९०५, नेकपा (माओवादी केन्द्र)ले ५ हजार ५ र स्वतन्त्र उम्मेदवारहरूले १ हजार २७९ मत पाएका छन् ।

स्थानीय तहको यो चुनावी नतिजाले आउँदो ४ मंसिरको निर्वाचनबाट एमालेका शाहीलाई दोस्रो पटक सांसद बन्नभन्दा कांग्रेसका खड्कालाई छैटौं पटक सांसद हुन सहज रहेको देखाउँछ । उनले गठबन्धनको मत जोगाए पुग्ने देखिन्छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?